इरानमा इजरायल र अमेरिकाको आक्रमण

१४८ स्कुले बालबालिकासहित दुई सयभन्दा बढीको मृत्यु

हिमाल प्रेस १७ फागुन २०८२ १३:३१ | Sunday, March 1, 2026
14
SHARES
१४८ स्कुले बालबालिकासहित दुई सयभन्दा बढीको मृत्यु अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमणको विरोधमा अमेरिकाको सिएटलको पाइक प्लेस मार्केटमा प्रदर्शन गर्दै युद्धविरोधी प्रदर्शनकारी। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिका र इजरायलको आक्रमणमा परी सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खामेनीसहित दुई सयभन्दा बढी सर्वसाधारण मारिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

मिनाबको विद्यालयमा भएको आक्रमण अहिलेसम्मकै सबैभन्दा दु:खद घटना मानिएको छ। इरानको रेड क्रिसेन्टले देशका २४ प्रान्तमा शनिबार २०१ जनाको मृत्यु भएको जनाएको छ। आक्रमणमा सात सय ४७ जना घाइते भएको बताएको छ। जसमा कति सर्वसाधारण थिए भन्ने खुलाइएको छैन। यसैगरी यद्यपि मारिएका नागरिकको विस्तृत विवरण पनि दिइएको छैन।

दक्षिण इरानको लामर्डका गभर्नर अली अलिजादेहले संयुक्त कारबाहीले एउटा स्पोर्ट्स हलसहित चारवटा आवासीय क्षेत्रलाई निसाना बनाएको र त्यहाँ कम्तीमा १५ सर्वसाधारणको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताए।

इरानी अधिकारीहरूका अनुसार शनिबार अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीका क्रममा दक्षिण इरानको एउटा प्राथमिक विद्यालयमा आक्रमण भएको छ। जसमा कम्तीमा १४८ जनाको मृत्यु भएको छ। मारिनेमा अधिकांश स्कुले बालिका छन्।

अमेरिका र इजरायलले शनिबार तेहरानबाट सुरु गरी देशभर विस्तार गरेको संयुक्त सैन्य कारबाहीका क्रममा यो आक्रमण भएको हो। होर्मोजगान प्रान्तका गभर्नर मोहम्मद असुरीका अनुसार तटीय सहर मिनाबस्थित सजरेह तायबा प्राथमिक विद्यालयमा बिहान १०:४५ बजे आक्रमण भएको थियो।

असुरीले विद्यालयमा करिब एक सय ७० जना बालिका उपस्थित रहेको बताउँदै भग्नावशेषमुनि पुरिएका जीवितहरूको उद्धार हुने आशा व्यक्त गरे। मिनाब न्यायपालिकाले एक विज्ञप्ति जारी गर्दै एक सय ४८ जनाको मृत्यु भएको र ९५ जना घाइते भएको पुष्टि गरेको छ। सरकारी टेलिभिजनले विद्यालयको ध्वस्त भवन र भग्नावशेषमुनि पुरिएका बेन्चहरू देखाएको छ, जहाँ आमाहरू विद्यालयको आँगनमा रोइकराइ गरिरहेका देखिन्छन्।

इरानले यस आक्रमणलाई अमेरिका र इजरायली क्रूरताको उदाहरणका रूपमा वर्णन गरेको छ। राष्ट्रपति मसुद पेजेस्कियनले यसलाई जंगली र अमानवीय कार्य भनेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले यसलाई युद्ध अपराध को संज्ञा दिएका छन्।

अमेरिका र इजरायलले यस विशेष आक्रमणको कारणबारे कुनै टिप्पणी गरेका छैनन्। अमेरिकी सेनाले आफ्नो संयुक्त अपरेसनका क्रममा इरानमा नागरिक हताहत भएको रिपोर्टहरूबारे आफू जानकार रहेको बताएको छ। यस क्षेत्रमा अमेरिकी अपरेसन हेर्ने अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भने, ‘जारी सैन्य कारबाहीबाट नागरिकहरूलाई भएको क्षतिसम्बन्धी रिपोर्टहरूबारे हामी सचेत छौँ। हामी यी रिपोर्टहरूलाई गम्भीरताका साथ लिइरहेका छौँ र अनुसन्धान गरिरहेका छौँ। नागरिकको सुरक्षा अत्यन्तै महत्त्वपूर्ण छ र हामी अनावश्यक क्षति कम गर्न उपलब्ध सबै सावधानीहरू अपनाउन जारी राख्नेछौँ।’

प्रकाशित: १७ फागुन २०८२ १३:३१ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast