तेहरानमा शनिबार विस्फोटपछि निस्किएको धुवाँको मुस्लो। तस्बिर : एपी/रासस
काठमाडौँ- पश्चिम एसियामा तनाव अचानक चरम अवस्थामा पुगेको छ। इजरायली आक्रमणपछि अमेरिकाले पनि इरानमा ‘ठूलो सैन्य अभियान’ सुरु गर्ने घोषणा गरेको छ। तेहरानका धेरै क्षेत्रहरूमा विस्फोटका आवाज सुनिएका छन् र सहरमा धुवाँको मुस्लो देखिएको छ।
अल जजिराले इरानी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै लेखेको छ- राजधानी तेहरानको युनिभर्सिटी स्ट्रिट, जुमहुरी क्षेत्र र उत्तरी सैयद खन्दान इलाकामा मिसाइल आक्रमण भएका छन्। पश्चिमी इलाम प्रान्तलगायत देशका अन्य भागमा पनि आक्रमण भएको खबर छ। अमेरिकाले यस सैन्य अभियानलाई अपरेसन एपिक फ्युरी नाम दिएको छ। यसैगरी मिसाइल केन्द्रहरू र सैन्य पूर्वाधारहरूलाई निसाना बनाइएको छ।
समाचार एजेन्सी द एसोसिएटेड प्रेसका अनुसार एउटा निसाना सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकैको क्षेत्र पनि थियो। यद्यपि रोयटर्सका अनुसार खामेनीलाई पहिले नै सुरक्षित स्थानमा सारिएको छ।
तेहरानबाट रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार राजधानीका धेरै भागमा मोबाइल फोन सेवा अवरुद्ध भएको छ र हाल कल गर्न सम्भव छैन।
ट्रम्पको घोषणा : इरानमा ठूलो सैन्य अभियान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो सन्देशमा अमेरिकाले इरानमा ‘मेजर कम्ब्याट अपरेसन’ (ठूलो सैन्य कारबाही) सुरु गरेको बताएका छन्। उनले भने, ‘हाम्रो उद्देश्य इरानी शासनबाट उत्पन्न आसन्न खतरालाई अन्त्य गरी अमेरिकी जनताको रक्षा गर्नु हो।’
ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम अगाडि बढाइरहेको र अमेरिकासम्म पुग्न सक्ने मिसाइल विकास गर्ने प्रयास गरिरहेको आरोप लगाए। उनले भने, ‘इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न सक्ने छैन।’
ट्रम्पले आफ्नो सन्देशमा भने, ‘हामी तिनीहरूका मिसाइलहरू नष्ट गरिदिनेछौँ र तिनीहरूको मिसाइल बनाउने सम्पूर्ण संयन्त्रलाई माटोमा मिलाइदिनेछौँ। सबै थोक पूर्ण रूपमा ध्वस्त पारिनेछ। हामी तिनीहरूको जलसेना (नेभी) लाई नामेट पारिदिनेछौँ।’
उनले इरानका जनतालाई सम्बोधन गर्दै भने, ‘इरानका महान् जनसमुदाय, आज राति म भन्दैछु कि तिम्रो स्वतन्त्रताको घडी आएको छ।’
ट्रम्पले मानिसहरूलाई घरभित्रै रहन चेतावनी पनि दिए। उनले भने, ‘तपाईंहरू बाहिर ननिस्कनुहोस्। बाहिर धेरै खतरा छ। जताततै बम खस्नेछन्। जब हामी हाम्रो काम पूरा गर्नेछौँ, तब आफ्नो सरकार आफ्नो हातमा लिनुहोला। त्यो फेरि तपाईंहरूको सरकार हुनेछ।’
अमेरिकी अधिकारीहरूका अनुसार यो अभियान अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही हो। यस क्षेत्रमा ठूलो संख्यामा अमेरिकी लडाकु विमान र युद्धपोतहरू पहिले नै तैनाथ गरिएको थियो। रोयटर्सका अनुसार आक्रमण हावा र समुद्र दुवै मार्गबाट भइरहेका छन्।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले यो कारबाही इजरायलका लागि खतराहरू हटाउने उद्देश्यले गरिएको बताएका छन्।
इरानको चेतावनी : कडा जवाफ दिनेछौँ
रोयटर्ससँगको कुराकानीमा एक इरानी अधिकारीले तेहरानले जवाफी कारबाहीको तयारी गरिरहेको र प्रतिक्रिया कडा र विनाशकारी हुने बताएका छन्।
इजरायलमा साइरन बजाइएको छ र आपतकाल घोषणा गरिएको छ। इजरायली सेनाले जनतालाई सम्भावित मिसाइल आक्रमणका लागि सतर्क रहन भनेको छ। इजरायल एयरपोर्ट्स अथोरिटीले देशको हवाई क्षेत्र सबै नागरिक उडानका लागि बन्द गरेको छ।
कतारस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ। इराकले पनि आफ्नो राष्ट्रिय हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेको छ।
इरानका अन्तिम शाहका निर्वासित छोरा तथा विपक्षी नेता रजा पहलवीले यो कारबाही इरानी जनताविरुद्ध नभई ‘इस्लामी गणतन्त्र र त्यसको दमनकारी संयन्त्र’ विरुद्ध भएको बताए।
उनले इरानी नागरिकहरूलाई हालका लागि घरभित्रै रहन र सुरक्षित रहन अपिल गर्दै उपयुक्त समय आएपछि सडकमा उत्रिएर अन्तिम कारबाही का लागि तयार रहन आग्रह गरेका छन्।
यस घटनाक्रमको जडमा इरानको परमाणु कार्यक्रम, पश्चिम एसियामा बढ्दो प्रभाव र अमेरिका-इजरायलसँगको इरानको वर्षौँ पुरानो दुस्मनी छ। सन् १९७९ को क्रान्तिदेखि इरानको सत्ता र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ।
पछिल्ला महिनामा तेहरानमाथि परमाणु हतियार बनाउन योग्य युरेनियम संकलन गरेको आरोप लागिरह्यो, जसलाई इरानले अस्वीकार गर्दै आएको थियो।
इरानले युरेनियम परमाणु हतियारका लागि नभई मुलुकको हितका लागि रहेको दाबी गर्दै आएको थियो। इजरायलले लामो समयदेखि इरानलाई आफ्नो सुरक्षाका लागि सीधा खतरा बताउँदै आएको छ।
लामो समयसम्मको कूटनीतिक वार्ता भएपनि कुनै समाधान निस्कन सकेन। इरान आफ्नो विकासका लागि युरेनियम संकलन र प्रयोग गर्ने आफ्नो पूरा अधिकार भएको कुरामा अडिग रह्यो।
अमेरिकाले हालैका दिनमा खाडी मुलुकहरूको वरिपरि अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा सेना परिचालन गरेको छ। जानकारहरूका अनुसार यो आक्रमणले सम्पूर्ण वार्तालाई युद्धतर्फ मोड्न सक्छ।
विगतमा ओमानको मध्यस्थतामा जेनेभामा अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर वार्ता भएको थियो। ओमानका शीर्ष कूटनीतिज्ञले सम्झौताको आशा व्यक्त गर्दै इरान संवर्द्धित युरेनियमको भण्डार शून्य राख्न सहमत हुन सक्ने बताएका थिए, यद्यपि तेहरानले भने यस्तो कुनै पनि लक्ष्य अस्वीकार गरेको थियो। यसका बावजुद ट्रम्पले पहिले पश्चिम एसियामा ठूलो मात्रामा सैन्य परिचालनको आदेश दिए र अहिले खुलेरै सत्ता परिवर्तनको कुरा गरेका छन्।





