सर्लाही- सर्लाहीको हरिपूर्वा गाउँको एउटा चौरमा चार पाँचजना स्थानीय तास खेलेर बसिरहेका थिए। तास खेलिरहेका युवाकै छेउमै एकदुई ज्येष्ठ नागरिक पनि थिए। कुराकानीका क्रममा तास खेलिरहेका युवाले आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा घन्टीमा भोट हाल्ने बताए भने ती ज्येष्ठ नागरिकले यसपालि पनि महिन्द्रराय यादवले जित निकाल्ने दाबी गरे।
हरिपूर्वा सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने पालिका हो। पटकपटक जितेर गएका महिन्द्रले एउटा पक्की सडक बनाउनबाहेक निर्वाचन क्षेत्रको विकासका लागि केही नगरेको युवाहरूको आरोप थियो। ज्येष्ठ नागरिकको भनाइ युवाभन्दा फरक थियो। सर्लाही-२ को विकासका लागि महिन्द्रबाहेक अरू कसैले काम नगरेको तिनले बताए।
सर्लाही-२ मा यसपालि पनि महिन्द्र र राजेन्द्र महतो आमनेसामने छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदावरी दिएका महिन्द्रसँग राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रतिस्पर्धा गरिरहेका छन्। महिन्द्र विघटित प्रतिनिधिसभाका सदस्य हुन् भने राजेन्द्र पराजित उम्मेदवार।
पुराना प्रतिस्पर्धीहरू महिन्द्र र राजेन्द्र एकआपसमा भिडिरहेकै बेला सर्लाही-२ मा ‘इन्ट्री’ भएको छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि। यस क्षेत्रमा रास्वपाबाट रबिन महतोले उम्मेदवारी दिएका छन्। त्यस्तै नेपाली कांग्रेसबाट डा. सरोज यादवले प्रतिस्पर्धा गरिरहेका छन्।
त्यही गाउँको मुसहरी टोलीमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र घरदैलो गरिरहेका थिए। बाटो धुलाम्मे थियो। त्यही बाटोमा महतो पार्टीका कार्यकर्ता तथा नेताहरूसँगै पैदल हिँडेर मतदातासँग मत मागिरहेका थिए।
महतोले जनताले आफूलाई आशीर्वाद दिइरहेको र उत्साहित देखिएको बताए। उनले जनताले सर्लाही-२ मा परिवर्तन खोजिरहेको दाबी गरे।
महतोले बालेनको अनुहारलाई रास्वपाले प्रयोग गरेको आरोप लगाए। रास्वपाको एजेन्डा परिवर्तनकारी नरहेको उनको भनाइ छ। रास्वपा एजेन्डाविहीन पार्टी रहेको बताउँदै उनले भविष्यमा देशका लागि के गर्ने प्रस्ट नभएको जिकिर गरे।
बालेनको अनुहार दुरुपयोग गरेर चलाइएको लहरले काम नगर्ने उनको भनाइ छ। राजेन्द्रले पछिल्लो समय मधेशमा देखिएको लहरले फरक नपार्ने दाबी गरे पनि रास्वपाको पक्षमा एकखाले मत देखिएको छ। खास गरेर युवा समूह रास्वपाका पक्षमा देखिन्छन्। यसपालि परिवर्तन भन्दै उनीहरू पुराना नेताहरूलाई मत नहाल्ने मनस्थितिमा देखिएका छन्।
सर्लाही-२ मा कुन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भन्ने तस्बिर अहिले नै प्रस्ट भइनसकेको स्थानीय मतदाताहरू बताउँछन्। यस क्षेत्रमा मतदाताहरू पनि बाँडिएको देखिन्छ। चुनावी मैदानमा रहेका धेरै उम्मेदवार रहे पनि चारजनाबीच मुख्य प्रतिस्पर्धा देखिएको उनीहरूको भनाइ छ। अधिकांश मतदाताले नेकपाका महिन्द्र, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र, कांग्रेसका सरोज र रास्वपाका रबिनबीच प्रतिस्पर्धा हुने बताए।
राजेन्द्र र रबिन एउटै जातीय समुदायको रहेकाले मत बाँडिने र यसको फाइदा महिन्द्रले लिन सक्ने यहाँका मतदाताहरूको भनाइ छ। कांग्रेसको समेत पकड क्षेत्र मानिएको सर्लाही-२ मा कसले बाजी मार्ला प्रस्ट चित्र आउन अझै बाँकी रहेको देखिन्छ।
अघिल्लोपटक कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका महिन्द्र यसपालि एक्लै चुनावमा होमिएका छन्। २०७४ सालमा धनुषा-३ बाट जितेका राजेन्द्रलाई महिन्द्रले पराजित गरे। महिन्द्रले २३ हजार ५२९ मत ल्याउँदा लोसपाका महतोले २१ हजार ५१८ मत प्राप्त गरे।
२०७९ सालको निर्वाचनमा महिन्द्रसँग पराजित राजेन्द्र यसपालि फेरि तिनै पुराना सहकर्मीसँग प्रतिस्पर्धा गरिरहेका छन्।
महिन्द्र-राजेन्द्र पुराना प्रतिस्पर्धी
महिन्द्र र राजेन्द्र दुवैले आफ्नो राजनीति सर्लाहीबाट अगाडि बढाउँदै आएका छन्। रोचक त के छ भने दुवै नेता एउटै वर्ष चुनावमा उत्रिएका व्यक्ति हुन्। महिन्द्र पहिलोपटक २०४८ सालमा नेकपा (मानन्धर) भन्ने पार्टीबाट सर्लाही-१ मा चुनाव लडेका थिए। त्यति बेला उनी पराजित भएका थिए।
त्यसपछि २०५१ र २०५६ मा एमालेबाट चुनाव लडेर उनी सर्लाही-१ बाट निर्वाचित भएर प्रतिनिधिसभासम्म पुगे। २०६२/६३ को दोस्रो जनआन्दोलनपछि एमाले छाडेर महिन्द्र मधेस केन्द्रित राजनीतिमा होमिए। त्यही बेला कांग्रेस छाडेर महन्थ ठाकुरले आफ्नो नेतृत्वमा तराईमधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका थिए।
तमलोपाका संस्थापकमध्येका एक रहेका महिन्द्र २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए।
राजेन्द्र पनि २०४८ सालमै नेपाल सदभावना पार्टीबाट सर्लाही-२ मा चुनाव लडे। उनी पनि पराजित भए।
२०५१ सालमा पनि त्यही क्षेत्रबाट चुनाव लडेर पराजित भएका उनले २०५६ मा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेर संसद्को यात्रा थालेका हुन्।
२०६४ मा उनी नेपाल सदभावना पार्टी फुटेर बनेको सदभावना पार्टीबाट चुनाव लडेका थिए। त्यस बेला निर्वाचन क्षेत्र परिवर्तन गरेर राजेन्द्रले सर्लाही-४ बाट जित हात पारे।
सर्लाहीलाई केन्द्रमा राखेर राजनीति गर्दै आइरहेका यी दुई नेताबीच २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही-२ मै प्रतिस्पर्धा भएको थियो।
त्यस बेला तमलोपाबाट अलग भएर आफ्नै नेतृत्वमा गठन गरेको तराईमधेश सदभावना पार्टी (तमसपा) बाट चुनाव लडेका महिन्द्रले सदभावना पार्टीका अध्यक्ष रहेका राजेन्द्रलाई पराजित गरे। महतोलाई उनले दुई हजार ७४४ मतले पराजित गरेका थिए।
२०७४ को प्रतिनिधिसभा निर्वाचनअघि ६ वटा मधेश केन्द्रित दलहरू एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो। दुवै नेता राजपामै सामेल भएपछि त्यो निर्वाचन महिन्द्र सर्लाही-२ बाट लडे भने महतो धनुषा-३ मा गएका थिए।
महिन्द्रले सर्लाही-२ मा कांग्रेसका जंगीलाल राय र महतोले धनुषा-३ मा निधिलाई पराजित गरेका थिए। नौ वर्षपछि फेरि दुवै नेता एकअर्काको प्रतिस्पर्धी बनेर २०७९ को निर्वाचनमा सर्लाही-२ बाटै चुनावी मैदानमा उत्रिएका थिए। अब फागुन २१ मा हुने निर्वाचनमा दुवै नेता फेरि आमनेसामने भएका छन्।
स्थानीय तहमा कांग्रेस बलियो
सर्लाही क्षेत्र नम्बर २ मा सातवटा पालिकाका वडा समावेश छन्। यस क्षेत्रमा सदरमुकाम मलंगवा नगरपालिकासहित पर्सा गाउँपालिका, हरिपुर्वा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका र कौडेना गाउँपालिका पर्दछ। त्यस्तै कविलासी नगरपालिकाको वडा नम्बर ८-१०, विष्णु गाउँपालिकाको वडा नम्बर ५-८ र ईश्वरपुर नगरपालिकाको वडा नम्बर १५ समेटिएका छन्।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा समावेश सबै स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष/उपाध्यक्षहरू कांग्रेसका निर्वाचित भएका छन्। ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसकै अध्यक्ष- उपाध्यक्षका साथै सातवटै वडामा कांग्रेसका वडा अध्यक्षहरू निर्वाचित भएका छन्।
स्थानीय तह निर्वाचनको आँकडा हेर्दा यस क्षेत्रमा कांग्रेसमा बलियो पकड देखिएको छ। प्रदेश सरकारमा हाल मन्त्री रहेका कांग्रेस नेता जंगीलाल राय पनि यही प्रतिनिधिसभा निर्वाचन क्षेत्रका हुन्।






