लखनउ विश्विवद्यालय
काठमाडौँ- भारतको उत्तर प्रदेशस्थित लखनउ विश्वविद्यालयमा विगत चार दिनदेखि क्याम्पसभित्र रहेको लाल बारादरी नामक पुरानो भवनभित्र नमाज पढ्ने कि हनुमान चालीसा पढ्ने भन्नेमा विवाद चलिरहेको छ।
केही समयदेखि विश्वविद्यालयका केही मुस्लिम विद्यार्थी त्यहाँ नमाज पढ्दै आएका थिए। फेब्रुअरी २२ मा यो भवन अचानक बन्द गरियो। विश्वविद्यालय प्रशासनले भवन बन्द गर्नुको कारण यसको जर्जर अवस्था रहेको भारतीय सञ्चारमाध्मयले उल्लेख गरेका छन् ।
मुस्लिम समुदायले भने जानाजानी गरिएको दाबी गरेको छ। भवन बन्द भएपछि मुस्लिम विद्यार्थीले लाल बारादरी बाहिरै नमाज पढ्न थाले र उनीहरूका हिन्दू साथीहरूले सुरक्षा लागि मानव शृंखला बनाएर हिन्दू मुस्लिम एकताको उदाहरण प्रस्तुत गरे।
भवन बन्द भए पनि त्यहाँ नमाज पढेकै कारण प्रहरीले केही विद्यार्थीविरुद्ध मुद्दा दर्ता गर्यो र १३ विद्यार्थीलाई सूचना पठाइयो।
यसैबीच मंगलबार नमाज पढ्नेको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) का केही विद्यार्थीले क्याम्पसबाहिर बसेर हनुमान चालीसा पाठ सुरु गरे। पुलिस फेरि आयो र पाठ गरिरहेका विद्यार्थीलाई त्यहाँबाट भगायो। केही विद्यार्थीलाई हिरासतमा पनि लिइयो।
अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) सँग सम्बन्धित विद्यार्थीले विश्वविद्यालय परिसरमा सडकमा नमाज पाठ र इफ्तार (साँझको समयमा सूर्यास्त भएपछि खाना खाएर व्रत तोड्ने काम) गरिएको विरोधमा प्रदर्शन गरे र परिसरमा रहेका अवैध मजार (विश्वविद्यालयभित्रको पवित्र स्थल) हरूको जाँच गरी तिनलाई ध्वस्त गर्ने माग गरेका छन्।
एबीभीपीका विद्यार्थीका अनुसार लाल बारादरीमा कुनै मस्जिद छैन।यसको विपरीत एनएसयूआई, समाजवादी छात्र सभा र आईसा (एआईएसए) सँग जोडिएका विद्यार्थी लाल बारादरीको ताला खोलाउन माग गरिरहेका छन्। स्थिति गम्भीर भएको देखेर लाल बारादरीको आसपासमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।
लखनउ विश्वविद्यालयका प्रवक्ता प्रा. मुकुल श्रीवास्तवले भने, ‘लाल बारादरी अत्यन्त जर्जर अवस्थामा छ र सुरक्षा कारणहरूले यहाँ प्रवेश प्रतिबन्धित गरिएको छ। इमारतको बाहिर चेतावनी बोर्डहरू राखिएका छन्। साथै भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) लाई यसको जीर्णोद्धारका लागि पत्र पनि लेखिएको छ। इमारतको जर्जर अवस्था र व्यक्तिहरूको सुरक्षालाई ध्यानमा राखेर नै यसलाई बन्द गर्ने निर्णय गरिएको हो, यसबाहेक यसको पछाडि कुनै अन्य कारण छैन।’
मुस्लिम विद्यार्थीले विश्वविद्यालय प्रशासनले यो निर्णय दक्षिणपन्थी संगठनहरूको दबाबमा गरेको दाबी गरेका छन्। विश्वविद्यालयका एक विद्यार्थी रइस अहमदले भने, ‘हामी सधैँ यहाँ रमजानमा इबादत गर्न आउँथ्यौँ तर लाल बारादरीको मस्जिद अचानक बन्द गरियो। विश्वविद्यालय प्रशासनले केही व्यक्तिहरूको दबाबमा आएर यस्तो गरेको हो। इमारतको अवस्था आजबाट होइन, धेरै वर्षदेखि यस्तै छ। तर अहिलेसम्म ढलेन भने रमजानको समयमा मात्र थोरै ढल्छ। यसको ठिकसँग मर्मतसम्भार गरिएको छैन, यो जानाजानी जर्जर बनाइएको हो।’
विश्वविद्यालयकी रूपरेखा बर्माले भनिन्, ‘व्यक्तिगत रूपमा म विश्वविद्यालय क्याम्पसमा कुनै पनि प्रकारको धार्मिक गतिविधिको पूर्ण रूपमा विरोधी छु। तर हामीले हेरेको–हेरेकै बीच परिसरमा ठाउँठाउँमा मूर्ति स्थापित हुँदै गए। सांस्कृतिक कार्यक्रमको आडमा चाडपर्वमा हवनपूजन हुन थाल्यो।’
यस्ता गतिविधि लामो समयदेखि हुँदै आएको थियो तर कसैलाई आपत्ति भएन। केही विद्यार्थी र केही प्राध्यापकहरू लाल बारादरीमा कहिलेकाहीँ नमाज पढ्न जान्थे। अचानक यसलाई घेरिदिएपछि प्रश्न उठ्नु स्वाभाविक हो।
लखनउमा जुन दिन संघ प्रमुख मोहन भागवत थिए, त्यही समयमा लाल बारादरीको अगाडि बार लगाउने काम भइरहेको थियो। ‘विश्वविद्यालय वा कलेजहरूमा यस्ता सांप्रदायिक गतिविधिहरूको प्रभाव सीधै समाजमा पर्छ। बहुसंख्यकले अल्पसंख्यकविरुद्ध जे पनि गर्न सक्छन् भन्ने बुझाइ सम्पूर्ण देशमा फैलिएको छ’, बर्माले भनिन्।





