जनसंख्या संकटबाट यसरी तंग्रिँदै छ कोरिया

हिमाल प्रेस १३ फागुन २०८२ १३:२६ | Wednesday, February 25, 2026
10
SHARES
जनसंख्या संकटबाट यसरी तंग्रिँदै छ कोरिया एआईको सहयोगमा तयार पारिएको तस्बिर।

काठमाडौँ- दक्षिण कोरियाको प्रजनन दर लगातार दोस्रो वर्ष पनि बढेको छ। यसले लामो समयदेखि जारी जनसंख्या घट्दो क्रम चिर्दै मुलुकलाई विश्वकै खराब जनसांख्यिकीय संकटबाट केही राहत दिएको छ।

बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार कोरियाको कुल प्रजनन दर (एक महिलाले आफ्नो जीवनकालमा औसतमा जन्माउने बच्चाको संख्या) गत वर्ष ०.८ पुगेको छ। यो सन् २०२४ मा ०.७५ र २०२३ को अहिलेसम्मकै न्यून विन्दु ०.७२ को तुलनामा बढी हो।

यो संख्या सरकारले सन् २०२५ का लागि गरेको सबैभन्दा आशावादी प्रक्षेपणभन्दा पनि राम्रो हो। यद्यपि स्थिर जनसंख्या कायम राख्न आवश्यक मानिने २.१ को न्यूनतम विन्दुभन्दा यो निकै तल छ।

सन् २०२५ मा नयाँ शिशुको जन्मसंख्या बढेर दुई लाख ५४ हजार पाँच सय पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतले बढी हो र सन् २०२१ पछिको सबैभन्दा उच्च संख्या हो।

दक्षिण कोरिया लामो समयदेखि जनसांख्यिकीय संकटसँग जुधिरहेको छ। बढ्दो वृद्धवृद्धाको संख्या र घट्दो जनसंख्याले पेन्सन तथा स्वास्थ्य सेवाको लागत बढाएको छ भने आर्थिक उत्पादनमा समेत नकारात्मक असर पुर्‍याएको छ। विश्व बैंकको सन् २०२३ सम्मको तथ्यांकअनुसार (मकाउबाहेक) कोरियाको प्रजनन दर विश्वमै सबैभन्दा कम थियो।

‘स्टाटिस्टिक्स कोरिया’ की जनसंख्या प्रवृत्ति निर्देशक पार्क ह्युन-जंगका अनुसार महामारीपछि विवाह गर्नेहरूको संख्यामा भएको वृद्धि र सन्तान जन्माउनेप्रति सुधारिएको धारणाका कारण यो दर बढेको हो। उनले विवाह इतर बच्चा जन्माउने सामाजिक निषेध पनि बिस्तारै खुकुलो हुँदै गएको बताइन्। सन् २०२४ मा ५.८ प्रतिशत कोरियाली बालबालिका विवाह इतर जन्मिएका थिए, जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो।

सियोल वुमेन्स युनिभर्सिटीका प्रोफेसर जियाङ जे-हुनले सन् १९९० को दशकको मध्यतिर जन्मिएका महिलाको ठूलो समूह अहिले सन्तान जन्माउने उमेरमा भएकाले यो वृद्धि देखिएको बताए। तर सन् २००० पछि जन्मिएका महिलाको समूह सानो भएकाले प्रजनन दर १.२७ पुग्दा पनि सन् २०६७ सम्ममा समग्र जनसंख्या १० करोडले घट्ने उनले चेतावनी दिए। उनले फाइनान्सिल टाइम्ससँग भने, ‘मुलुक धान्न आवश्यक पर्ने जनसंख्या उत्पादन गर्न अझै गाह्रो हुनेछ।’

कोरियाली सरकारले सन्तान जन्माउन प्रोत्साहन गर्न विभिन्न नीति ल्याएको छ। नयाँ बच्चाका अभिभावकहरूले एक वर्षसम्म प्रतिमहिना एक लाख वन (करिब ६ सय ९६ डलर) र त्यसपछिको अर्को एक वर्ष प्रतिमहिना पाँच लाख वन प्राप्त गर्छन्। हालैका वर्षमा बाल हेरचाह सेवा, सुत्केरी बिदा र कामदारको जीवनशैलीमा केही सुधार गरिएका छन्। यसका साथै आवास अनुदान, ‘आईभीएफ’ उपचारमा सहुलियत र युवा जोडीहरूलाई कर छुटको व्यवस्थासमेत गरिएको छ।

तथापि सन् २०२० देखि जन्मभन्दा मृत्युको दर बढी भएपछि जनसंख्या घट्ने क्रम जारी छ। कोरिया अहिले अति वृद्ध समाज बनेको छ, जहाँ २१ प्रतिशत जनसंख्या ६५ वर्ष वा सोभन्दा माथिका छन्। विश्वकै तेस्रो ठूलो पेन्सन कोष नेसनल पेन्सन सर्भिस अहिलेकै अवस्था रहेमा सन् २०६५ सम्ममा रित्तिने अनुमान छ।

विज्ञहरूका अनुसार कोरियाको कम प्रजनन दरका पछाडि जटिल कारणहरू छन्। युवाहरूमा रोजगारीको असुरक्षा, घरको उच्च मूल्य र सहरमा बढ्दो चापले गर्दा उनीहरूले विवाह र सन्तान जन्माउन ढिलाइ गरिरहेका छन्। साथै कोरियाको प्रतिस्पर्धात्मक वातावरण र सघन पालनपोषण संस्कृतिले पनि यसमा भूमिका खेलेको छ।

प्रकाशित: १३ फागुन २०८२ १३:२६ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast