काठमाडौँ- पर्साको वीरगञ्जमा कर्फ्यु हटाइएको छ। शान्ति सुरक्षाको अवस्था सुधार हुँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यु आदेश हटाएका हुन्।
दाहालले आज (सोमबार) बिहान पौने १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए।
सुरक्षाको अवस्था सुधार हुँदै गएको र सर्वपक्षीय बैठकको निर्णयका आधारमा कर्फ्यु आदेश हटाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ। कर्फ्यु हटाइए पनि निधेषाज्ञा भने जारी राखिएको छ।
साँझ ६ बजेदेखि भोलि (मंगलबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकसम्म निषेधाज्ञा लगाइएको हो।
निषेधाज्ञा लगाइएको क्षेत्रमा, कुनै पनि किसिमका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइनेछैन ।
आइतबार राति दुई पक्षबीच विवाद उत्पन्न हुँदा वीरगञ्जस्थित श्रीपुरमा तनाव पैदा भएको थियो। आज (सोमबार) बसेको सर्वपक्षीय बैठकले सो घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने सहमति भएको छ।





