रूपन्देही-२ : विष्णु पाैडेलकाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

हिमाल प्रेस ८ फागुन २०८२ १९:२७ | Friday, February 20, 2026
10
SHARES
रूपन्देही-२ : विष्णु पाैडेलकाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

बुटवल- रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना सुरु गर्नेदेखि एकीकृत सहरी पूर्वाधार विकासका योजना समेट्दै पौडेलले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

‘समृद्ध रूपन्देहीको आधार : शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार’ भन्ने नारासहित पौडेलले शुक्रबार बुटवलमा २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

शिक्षा, स्वास्थ्य, रोजगारी, स्वरोजगार र आयआर्जन, राष्ट्रिय राजमार्ग, पुल र स्थानीय सडक सञ्जाल, सहरी पूर्वाधार, उद्योग वाणिज्य, कृषि, सिँचाइ नदी तथा पहिरो नियन्त्रण, संस्कृति तथा पर्यटन, भूमि समस्याको समाधान, खेल पूर्वाधारलाई उनले प्राथमिकतामा राखेका छन्। यस्तै विद्युत्, सञ्चार तथा सूचना, समाज कल्याण र सामाजिक सुरक्षा र समृद्ध रूपन्देहीका लागि आर्थिक विकास एजेन्डा प्रतिबद्धता पत्रमा समेटिएका छन्।

एमालेका केन्द्रीय उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले गर्न सकिने र अघि आफ्नो अगुवाइमा अघि बढेका योजना सम्पन्न गर्नुका साथै निर्माणाधीन योजना सम्पन्न गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटेका छन्। कालीगण्डकी तिनाउ नदी डाइभर्सन बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार सकेर निर्माण कार्य प्रारम्भ गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ। सहरी विकास अन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरी सबै वडालाई सुविधायुक्त बनाउने योजना पनि उनले समेटेका छन्।

यस्तै उनले बस्तीबीचको हाइटेन्सनलाइन हटाउनेदेखि आफ्नो तीन वटा पालिकामा विद्युत्, इन्टरनेट र सडक बत्तीका तार (केवल) भूमिगत वितरण प्रणालीमा लैजाने बताएका छन्। बुटवललाई महानगरीय ढाँचामा पूर्वाधार विकास गरेर महानगरपालिकाको बाटोमा अघि बढाउने उनको प्रतिबद्धता छ।

रूपन्देहीलाई विद्यालय शिक्षा र उच्च शिक्षाका लागि अन्यत्र जान नपर्ने गरी गुणस्तरीय र विश्वसनीय शिक्षाको केन्द्र बनाउन भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति व्यवस्थापनलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्। विकासका शब्द होइन, देखिने संरचना’ भन्ने नारासहित पूर्वाधार, पर्यटन, कृषि, उद्योग, शिक्षा-स्वास्थ्य र डिजिटल अर्थतन्त्रलाई एकीकृत ढंगले अघि बढाउने लक्ष्य उनको छ।

रूपन्देहीका जनतालाई उपचारको खोजीमा राजधानी वा अन्यत्र जान नपर्ने गरी गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने, १ हजार २०० शय्याको पूर्वाधार सम्पन्न गराउँदै आवश्यक थप उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने प्रभावकारी व्यवस्थापन गर्ने उनको आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन्।​ निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठले गर्न सकिने काम र योजना मात्र प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए। पौडेल रूपन्देही २ बाट लगातार चार पटक चुनाव जितेका नेता हुन्। उनी पाँचौं जितको खोजीमा छन्।

प्रकाशित: ८ फागुन २०८२ १९:२७ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast