पोखरा- पोखरामा विद्यार्थी बोकेर विद्यालय आउजाउ गराउने बस चालकले नै मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे निगरानी बढाएको हो। सोमबार मात्र पाँच जना त्यस्ता चालकलाई पक्राउ गरेको कास्की प्रहरीले भोलिपल्ट मंगलबार थप पाँच जना चालकलाई नियन्त्रणमा लिएको हो।
मंगलबार बिहान करिब ४ बजे जिल्ला प्रहरी कार्यालय, कास्की तथा मातहत समेतका ट्राफिक प्रहरीसहित खटिएको प्रहरी चेकिङ टोलीले स्कुल बसलक्षित गरी चालकलाई जाँच गरेको हो।
सो क्रममा पोखरामा नाम चलेकै गण्डकी बोर्डिङ स्कुलका बस चालकले समेत मापसे गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। पक्राउ परेकालाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए।
मंगलबार पक्राउ पर्नेमा रत्नज्योति बोर्डिङ स्कुलको ग १ क ५९६२ नं. का बस चालक पर्वत घर भई हाल पोखरा-८ बस्ने वर्ष ४२ को गोविन्द क्षेत्री, केफ सेकेण्डरी स्कुलको ग १ क ४७६३ नं. का बस चालक पोखरा १६, बाटुलेचौर बस्ने वर्ष ४५ को सर्वजित रेग्मी छन्।
यसै गरी गुरुकुल विद्यासदन बोर्डिङ स्कुलको ग १ क १९५७ नं. का चालक पर्वत घर भई हाल पोखरा ९ बस्ने वर्ष ४७ को दलबहादुर सुनार, इमानुयल बोर्डिङ स्कुलको ग १ क ५००८ नं. का चालक चितवन घर भई हाल पोखरा ९, नयाँबजार बस्ने वर्ष ४७ को मनबहादुर तामाङ र गण्डकी बोडिङको ग १ क ६६२३ नं. का चालक म्याग्दी घर भई हाल पोखरा १९, लामाचौर बस्ने वर्ष ३० को रोनिश खनाल रहेका छन्।




