काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले मुलुक यतिबेला दलाल-बिचौलियाको कुशासन र अराजक भीडतन्त्र गरी दुई प्रकारका अतिवादको चपेटामा परेको जनाएको छ। पार्टीद्वारा मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समितिका संयोजक अग्निप्रसाद सापकोटाले जारी गरेको वक्तव्यमा देशको विद्यमान जटिल परिस्थितिको विश्लेषण गर्दै यस्तो धारणा राखिएको हो।
वक्तव्यमा एकातिर युवा आन्दोलनलाई दमन गर्ने र कुशासन फैलाउने प्रवृत्ति तथा अर्कोतर्फ जनभावनाको आडमा राष्ट्रिय सम्पदामाथि आक्रमण र आगजनी गर्ने अराजक प्रवृत्ति मौलाएको उल्लेख छ। ‘हामी निहत्था युवाहरूको हत्या गर्ने र सुरक्षाकर्मीलाई आगोमा जल्न बाध्य पार्ने दुवै प्रकारका अतिवादको सशक्त विरोध गर्दछौँ’, वक्तव्यमा भनिएको छ, ‘यी प्रवृत्तिहरू लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि गम्भीर खतरा हुन्।’
पार्टीले कतिपय दलहरूले निर्वाचनको विरोध गरिरहेको अवस्थामा पनि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने अडान लिएको स्मरण गराएको छ। जेनजी आन्दोलनपछि उत्पन्न अवस्थालाई सामान्य बनाउन आफ्नो पार्टीले जिम्मेवार भूमिका खेलेको दाबी गर्दै संयोजक सापकोटाले अहिलेको बस्तुगत परिस्थितिमा निर्वाचन नै एक मात्र निकास भएको स्पष्ट पारेका छन्।
वक्तव्यमार्फत निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। आयोगले दलहरूपिच्छे फरक व्यवहार गरेको र आचारसंहिता उल्लंघनमा प्रभावकारी निगरानी नगरेको जनगुनासो आएको भन्दै निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण गराइएको छ।
केही सञ्चारमाध्यमहरूले भ्रामक र गलत सूचना फैलाएर पार्टीको अवमूल्यन गर्न खोजेकोमा आपत्ति जनाउँदै पत्रकारिताको न्यूनतम मर्यादा पालना गर्न र नेपाल प्रेस काउन्सिललाई प्रभावकारी अनुगमन गर्न अपिल गरिएको छ।
पार्टीले आफ्ना एजेन्डाहरू शासकीय सुधार, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन र आत्मनिर्भर अर्थतन्त्र अहिले सबैका साझा एजेन्डा बनेको दाबी गरेको छ। निर्वाचनको सन्दर्भमा आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरिसकिएको उल्लेख गर्दै पार्टीले मतदाताहरूलाई दलहरूको विगत, विचारधारा र रोडम्यापको गहिरो मूल्यांकन गरेर मात्र विवेकपूर्ण निर्णय लिन आग्रह गरेको छ।




