काठमाडौँ- रूकुम पश्चिममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका उम्मेदवार भएका खत्री उक्त पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेको कांग्रेस चौरजहारी नगरपालिका–७ का वडा सभापति खेमप्रकाश शर्माले जानकारी दिएका छन्।
मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजु केसी र कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री गोपालजीजंग शाहले खत्रीलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। चौरजहारी नगरपालिका–७ नार्जी खत्रीगाउँ निवासी ७४ वर्षीय खत्रीले अबदेखि कांग्रेसमै आबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।




