काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाली टोली इटलीसँग १० विकेटले पराजित भएको छ।
बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इटलीले नेपालीलाई १० विकेटले पराजित गरेको हो। योसँगै विश्वकपमा नेपालले लगातार दोस्रो खेल गुमाएको हो। यसअघि नेपालले आफ्नो पहिलो खेल इंगल्यान्डसँग गुमाएको थियो।
इंग्ल्यान्डविरूद्धको खेलमा शानदार प्रदर्शन गरेर प्रशंसा बटुलेको नेपाल इटलीसामु निरीह देखियो। नेपाली टोलीले ब्याटिङका साथै बलिङतर्फ पनि फितलो प्रदर्शन गर्यो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा जम्मा १२३ रनमात्रै बनाउन सक्यो। नेपालका लागि आरिफ सेखले सर्वाधिक २७ रन बनाए। त्यस्तै आसिफ सेख २०, कप्तान रोहित पौडेल २३, दीपेन्द्रसिंह ऐरी १७ र करन केसीले १८ रन बनाए।
इटलीका लागि क्रिसन कालुगमागेले ३, बेन मानेतीले २, अलि हसन, जेजे स्मट्स र जसप्रति सिंहले १–१ विकेट लिए।
१२४ रनको सामान्य इटलीले १२.४ ओभरमा पूरा गर्यो। इटलीका लागि जस्टीन मोस्काले ६० र एन्थोनी मोस्काले ६२ रन बनाए।



