तस्बिर : एपी
काठमाडौँ- बंगलादेशमा चुनावको क्रममा दुई समूहबीच ‘झडप’ हुँदा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का एक नेताको मृत्यु भएको छ।
बंगलादेशको खुलना सदर क्षेत्रको आलिया मदरसा मतदान केन्द्रमा दुई समूहबीच भएको ‘झडप’ मा बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु भएको हो।
बीएनपीका स्थानीय नेताहरूले धक्का लागेपछि कोचीको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाएको बीबीसीले जनाएको छ। घटना बिहीबार बिहानको रहेको र बीएनपी नेता कोचीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुवै पक्षबीच भनाभन भएको र सोही क्रममा उनको स्वास्थ्य बिग्रिएको प्रहरीले जनाएको छ। भनाभनका क्रममा स्वास्थ्य बिग्रिएको र अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहिम जमातका लागि प्रचार गरिरहेका बेला कोचीले रोकेका थिए।
त्यसपछि दुवैबीच बहस सुरू भएको थियो। सोही क्रममा कोचीलाई धक्का लाग्यो र उनी एउटा रूखमा ठोकिन पुगेका थिए।
बंगलादेशमा नयाँ सरकार बनाउन बिहीबार मतदान भएको छ। पूर्वप्रधानमन्त्री सेख हसिना पदबाट अपदस्थ भएपछि बंगलादेशमा पहिलोपटक आम चुनाव भएको हो।
यो चुनावमा खालिदा जिया नेतृत्वको बीएनपी र डा.सफिकुर रहमान नेतृत्वको इस्लामी दल जमात–ए–इस्लामीबीच मुख्य प्रतिस्पर्धा रहेको बताइएको छ। चुनावमा सेख हसिनको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ। आम चुनावसँगै बंगलादेशको संविधान संशोधन गर्न जनमत संग्रहसमेत भएको छ। यद्यपि, प्रहरीले स्पष्ट रूपमा यो बताएको छैन कि बीएनपी नेतालाई रूखबाट चोट लागेको थियो वा थिएन।



