१५ औँ विन कोप-विमेन्स क्राफ्ट व्यापार मेला सुरु

हिमाल प्रेस ३० साउन २०८३ १९:४९ | Saturday, August 15, 2026
12
SHARES
१५ औँ विन कोप-विमेन्स क्राफ्ट व्यापार मेला सुरु

काठमाडौँ- उद्यम, नवप्रवर्तन र बजार पहुँचमार्फत महिला उद्यमशीलताको सशक्तीकरण गर्ने उद्देश्यसहित १५औँ विन कोप–विमेन्स क्राफ्ट व्यापार मेला २०८३ ललितपुरमा सुरु भएको छ।

ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा शुक्रबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुनेछ। विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र विमेन्स क्राफ्टको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो।

मेलाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गरेकी छन्।

उद्घाटन समारोहमा विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष रत्नेश्वरीकुमारी गोरखाली श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा महिला उद्यमशीलता, स्थानीय उत्पादन र नेपाली हस्तकलाको प्रवर्द्धनमा यस्ता मेलाले महत्वपूर्ण योगदान पुर्‍याउनेमा जोड दिइएको थियो।

मेलामा नेपालभरका महिला उद्यमी, सहकारी संस्था, साना तथा मझौला उद्यम, हस्तकला व्यवसायी, उत्पादक, स्टार्टअप, वित्तीय संस्था, विकास साझेदार, खरिदकर्ता, व्यावसायिक संघ–संस्था तथा सरकारी निकायहरूको सहभागिता रहेको छ।

मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्न प्रकारका हस्तकलाका सामग्री, कपडा तथा पहिरन, फेल्टका सामग्री, हातले बुनेका तथा परम्परागत हस्तकलाका वस्तु, गृहसजावटका सामग्री, प्राकृतिक रेशाबाट निर्मित सामग्री, धातुजन्य हस्तकला, जडीबुटी तथा प्राकृतिक उत्पादन, कृषि तथा कृषिमा आधारित उत्पादन, प्रशोधित खाद्य सामग्री, गहना तथा फेसन सामग्रीलगायत नवीन तथा सिर्जनशील उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।

आयोजकका अनुसार मेलामा ८० भन्दा बढी स्टल राखिएका छन्। मेलाले महिला उद्यमीहरूलाई आफ्ना उत्पादन तथा सेवाको प्रत्यक्ष प्रदर्शन र बजारीकरण गर्ने अवसर प्रदान गर्नुका साथै व्यवसायिक सञ्जाल विस्तार, व्यापारिक साझेदारी विकास र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारका नयाँ अवसर खोज्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आयोजकले मेला उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, महिला उद्यमीका उत्पादनलाई बजारसँग जोड्ने तथा नेपाली हस्तकला र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने महत्वपूर्ण प्लेटफर्म बन्ने विश्वास व्यक्त गरेको छ।

१५ औँ विन कोप–विमेन्स क्राफ्ट व्यापार मेला २०८३ मा विभिन्न उत्पादनको प्रदर्शनी तथा बिक्रीसँगै व्यवसायिक भेटघाट, नेटवर्किङ र उद्यमशीलता प्रवर्द्धनसम्बन्धी गतिविधिहरू समेत सञ्चालन हुनेछन्।

प्रकाशित: ३० साउन २०८३ १९:४९ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast