औषधीमा आत्मनिर्भरताको लक्ष्यसहित फागुन २८-३० मा फर्मा एक्स्पो हुँदै, दुई सय बढी स्टल रहने

हिमाल प्रेस २८ माघ २०८२ १७:४८ | Wednesday, February 11, 2026
14
SHARES
औषधीमा आत्मनिर्भरताको लक्ष्यसहित फागुन २८-३० मा फर्मा एक्स्पो हुँदै, दुई सय बढी स्टल रहने

काठमाडौँ- नेपाल औषधी उत्पादक संघको आयोजनामा दशौं संस्करणको ‘नेपाल फर्मा एक्स्पो २०२६’ आगामी फागुन २८, २९ र ३० गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

‘फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नारासहित आयोजना हुन लागेको एक्स्पोले नेपाली औषधी उद्योगको आधुनिक रूपान्तरण र आत्मनिर्भरताको यात्रालाई उजागर गर्ने लक्ष्य राखेको छ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसपटक एक्स्पोमा २०० भन्दा बढी स्टल रहने जनाएको छ। तीमध्ये करिब ९० प्रतिशत स्टल विदेशी तथा बहुराष्ट्रिय कम्पनीका हुनेछन्। स्टलमा औषधी उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ सामग्री तथा मेसिनरी प्रदर्शन गरिनेछ। बाँकी १० प्रतिशत स्टलमा स्वदेशी औषधी उद्योगका उत्कृष्ट उत्पादनहरू राखिनेछन्। एक्स्पोमार्फत विश्व बजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोड्ने प्रयास गरिने संघले जनाएको छ।

संघका अध्यक्ष विप्लव अधिकारीले विगतका अनुसन्धान तथा आविष्कार आजको औषधी उद्योगको आधार बनेको बताउँदै वर्तमानमा भइरहेको शतप्रतिशत नयाँ अनुसन्धान तथा विकास (आरएन्डडी) ले भविष्यका औषधीको सुनिश्चितता गर्ने बताए।

‘आजको हाम्रो नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्छ। यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउने बलियो खुड्किलो हो,’ उनले भने।

उनले नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधी उत्पादन भइरहेको सन्देश प्रवाह गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको बताए। ‘धेरैलाई अझै पनि नेपालमा विश्वस्तरीय औषधी बन्छ भन्ने थाहा छैन। यस एक्स्पोमार्फत हामी सरोकारवाला र आम सर्वसाधारणलाई नेपाली औषधीको क्षमता र सामर्थ्यबारे जानकारी दिन चाहन्छौं,’ उनले भने। औषधी क्षेत्रबारे ज्ञान लिन इच्छुक सबैका लागि प्रवेश निःशुल्क रहने जनाइएको छ।

एक्स्पोलाई उत्सवका रूपमा मनाउन संघले विभिन्न पूर्वकार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। माघ २ र ३ गते १६ उद्योगको सहभागितामा फुटसल प्रतियोगिता सम्पन्न भइसकेको छ भने फागुन ८ र ९ गते ८ उद्योगको सहभागितामा ‘क्रिकसल’ प्रतियोगिता आयोजना गरिनेछ।

यस्तै, फागुन ४ र ५ गते १०० जना प्रबन्धक तथा १०० जना औषधी बजार प्रतिनिधि (एमआर) का लागि विशेष तालिम तथा सेमिनार सञ्चालन गरिनेछ।

प्राविधिक पक्ष सुदृढ गर्न फागुन २७ गते क्वालिटी कन्ट्रोलमा कार्यरत फार्मासिस्टहरूका लागि अन्तर्राष्ट्रिय विज्ञबाट विशेष सेमिनार आयोजना गरिनेछ। एक्स्पोको पहिलो दिन फागुन २८ गते बिहान ८ बजे प्रभातफेरिसहित औपचारिक उद्घाटन गरिने कार्यक्रम छ।

पत्रकार सम्मेलनमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्दै गुणस्तरीय तथा सहुलियत मूल्यमा नागरिकले औषधी पाउनुपर्ने सरकारको नीति रहेको बताए। ‘आयातलाई प्रतिस्थापन गर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउने दिशामा एक्स्पोले टेवा पुर्‍याउनेछ,’ उनले भने।

उनले नेपाली बजारमा आधाभन्दा बढी हिस्सा स्वदेशी औषधीले ओगटेको बताउँदै प्रविधिगत नवप्रवर्तन र नवीकरणमार्फत नागरिकका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए।

एक्स्पोको आम्दानी खर्चमा नेपाल सरकार सहभागी नहुने पनि उनले स्पष्ट पारे। अध्यक्ष अधिकारीले नेपालमा औषधी उत्पादनका लागि दक्ष जनशक्तिको अभाव नभएको बताउँदै नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने दाबी गरे।

एक्स्पोका लागि हल १ मा औषधी उत्पादनसम्बन्धी प्रविधि र हल २ मा औषधी उत्पादनहरू प्रदर्शन गरिने छ।

यसैबीच पत्रकार सम्मेलनमार्फत आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले औषधी तथा उद्योगमैत्री घोषणापत्र सार्वजनिक गर्न आग्रह गरिएको छ।

‘नेपाल फर्मा एक्स्पो’ प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ।

प्रकाशित: २८ माघ २०८२ १७:४८ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast