मुक्तिनाथमा ‘स्की’ प्रतियागिता

हिमाल प्रेस २२ माघ २०८२ १५:५४ | Thursday, February 5, 2026
18
SHARES
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता

मुस्ताङ- यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको तयारी सुरु गरिएको छ। नेपाल स्की संघको आयोजनामा यही माघ २४ गते मुक्तिनाथमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो।

हिउँमा खेलिने स्की खेलको विकास तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्की संघले सन् २०१६ देखि स्की प्रतियोगिता सञ्चालन गर्दै आएको छ। पहिलो पटक रसुवाको क्यान्जेन भ्यालीबाट सुरु भएको प्रथम राष्ट्रिय स्की प्रतियोगित त्यसपछिका संस्करण मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुँदै आइरहेको छ। मुस्ताङमा सन् २०१९, सन् २०२० र सन् २०२२ मा स्की प्रतियोगिता सम्पन्न भएको थियो।

पाचौँ राष्ट्रिय स्की प्रतियोगिताका लागि काठमाडौँबाट खेलाडी तथा अफिसिय टोली मुस्ताङ आइसकेका छन्। टोलीले बुधबार मुक्तिनाथ क्षेत्रमा स्की खेल खेलाउनका लागि ‘ग्राउन्डलुप’ निर्माण गरिसकेका छन्।

मुस्ताङ स्की संघका अध्यक्ष सुरज गुरुङले स्की खेल तथा प्रतियोगिताका लागि आजदेखि तालिम प्रशिक्षण सुरु भइसकेको जानकारी दिए। बिहीबार जुनियर स्की खेलाडीका लागि प्रशिक्षण  दिइएको छ भने शुक्रबार सिनियर खेलाडीलाई तालिम दिने कार्यक्रम रहेको उनले बताए।

अध्यक्ष गुरुङका अनुसार माघ २४ गते (शनिबार) राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्ने कार्यतालिका रहे पनि मौसमको अवस्था हेहरे यसको कार्यतालिका तय गरिने छ। हिउँमा खेलिने साहसिक खेल स्की प्रतियोगिताका लागि १४ पुरुष र १० जना महिला खेलाडी सहभागी हुनेछन्। यसै गरी मुस्ताङबाट पनि नेपाली सेनाबाट केही खेलाडीले भाग लिने आयोजकले जनाएको छ।

पाँचाैँ स्की राष्ट्रिय स्की प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटी एवं नेपाल स्की संघका अध्यक्ष जिवनराम श्रेष्ठ र नेपाल स्की संघका महासचिव  विजय श्रेष्ठलगायत टोली मुस्ताङ आउँदैछन्।  सिनियर प्रशिक्षक स्वराज श्रेष्ठ, सहायक प्रशिक्षक दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन र शारीरिक प्रशिक्षक बिमन्थ अधिकारीलगायतले खेलाडीलाई प्रशिक्षण दिने संघका अध्यक्ष गुरुङले जानकारी दिए।

यसपटकको प्रतियोगितामा अल्पाइन स्कीअन्तर्गत स्लालोम स्की र ज्यान स्लालोम स्की विधि समेटिएको नेपाल स्की संघका महासचिव श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका विजेतालाई स्वर्ण, रजत र कास्य पदकसहित पुरस्कृत गरिने उनले बताए। प्रतियोगिताका लागि मुस्ताङ आएका खेलाडी तथा अफिसियलको सम्पूर्ण आवास, खाजाखाना र यातायाता खर्च नेपाल स्की संघले व्यहोर्ने महासचिव श्रेष्ठले जनाए।

सन् २०२२ पछि आयोजना हुन नसकेको स्की प्रतियोगिता जारी याममा मुक्तिनाथ क्षेत्रमा हिमपात भएपछि आयोजना गर्न सम्भव भएको हो। जारी याममा मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएको छ।

बन्दोबस्तीका पोसाक र उपकरण प्रयोग गरी हिउँमा चिप्लेटी खेलिने खेललाई स्की प्रतियोगिता भन्ने गरिएको छ। विकसित मुलुकमा कृतिम हिउँमा यसप्रकारको खेल खेलाइने भए पनि नेपालमा स्रोतसाधन नहुँदा प्रतियोगिता सञ्चालन गर्न समस्या हुँदै आएको संघले जनाएको छ। नेपाल स्की संघले हिउँदयामको मौसममा प्राकृतिमा हिउँ परेको समय पारी स्की प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

मुक्तिनाथ क्षेत्रको सेताम्मे हिउँमा स्की खेलको रौनक सुरु भएपछि पर्यटक तथा स्थानीय नागरिकमा उत्साह छाएको छ। हिउँमा खेलिने स्की खेलको माध्यमबाट बेमौसमको पर्यटन घाटालाई कम गर्ने विश्वास गरिएको छ। यस प्रकारका हिउँमा खेलिने खेललाई राज्य पक्षले उच्च प्राथमिकता राख्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्। रासस

प्रकाशित: २२ माघ २०८२ १५:५४ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast