काठमाडौँ- अभिनेत्री निशा अधिकारी गतिशील लोकतान्त्रिक पार्टीबाट निर्वाचनको उम्मेदवार बनेकी छन्।
उनी आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नं. ५ बाट पहिलोपटक उम्मेदवार बनेकी हुन्। उनको चुनाव चिह्न ब्याट्री रहेको छ।
चुनाव नजिकिँदै गर्दा निशाले फेसबुकमार्फत आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन्। ‘यो दस्तावेज वाचा र नाराको सूची होइन, यो मैले प्रतिनिधिसभामा पुगेर के-कसरी काम गर्न चाहन्छु भन्ने स्पष्ट प्रतिबद्धता हो,’ उनले लेखेकी छन्।
उनले राजनीतिलाई फरक ढंगले सोच्ने र आम नागरिकसँग नवीन सामाजिक करार गर्न आफू निर्वाचनमा होमिएको उनले उल्लेखसमेत गरेकी छन्।
‘सगरमाथा देखि सदनसम्म’ भन्ने नारासहित उनले पाँच बुँदामा आफ्नो घोषणापत्र ल्याएको जानकारी दिएकी छन्। जसमा रोजगारी, महिला अधिकार, विकास तथा पूर्वाधार, खेलकुद र जेष्ठ नागरिकलगायतका विषय समेटिएकाे छ।
दिगो रोजगारी, उद्यमशीलता र सहज व्यावसायिक वातावरणलाई पहिलो बुँदामा राखेकी छन्।
महिलाको अर्थपूर्ण सहभागिता र स्वास्थ्य अधिकार उनको दोस्रो बुँदाले समेटेको छ। जसमा उनले महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न स्वास्थ्य अधिकार, सुरक्षा र निर्णयमा पहुँचलाई नीतिगत तथा व्यावहारिक रूपमा स्थापित गर्न लागिरहने प्रतिबद्धता जनाएकी छन्।
तेस्रो बुँदामा सुरक्षित पूर्वाधार, स्वस्थ वातावरण र दिगो सहरी जीवन छ।
खेलकुद, कला र सिर्जनशील अर्थतन्त्र चौथो र ज्येष्ठ नागरिकहरूको स्वाभिमान, सम्मान र सुरक्षित बुढ्यौलीलाई अन्तिम बुँदा बनाएकी छन्।
काठमाडौँस्थित बालुवाटारमा जन्मिएकी निशासँग सञ्चार माध्यम, टेलिभिजन कलाकारिता र फिल्म क्षेत्रमा सक्रिय छिन्। करिब दुई दर्शनजति फिल्ममा काम गरिसकेकी निशा सगरमाथा आरोहण गर्ने पहिलो अभिनेत्रीसमेत हुन्।
काठमाडौँमै हुर्किएकी निशाले पद्मकन्या क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक र स्नातकोत्तर उत्तीर्ण गरिसकेकी छिन्। हाल उनी त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति तथा विकास विषयमा एमफिल गरिरहेकी छिन्।



