निर्वाचन सफल बनाउन जापानमा बस्ने नेपालीलाई राष्ट्रपतिको आह्वान

हिमाल प्रेस २० माघ २०८२ २१:२५ | Tuesday, February 3, 2026
12
SHARES
निर्वाचन सफल बनाउन जापानमा बस्ने नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गरेका छन्।

जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आज (मंगलबार) आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।

‘आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु,’ राष्ट्रपति पौडेलले भने। उनले जापानमा विभिन्न पेसा र क्रियाकलापमा आबद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आइपरेका समस्याको समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

उनले नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगीकार गरेसँगै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा उच्च गतिका साथ अघि बढाउन आवश्यक रहेको बताए।

राष्ट्रपति पौडेलले राज्य सञ्चालनमा पारदर्शिता जवाफदेहिता, सहभागिता एवम् विधिको शासनलाई केन्द्र भागमा राखेर जनमानसमा प्रभावकारी सेवा प्रवाहको प्रत्याभूति हुनुपर्नेमा जोड दिए।

‘नेपालमा भएको युवा पुस्ताको आन्दोलनबाट सुशासनको माग अझै मुखरित भएको छ, यसै अनुरुप जनताको सर्वोपरी हित रक्षा गर्दै सुशासन मार्फत देशको समृद्धिका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन गइरहेको छ, यो निर्वाचन पछि मुलुकमा स्थायित्व र विकासको थप नयाँ सम्भावनाहरू खुल्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने। त्यसैले आसन्न निर्वाचन सफल बनाउन विदेशमा रहेका नेपालीले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव एउटा ऐतिहासिक क्षण भएको बताउँदै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेकाले औद्योगिक विकास, कृषि, जलविद्युत, पूर्वाधार लगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी थप लाभान्वित हुन चाहेको बताए। उनले मानव संशाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि क्षेत्रमा जापानी सहयोग उल्लेखनीय रहेको स्मरण गरे।

नेपाल र जापानबीच गौतम बुद्धको शिक्षाबाट प्रेरित गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएको र बुद्धको जन्मस्थल लुम्बिनीले नेपालप्रतिको आकर्षणलाई बढाएको उनको भनाइ थियो।

जापानमा नेपाली समुदायको उपस्थिति हुनु द्विपक्षीय सम्बन्धको उल्लेखनीय पक्ष रहेको र नेपाली समुदायले आफ्नो पौरख, इमान र एकताको माध्यमबाट जापानको समुन्नतिमा महत्त्वपूर्ण योगदान गर्दै नेपालको छविलाई सदैव उचाइमा पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले यसप्रकारका भ्रमणले नेपाल र जापानबीच विद्यमान सम्बन्ध एवम् सहयोगलाई अझ परिणाममुखी तथा बहुआयामिक बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए।

प्रकाशित: २० माघ २०८२ २१:२५ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast