नेपालमा पहिलोपटक सालक सम्मेलन हुँदै

हिमाल प्रेस १९ माघ २०८२ १५:३४ | Monday, February 2, 2026
36
SHARES
नेपालमा पहिलोपटक सालक सम्मेलन हुँदै तस्बिर स्रोतः तुलसीलक्ष्मी सुवाल (सालक संरक्षण कार्ययोजना)

चितवन- नेपालमा पहिलोपटक सालक सम्मेलन गरिने भएको छ। बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो।

डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन गर्न लागिएको हो। कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक जिल्लाका सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीहरूको सक्रियतामा सालक सम्मेलन गर्न लागिएको हो।

संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा सम्मेलनमा छलफल गरिने छ। आचार्यका अनुसार संरक्षणमा हातेमालो गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, विज्ञसहित २०० भन्दा बढीको सहभागितामा सालक सम्मेलन गर्न लागिएको हो।

सम्मेलनमा सालकको अहिलेको अवस्था, संरक्षणमा देखिएका चुनौती र भावि कार्यदिशाका विषयमा छलफल गरिने छ। छलफलसँगै सालक संरक्षणका लागि माडी घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने उनले बताए। सालक किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य रहेको उनको भनाइ छ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुका रूपमा सालकलाई राखेको र सालक अहिले लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ। यसको संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेको उनले बताए।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले नेपालमा पहिलोपटक सालक सम्मेलन गर्न लागिएको जानकारी दिए। उनका अनुसार वन्यजन्तु संरक्षण भन्ने बित्तिकै ठूला वन्यजन्तुहरूलाई प्राथमिकता दिइने गरिएको भए पनि साना वन्यजन्तु पनि उत्तिकै महत्वपूर्ण रहेको छ। उनले भने, ‘ठूला वन्यजन्तुहरू संरक्षणमा धेरैको ध्यान जाने भए पनि प्रदेश सरकारले सालकको संरक्षणका लागि नीति तथा कार्यक्रम नै बनाएर काम अघि बढाइएको छ।’

आगामी वर्षदेखि नियमित रूपमा सालक संरक्षणका लागि काम गरिने उनले बताए। प्रदेशका सबै डिभिजन वनहरूमा सालक पाइने र यसको संरक्षणले प्रकृतिलाई फाइदा पुग्ने उनको भनाइ छ। केही वर्षपछि सालक हेर्नका लागि बागमती प्रदेश जाउँ भन्ने बनाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए।

सामुदायिक वन र सालक संरक्षणमा लागेका सबैलाई एकीकृत गर्न यो कार्यक्रम फलदायी हुने छ। स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समितिसँग सालकको बासस्थान, खाने कुरा संरक्षणलाई अभियानका रूपमा अघि बढाइने उनले बताए। सालक मार्नेलाई निकुञ्ज ऐनअनुसार कारवाही हुने उनले बताए। रासस

प्रकाशित: १९ माघ २०८२ १५:३४ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast