खस्किँदै नेपाली फिल्मको व्यापार, यस्ताे छ प्रदर्शनरत फिल्मकाे कमाइ

सुस्मिता बजगाईं १९ माघ २०८२ १२:३० | Monday, February 2, 2026
36
SHARES
खस्किँदै नेपाली फिल्मको व्यापार, यस्ताे छ प्रदर्शनरत फिल्मकाे कमाइ

काठमाडौँ- देशभरका हलमा अहिले ८ नेपाली फिल्म प्रदर्शनरत छ। ती हुन्- ‘परान’, ‘गोबर गणेश’, झरीपछिको इन्द्रेणी’, ‘भाइरल गोर्खे’, ‘मिरमिरे’, ‘परिवर्तन’, ‘आ बाट आमा’ र ‘द ब्ल्यू लाइट’।

यी मध्ये ‘आ बाट आमा’ र ‘द ब्ल्यू लाइट’ गत माघ १६ देखि प्रदर्शनमा आएका हुन्। यीबाहेक ६ नेपाली फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले फिल्म प्रदर्शनको एक सातापछि देशभरको बक्स अफिस कलेक्सन सार्वजनिक गर्दै आइरहेको छ।

बोर्डले सोमबार माघ १७ गतेसम्म हलमा प्रदर्शनरत नेपाली फिल्मको बक्सअफिस सार्वजनिक गरेको छ। जसमा फिल्म ‘परान’, ‘गोबर गणेश’, झरीपछिको इन्द्रेणी’, ‘भाइरल गोर्खे’, ‘मिरमिरे’ र ‘परिवर्तन’ छ। बोर्डको विवरण हेर्दा पछिल्लो समय नेपाली फिल्मको व्यापार खस्कँदो छ। अपेक्षा गरिएको फिल्मले पनि दर्शक तान्न सकिरहेको छैन। केही फिल्म प्रदर्शनकाे दुई सातामै हलबाट बाहिरिएका छन्।

बोर्डले सार्वजनिक गरेको ६ फिल्मको व्यापार कस्तो छ त?

परान : फिल्म ‘परान’ कात्तिक १४ देखि हलमा प्रदर्शनरत छ। फिल्मले अहिलेसम्म १७ करोड ८४ लाख ४७ हजार ५ सय ७६ रुपैयाँ कमाइसकेको छ। निरन्तर तीन महिनासम्म हलमा चलिरहेको फिल्मको ६ लाख ३३ हजार ५४ वटा टिकट बिक्री भएको छ।

दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्मले परदेशिएका सन्तान र बाआमाको कथा भन्छ। मार्मिक कथामा बनेको फिल्म दर्शकले रुचाएका छन्। फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यलगायतकाे  अभिनय गरेका छन्।

गोबर गणेश :  ‘गोबर गणेश’ ले माघ १७ सम्म १ करोड ३६ लाख २० हजार ८ सय ६६ रुपैयाँ कलेक्सन गरेको छ। फिल्म माघ १ देखि हलमा प्रदर्शन भएको हो। फिल्मको ४८ हजार ५३ वटा टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ।

निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले निर्माण गरेको फिल्ममा ग्रामीण परिवेशमा हुर्केको गणेशको जीवन संघर्षको कथा समेटिएको छ। आफ्नो सपना पूरा गर्न सहर पसेपछि उसले सामना गर्नुपरेको चुनौतीलाई देखाइएको छ। निर्देशक श्रेष्ठसहित फिल्ममा वर्षा शिवाकोटी, विनोद न्यौपाने, सीतादेवी तिमल्सिना, पदम तामाङ,  विशाल पहाडी,  पुजन घिमिरे (पुकु)लगायत कलाकारले अभिनय गरेका छन्।

झरीपछिको इन्द्रेणी : फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ देखि हलमा प्रदर्शनरत छ। फिल्मले अहिलेसम्म १ करोड २८ लाख ५२ हजार ३ सय १९ रुपैयाँ कलेक्सन गरेको छ। माघ १७ सम्म फिल्मको ४० हजार ६ सय २४ वटा टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ।

अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

भाइरल गोर्खे :  फिल्म ‘भाइरल गोर्खे’ गत माघ १ देखि हलमा चलिरहेको छ। सौगात मल्ल अभिनीत फिल्ममा सामाजिक सञ्जालमा भाइरल बन्न मुख्य पात्र गोर्खेले गर्ने संघर्ष र अनौठो हर्कतको कथा देखाइएको छ। समय भाइरल हुने लहडकै भए पनि फिल्मले भने सोचअनुसार व्यापार गर्न सकेको छैन। बोर्डको विवरणअनुसार फिल्मले अहिलेसम्म ३६ लाख १० हजार ९ सय २५ रुपैयाँ कमाएको छ। फिल्मको ११ हजार २ सय ९८ वटा मात्र टिकट बिक्री भएको छ।

निगम श्रेष्ठले निर्देशन गरेको फिल्ममा सौगातसँगै फिल्ममा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पबीलगायत कलाकारले अभिनय गरेका छन्।

मिरमिरे :  फिल्म ‘मिरमिरे’ ले अहिलेसम्म ३३ लाख ९३ हजार ७ सय २५ रुपैयाँ कमाउन सफल भएको छ। माघ १ देखि हलमा चलिरहेको फिल्मको १० हजार ८ सय ८४ वटा टिकट बिक्री भएको बोर्डले जनाएको छ। यो फिल्मले पनि निर्माण टिमले सोचेअनुरुपको व्यापार गर्न सकेन।

त्रिकोणात्मक प्रेम कथा आधारित फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, शाइसा गौचनलगायत कलाकारको अभिनय छ। फिल्ममा आमा नभएकी छोरीको हेरचाह गर्ने बुवा र छोरीको भावनात्मक कथा प्रस्तुत गरिएको छ। फिल्मका लेखक तथा निर्देशक यम शेर्पा हुन्।

परिवर्तन : एक्सन जनरामा बनेको फिल्म हो ‘परिवर्तन’। सुशील श्रेष्ठ मुख्य भूमिकामा रहेको फिल्मले अहिलेसम्म ३१ लाख ९ हजार ९ सय २५ रुपैयाँ कलेक्सन गरेको छ। माघ ९ देखि प्रदर्शन भएको फिल्मका निर्देशक विजय केरुङ हुन्। फिल्मको अहिलेसम्म ११ हजार ६ वटा टिकट बिक्री भएको छ।

सामाजिक र राजनीतिक विषयवस्तुमा बनेको फिल्मले सत्ता मोह र विद्रोहको कथा प्रस्तुत गरेको छ। फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिस्मा  मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १९ माघ २०८२ १२:३० | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast