पोखरा– छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघले उपाधि जितेको छ।
साबिक विजेता नेपाल पुलिस क्लबलाई पोखरा रंगशालामा शनिबार फाइनलमा ३–१ सेटमा हराउँदै उपाधि जित्न सफल भएको हो। गण्डकीले पुलिस क्लबलाई २३–२५, २८–२६, २५–२२ र २५–१७ सेटमा पराजित गरेको हो। उल्लेख्य दर्शकमाझ भएको फाइनलमा पहिलो सेट गुमाएको गण्डकीले बाँकी सेटमा पुनरामगन जित निकाल्न सक्यो।
उपाधि विजेता गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार पायो। तेस्रो बनेको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो।
प्रतियोगितामा गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे। उत्कृष्ट सर्भर अद्नान खान, लिबेरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने। उनीहरुले जनही ११ हजार १११ रुपैयाँ हात पारे।
महिलातर्फको उपाधि भने न्यू डायमण्ड स्पोर्टस् क्लबले जितेको छ। शुक्रबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधिसहित ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गरेको थियो। उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तेस्रो भएको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो।
टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा ९ माघदेखि सुरु प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले भाग लिएका थिए। तीमध्ये २ विदेशी टिम थिए।
यसैबीच, पुरुषतर्फ फाइनल खेल्ने टिम आयोजकले शुक्रबार मध्यरातमा सच्चाएको थियो। शुक्रबार लिगको अन्तिम खेलमा गण्डकीले पर्वत भलिबल संघलाई ३–२ सेटमा हराएपछि पर्वतले पुलिसको समान १० अंक बनाएको थियो। र, सेट आधारमा पर्वत फाइनल गएको भनी आयोजकले उद्घोष गरेको थियो। तर सेट नभई ‘सेट रेसियो’ लाई आधार मान्नुपर्ने चर्को आलोचनापछि आयोजकले पुलिसलाई फाइनल प्रवेश गरेको निर्णय गरेको हो।



