राष्ट्रियसभामा फेरिएको शक्ति सन्तुलन : कांग्रेस बन्यो ठूलाे दल

हिमाल प्रेस ११ माघ २०८२ २१:३४ | Sunday, January 25, 2026
50
SHARES
राष्ट्रियसभामा फेरिएको शक्ति सन्तुलन : कांग्रेस बन्यो ठूलाे दल

काठमाडौँ- राष्ट्रियसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्। आइतबार सातै प्रदेशमा १८ पदका लागि भएको मतदानमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन्।

कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। मतदानपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भएका हुन्।

त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर निर्वाचित भएका छन्।

त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भए।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका छन्।

त्यस्तै लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा कांग्रेसकै चन्द्रबहादुर केसी विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भएका छन्।

सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएको आयोगको भनाइ छ।

आयोगका अनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ। सात प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको थियो।

निर्वाचनसँगै राष्ट्रियसभाको शक्ति सन्तुलनमा पनि परिवर्तन भएको छ। यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ठूलो दल रहेको राष्ट्रियसभामा अब भने दोस्रोमा झरेको छ।

निर्वाचन भएको १८ मध्ये ९ सिट जितेर २५ सिट भएको कांग्रेस राष्ट्रियसभाको ठूलो दल बनेको छ। नेकपाको १८ सिट छ।

यो निर्वाचनमा कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट पाउने गरी तालमेल भएको थियो। यही तालमेलपछि कांग्रेस ठूलो पार्टी बनेको हो।

५९ सदस्यीय राष्ट्रियसभामा एमाले भने ११ सिटसहित तेस्रो स्थानमा छ। यो निर्वाचनमा एमालेका ८ सांसदको पद रिक्त भएको थियो। राष्ट्रियसभामा जसपा नेपाल ३, राष्ट्रिय जनमोर्चाको १ सिट छ।

निर्वाचनको यो परिणामले फागुन २० पछि मात्रै औपचारिकता पाउनेछ।

प्रकाशित: ११ माघ २०८२ २१:३४ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast