राष्ट्रियसभा निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मतदान

हिमाल प्रेस ११ माघ २०८२ १३:४१ | Sunday, January 25, 2026
18
SHARES
राष्ट्रियसभा निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मतदान राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशको दुई सिटका लागि आइतबार मतदान गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिर : कृष्ण दवाडी/रासस 

काठमाडौँ- राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९:०० बजेदेखि सुरु भई अपराह्न ३:०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो।

अहिलेसम्म कोशी प्रदेशमा ३१३, मधेश प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खसआर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो। बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ। कोशी प्रदेशका खस आर्यका उम्मेदवार नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भए।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुरमा मतदान भइरहेको आयोगले जनाएको छ।

यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान चलिरहेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ। कूल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल दुई हजार ११ कायम रहेको आयोगले जनाएको छ।

प्रकाशित: ११ माघ २०८२ १३:४१ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast