प्रचण्डसँग भिड्दैछन् द्वन्द्वकालमै आमाबुवा गुमाएका कान्छा उम्मेदवार सन्दीप

हिमाल प्रेस १० माघ २०८२ ११:३४
40
SHARES
प्रचण्डसँग भिड्दैछन् द्वन्द्वकालमै आमाबुवा गुमाएका कान्छा उम्मेदवार सन्दीप

काठमाडौँ- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुकुम पूर्वमा चुनावी माहोल तातिँदै गएको छ।

विभिन्न राजनीतिक दलहरूले आफ्ना उम्मेदवार सार्वजनिक गरिरहेका छन्। यही क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुम पूर्वबाट सन्दीप पुनलाई उम्मेदवार बनाएको छ। उनी यस निर्वाचनका लागि मैदानमा उत्रिएका सबै उम्मेदवारहरूमध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्। यसपटक रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनाव लड्न पुगेका छन्। कहिले चितवन, कहिले गोरखा, त कहिले काठमाडौँ र कहिले सिराह पुग्ने प्रचण्ड यसपटक रुकुम पूर्व पुगेका हुन्। हुन त रुकुम पूर्व केवल एउटा भूगोल मात्र होइन, यो बलिदान, संघर्ष र परिवर्तनको इतिहास बोकेको भूमि हो। यही माटोमा जन्मिएका, यहीँ हुर्किएका र यही समाजका पीडा तथा सपना नजिकबाट देखेका सन्दीप पुन आज रुकुम पूर्वका जनताको आशाका रूपमा चुनावी मैदानमा उभिएका छन्।

सन्दीप पुन बाहिरबाट आएर चुनावी भाषण गर्ने नेता होइनन्। उनी चुनावताका मात्र देखिने अनुहार पनि होइनन्। रुकुम पूर्वकै स्थायी बासिन्दा रहेका पुनले यहीँका उकाली–ओरालीमा पसिना बगाएका छन्, अभावमा संघर्ष गरेका छन् र आफ्नै गाउँ–समाजका समस्यालाई नजिकबाट अनुभूत गरेका छन्। त्यसैले उनका राजनीतिक एजेन्डा कागजी योजना मात्र नभई जीवन अनुभवबाट निस्किएका यथार्थ प्रस्तावहरू भएको बताइन्छ।

२८ वर्षको उमेरमा उम्मेदवार बनेका पुन उमेरले कान्छा भए पनि विचार, ऊर्जा र प्रतिबद्धताले परिपक्व मानिन्छन्। युवाशक्ति, नयाँ सोच र परिवर्तनको आँट उनको मुख्य विशेषता रहेको उनका समर्थकहरूको भनाइ छ। पुराना नेताहरूले दोहोर्याइरहेका भाषणभन्दा फरक ढंगले उनले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, पर्यटन विकास र आत्मनिर्भर रुकुम पूर्वको स्पष्ट खाका अघि सारेका छन्।

जनयुद्धको पीडा, सहिद परिवारको अनुभूति र जनताको दुःख–संघर्ष उनले पुस्तकमा मात्र पढेका होइनन्, आफ्नै जीवनमा भोगेका अनुभव हुन्। यही कारण उनको राजनीति पद र प्रतिष्ठाका लागि नभई दायित्व र जिम्मेवारीका लागि केन्द्रित रहेको बताइन्छ। व्यक्तिगत स्वार्थभन्दा सामूहिक भविष्यलाई प्राथमिकतामा राख्दै सन्दीप पुन रुकुम पूर्वको समृद्ध भविष्यका लागि विकल्पका रूपमा अगाडि आएका छन्। उनी सहिद पुत्र हुन्। उनी द्वन्द्वकालीन माओवादी नेता सुर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का पुत्र हुन्।

सुन्दर र वृक्षाले द्वन्द्वकालमै सहादत प्राप्त गरेका थिए। सहिदपुत्र सन्दीप भने यसपटक बाआमाको लिगेसी बोकर मैदान उत्रदैछन्। सन्दीपका बुवा सूर्यप्रकाश पुन र परम्परा गौतमका बीचमा पार्टीका नेताहरूले नै २०५३ जेठ २५ मा ‘जनवादी विवाह’ भएको थियो। सन्दीप १३ महिनाको भइसकेपछि परम्पराले माइतीको जिम्मामा छोडेर प्रचण्डले हाँकेको ‘युद्ध’ मै होमिएकी थिइन्।

तर, दुर्भाग्य सन्दीप ३ वर्षको छँदा २०५९ जेठ १४ मा बझाङमा उनका आमाबुवाको हत्या भयो। त्यसपछि मामाघरकाले सन्दीपलाई भारतमा लगेर पढाए।

प्रकाशित: १० माघ २०८२ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast