नेताहरूको चुनावी दाउपेच, ककसले त्यागे पुरानो क्षेत्र?

हिमाल प्रेस ७ माघ २०८२ १३:५७
12
SHARES
नेताहरूको चुनावी दाउपेच, ककसले त्यागे पुरानो क्षेत्र?

काठमाडौँ- फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केही प्रभावशाली नेताहरूले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिएका छन्। पुरानो क्षेत्रका मतदाताप्रति विश्वास गर्न नसकेर नयाँ क्षेत्र रोजेपछि उनीहरूलाई ‘टुरिस्ट’ उम्मेदवार भन्दै आलोचनासमेत हुन थालेको छ। नेताहरूले भने आफू राष्ट्रिय नेता भएकाले देशको जुनसुकै भूगोलबाट चुनाव लड्न सक्ने दाबी गर्दै आएका छन्।

यसरी क्षेत्र परिवर्तन गर्नेमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका सचिव भानुभक्त ढकाल, राप्रपाका कमल थापालगायत छन्।

कांग्रेस सभापति थापा काठमाडौँ-४ बाट चुनाव लड्दै आएका थिए। उनी २०७०, २०७४ र २०७९ को चुनावमा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। यसपटक निर्वाचन क्षेत्र बदलेर थापा सर्लाही-४ मा पुगेका छन्। थापा पाँचौँपटक आमनिर्वाचनमा उत्रिएका हुन्। उनी पहिलोपटक २०६४ सालमा समानुपातिक सांसद भएका थिए।

थापा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा २०७३ सालमा करिब ९ महिना स्वास्थ्यमन्त्री भएका थिए। पुस अन्तिममा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित भएका हुन्। यसअघि उनी कांग्रेसका महामन्त्री थिए।

निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा प्रचण्ड अगाडि छन्। प्रचण्ड पहिलोपटक २०६४ सालमा काठमाडौँ- १० र रोल्पा-२ बाट निर्वाचित भएका थिए। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वमा उम्मेदवारी दर्ता गरेका छन् । उनी पाँचौँ पटक चुनावी मैदानमा उत्रिएका हुन्।

प्रचण्ड २०७० मा दुई क्षेत्रबाट चुनाव लडेका थिए। २०६४ मा निर्वाचित भएको काठमाडौँ- १० उनलाई फापेन। कांग्रेसका राजन केसीसँग पराजित भए। यद्यपि उनी उक्त चुनावमा सिरहा-५ बाट निर्वाचित भए। उनीमाथि त्यति बेला सिरहा-५ मा धाँधली गरेर चुनाव जितेको आरोप लागेको थियो।

प्रचण्ड २०७४ को प्रतिनिधिसभा चुनाव लड्न चितवन-३ मा पुगे। चितवन उनको गृहजिल्ला हो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा-२ बाट निर्वाचित भएका थिए। उनले दोहोर्‍याएको निर्वाचन क्षेत्र काठमाडौँ-१० मात्रै हो।

नेकपाका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट उम्मेदवारी दिएका छन् । उनी २०७४ को निर्वाचनमा गोरखा-२ बाट पराजित भएका थिए । गोरखा-२ लाई आफ्नो आधार क्षेत्र बनाउने प्रयास गरे पनि उनी सफल हुन सकेनन्। सो क्षेत्रमा पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले तीनपटक चुनाव जित्दा श्रेष्ठ भने निर्वाचित हुन सकेका छैनन्। २०७४ सालको आमचुनावमा पनि उनी भट्टराईसँग पराजित भएका थिए।

२०६४ मा समानुपातिकबाट सांसद बनेका श्रेष्ठ २०७० मा मकवानपुर-४ बाट पराजित भएका थिए। श्रेष्ठ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर-२ बाट चुनाव लडे पनि एमालेका सुभासचन्द्र ठकुरीसँग पराजित भए।

नेकपाका अर्का नेता प्रेम आले डोटीबाट कैलाली-५ झरेका छन्। उनी डोटीबाट २०७०, २०७४ र २०७९ मा निर्वाचित भएका थिए। अहिले पार्टीले आफूलाई कैलाली क्षेत्र नम्बर-५ बाट उम्मेदवार बनाएको आलेले बताए।

यसअघि कुनै चुनाव जित्न नसकेका कांग्रेसका प्रकाशशरण महत काठमाडौँ छोडेर नुवाकोट पुगेका छन् । उनले नुवाकोट-१ बाट उम्मेदवारी दर्ता गरेका हुन् । महत २०७४ को चुनावमा काठमाडौँ-५ बाट पराजित भएका थिए । महत २०७९ को चुनावमा समानुपातिक सांसद थिए। उनी पहिलो पटक गृहजिल्लाबाट चुनाव लड्न लागेका हुन्।

एमालेका सचिव भानुभक्त ढकाल मोरङ-३ छाडेर तेह्रथुम पुगेका छन् । ढकाल २०७४ सालमा मोरङ ३ बाट निर्वाचित भएका थिए। २०७९ मा उनी सोही क्षेत्रमा पराजित भएका थिए। कोरोना महामारीका बेला ढकाल स्वास्थ्यमन्त्री थिए। जानकारहरू चुनावमा जित सुनिश्चत गर्न उनी तेह्रथुम गएको बताउँछन्।

नेकपाका देवेन्द्र पौडेलले क्षेत्र फेर्दै नवलपरासी (सुस्ता पश्चिम)- २ बाट उम्मेदवारी दर्ता गराएका छन् । बागलुङ-२ लाई आफ्नो स्थायी चुनावी किल्ला बनाउँदै आएका पौडेलले क्षेत्र परिवर्तन गरेका छन्। २०६४ यता लगातार जित्दै आएको क्षेत्रमा असुरक्षित भएपछि उनले नयाँ क्षेत्र रोजेको बागलुङका मतदाता बताउँछन्।

पौडेल २०६४ सालमा बागलुङ- २ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि २०७० को दोस्रो संविधानसभा, २०७४ को प्रतिनिधिसभा र २०७९को प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका उनी निरन्तर सांसदका रूपमा स्थापित नेता हुन्।

गत निर्वाचनमा काठमाडौँ-२ बाट निर्वाचित रास्वपाकी सोबिता गौतमले चितवन-३ मा उम्मेदवारी दिएकी छन्। चितवन ३ मा उनका प्रतिस्पर्धीमा नेकपाकी रेनु दाहाल छिन्।

चुनाव क्षेत्र बदल्ने अर्का नेता हुन् जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव। उनले यसपटक सप्तरी -३ बाट उम्मेदवारी दिएका छन्। यादव २०६४ सालको पहिलो संविधानसभा चुनावमा सुनसरी-५ र मोरङ-५ बाट निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधानसभामा उनी मोरङ-५ बाट पराजित भएका थिए।

यसैगरी सप्तरी-२ बाट निर्वाचित भएका यादव २०७९ मा भने पराजित भएका थिए। २०८० मा भएको उपनिर्वाचनमा उनी बारा-२ बाट निर्वाचित भएका थिए। यादव पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन्।

नेपाली कांग्रेसका किशोरसिंह राठोरले बर्दिया-२ बाट उम्मदेवारी दिएका छन्। यसअघि २०७९ को चुनावमा उनी बाँके- ३ बाट निर्वाचित भएका थिए।

कमल थापाको चुनाव चिह्न र क्षेत्र दुवै परिवर्तन

राप्रपा नेता कमल थापाले यसपटक निर्वाचन क्षेत्र र चुनाव चिह्न परिवर्तन गरेका छन्। उनी २०७९ को निर्वाचनमा एमालेको सूर्य चिह्नबाट मकवानपुर-१ मा उम्मेदवार थिए।
यसपटक भने उनले काठमाडौँ-५ बाट उम्मेदवारी दिएका छन्। २०७४ मा मकवानपुर-१ मा राप्रपाबाट प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast