पोखरा- मनोहर कप तेस्रो क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ।
मनोहर क्लबको आयोजनामा पोखरा-१४, मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनलमा पोखरा युनाइटेडलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो। आयोजकले पहिलो सेट २५-१६, दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्यो।
मनोहरले उपाधिसँगै १ लाख ७५ हजार ५५५ रुपैयाँ साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोलीले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गरेको छ।
सेमिफाइनलसम्म पुग्ने अरु २ टिम नवज्योति युवा क्लब र पकुवा भलिबल क्लबले जनही २० हजार पाए। प्रतियोगितामा सञ्जुविक्रम शाह सर्वाेत्कृष्ट खेलाडी घोषित भए। उनले ८ हजार र ट्रफी हात पारे।
सन्दीप सुनार उत्कृष्ट स्पाइकर, दीपक थापा डिफेन्डर, अजय सुनार ब्लकर, सञ्जोक परियार सर्भर, लप्सन सुनार उदीयमान र सुमन राना प्रशिक्षक विधागततर्फ उत्कृष्ट बने। उनीहरुले जनही ५ हजार पाए। प्रतियोगितामा १४ टोलीले भाग लिएका थिए।



