दीपेन्द्रसिंह र एरिका पल्सर स्पोर्टस् वर्ष खेलाडी

हिमाल प्रेस २४ पुष २०८२ १०:५२
14
SHARES
दीपेन्द्रसिंह र एरिका पल्सर स्पोर्टस् वर्ष खेलाडी

पोखरा- क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आयोजनामा बुधबार पोखरा सभागृहमा भएको २२ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ मा वर्ष खेलाडी पुरुषमा ऐरी र वर्ष खेलाडी महिलामा गुरुङ घोषित भएका हुन्।

नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको विभिन्न सफलतामा ऐरीको ठूलो योगदान छ। एसीसी प्रिमियर लिगकप–२०२४ मा कतारविरुद्ध एकै ओभरमा उनले छ छक्का प्रहार गरेका थिए।

उनले वर्ष २०८१ मा ३७० रन बनाउनुका साथै २० विकेट लिएका थिए। उनले अमेरिकामा भएको विश्वकपमा छ विकेट लिएका थिए । यो विधामा मनोनयनमा पर्नेमा उसुका विजय सिंजाली, खो–खोका जनक चन्द, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र क्रिकेटका कुशल भुर्तेल थिए।

गत वर्ष पनि यो विधामा अवार्ड थापेकी एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा २ स्वर्ण, अस्ट्रेलियन ओपन–२०२४ मा स्वर्ण, चीनमा सम्पन्न सिनियर कराते च्याम्पियनसिपमा रजत जित्न सफल भएकी थियन्।

सिंगापुरमा भएको एशिया प्यासिफिक कराते च्याम्पिनयसिपमा समेत उनले स्वर्ण तथा दुबईमा विश्व वान लिगमा रजत पदक जितेकी थिइन्। यो विधामा करातेकी एलिसा मगर, खो–खोकी मानमती धामी, फुटबलकी रेखा पौडेल र भलिबलकी सलिना श्रेष्ठसमेत मनोनयनमा परेका थिए।

पोखराका खड्गबहादुर रानाभाटलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदानको मूल्यांकन आधारमा भूतपूर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्षसमेत रहेका रानाभाटलाई उक्त सम्मान गरिएको हो।

गण्डकी क्षेत्रकै हिमाल सुनारी (भलिबल)ले पिपल्स च्वाइस अवार्ड जिते। गण्डकी प्रदेश मुख्यमन्त्रीकप राष्ट्रिय पुरुष भलिबलको उपाधि जित्दा टिमका मुख्य खेलाडी थिए।

उनी पोखरामा भएको तेस्रो टाइगर कपमा बेस्ट सर्भर घोषित भएका थिए । यो विधामा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल पनि मनोनयनमा थिए।

पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले वर्ष प्रशिक्षकको अवार्ड पाए। सो विधामा बक्सिङका दीपक महर्जन, खो–खोका लक्ष्मीनारायण वैद्य, क्रिकेटका महेश रिजाल र करातेका प्रशिक्षक कुशल श्रेष्ठ थिए । युवा वर्ष खेलाडीको अवार्ड क्रिकेटकी पूजा महतोले जितेकी छिन्।

नेपाल महिला यू १९ क्रिकेट टोलीलाई पहिलोपटक विश्वकपमा पु¥याउँदा नेपालको नेतृत्व पूजाले गरेकी थिइन्। विभिन्न १० अवार्डमध्ये एशियन स्पोर्टस् जर्नालिष्ट अवार्ड बंगलादेशका मोहम्मद हसन उल्लाह खान, पारा एथलिट अवार्ड प्रभा आङ्देम्बेले पाए।

स्पेशल अवार्ड तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङले प्राप्त गरे। पोखरामा जन्मिएका तुलसीकुमार भूपू ब्रिटिस लाहुरे हुन्। नवौं डान ब्ल्याक बेल्ट पाउने उनी पहिलो नेपाली समेत हुन्। खो–खोको महिला र पुरुष टिम दुबैले टिम अफ दि इयरको अवार्ड जिते ।

नेपाली खेलकुदको प्रतिष्ठित यो अवार्ड राजधानी काठमाडौं बाहिर पहिलोपल्ट पोखरामा भएको हो। अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस् समिटसमेत भएको मञ्च अध्यक्ष नीरञ्जन अधिकारीले बताए। अधिकारीले पोखरामा खेल क्षेत्रमा प्रशस्त अवसर रहेको उल्लेख गर्दै अवार्ड कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे। अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप थियो। सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसमेत भयो।

प्रकाशित: २४ पुष २०८२ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast