जनकपुरधाम- अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि विपद् व्यवस्थापन समितिले लक्षित गरिब असहाय परिवारहरुलाई कम्बल वितरण गर्न थालेको छ। समितिले मधेश प्रदेश सरकारको सहयोगमा राहतस्वरूप प्राप्त कम्बल धनुषाका विभिन्न स्थानीय तहका ग्रामीण क्षेत्रमा वितरण गरेको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रसको अगुवाइ र स्थानीय तहको समन्वयमा मधेश प्रदेश सरकार गृह मन्त्रालयको सहयोगमा विभिन्न ठाउँका लक्षित विपन्न, असहाय, अशक्तहरूको बस्तीलाई आधार मानेर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिए।
पछिल्ला दुई दिनमा समितिले ७५० परिवारलाई कम्बल वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी लुइटेलले जानकारी दिए। उनका अनुसार नगराई नगरपालिकाको वडा नम्बर ३, ४ र ५ मा १४०, जटही प्रहरी चौकीमार्फत १२०, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एक सय र जनकनन्दनी गाउँपालिकामा १४० परिवारलाई कम्बल वितरण गरिएको हो।
यसअघि धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० लालगढमा १५० र सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरिया टोलमा एक सय परिवारलाई कम्बल वितरण गरिएको थियो।
प्रदेशका राजधानी जनकपुरधामका विभिन्न चोक र अत्यावश्यक कामका आउने तथा भीडभाड हुने स्थानमा जिल्ला विपद् व्यवस्थापन समितिले दाउरा वितरण समेत गरेको छ। चिसो र शीतलहरबाट बच्न आगो बाल्न दाउरा वितरण गरिएको हो।



