धवलागिरी अस्पताल भवन : तीनपटक म्याद थप्दा पनि अधुरै

हिमाल प्रेस १७ पुष २०८२ १४:१२
14
SHARES
धवलागिरी अस्पताल भवन : तीनपटक म्याद थप्दा पनि अधुरै

म्याग्दी- तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब ६ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका-७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ।

तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणको बाँकी ६ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौती छ। गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सुरु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार एकाइ सभापति तेजेन्द्र थापाले बताए।

भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको उनले गुनासो गरे।

भवन निर्माणका लागि २०७८ वैशाखमा निर्माण कम्पनीले ४ करोड ७९ लाख ४० हजार ३३४ मा धवलागिरी गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

पाँच शय्या क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो। आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टा-छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री भवन बनाउन लागिएको हो।

धवलागिरी गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको उक्त योजनाको तेस्रो पटक थप भएको म्याद आगामी असार महिनासम्म छ। मुख्य भवनको ढलान सकिए पनि फिनिसिङको काम सुरु भएको छैन।

धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले ताकम आधारभूत अस्पताल भवनका ठेकेदारलाई काममा फर्काउन ताकेता गरिएको बताए। ‘आर्थिक वर्षको अन्तिम तिर आउने ठेकेदार अन्य समयमा सम्पर्कविहीन हुन्छन्,’ उनले भने, ‘बैंक धरौटी जफत र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने विषयमा कार्यपालिकामा छलफल चलाएका छौ।’

निर्माण कम्पनीका प्रतिनिधि दीपक अदैले बर्खायाममा ढुवानी र प्रतिकूल मौसमका कारण रोकिएको अस्पताल भवन निर्माण कार्यलाई केही दिनमै सुरु गराउन मजदुर, निर्माण सामग्री ल्याएर आउने प्रतिबद्धता जनाए।

भवन निर्माणको सुरुवातमा स्थानीय समस्याले गर्दा ढिलाइ भए पनि संघीय सरकारले पठाउने बजेट अनुसारको काम गर्दै आएको उनको भनाइ छ। सरकारले भुक्तानीको लागि बजेट उपलब्ध गराउन सके चालु आवमै भवन सम्पन्न गर्ने अदैले बताए।

२०७७ पुस २२ गते तत्कालीन प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले भवन शिलन्यास गरेका थिए। संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो। -रासस

प्रकाशित: १७ पुष २०८२ १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast