चितवनमा स्क्रब टाइफसका बिरामी घट्दै

हिमाल प्रेस २९ मंसिर २०८२ २१:२६ | Monday, December 15, 2025
6
SHARES
चितवनमा स्क्रब टाइफसका बिरामी घट्दै सांकेतिक तस्बिर

चितवन- गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या घटेको छ। गत आर्थिक वर्षको मङ्सिरसम्म ५३८ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो। यस आर्थिक वर्षको सोही समयमा ४२६ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालय प्रमुख निर्मल घिमिरेका अनुसार गत आवको साउनमा ४५, भदौमा १२७, असोजमा १४३, कात्तिकमा १२७ र मङ्सिरमा ९६ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो। यस आर्थिक वर्षको साउनमा ७१, भदौमा ६५, असोजमा १२१, कात्तिकमा १२४ र मङ्सिरमा ५४ जनामा यो रोगको सङ्क्रमण देखिएको घिमिरेले बताए।

मौसममा आएको परिवर्तनसँगै यो रोगको सङ्क्रमण विस्तारै घट्दै जाने उनले जानकारी दिए। उनले भने, ‘विशेष गरी गर्मी मौसममा बढी सङ्क्रमण फैलने यो रोग अब घट्दै जान्छ। गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ।’

मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्छ। खेतबारीमा एवं विशेष गरी घर बाहिर काम गर्ने व्यक्तिमा यो रोग लाग्ने उनले जानकारी दिए।

यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ। किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ। यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने र पेट दुख्ने लक्षण देखिन्छ। सङ्क्रमण घटे पनि जाडो समयमा समेत बिरामी फाट्टफुट्ट भेटिने क्रम भने जारी रहेको उनको भनाइ छ।

प्रकाशित: २९ मंसिर २०८२ २१:२६ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast