पोखरा– फोनिज गण्डकी प्रदेशले ‘निट पत्रकारिता पुरस्कार’ बाट भरत कोइरालालाई सम्मान गरेको छ।
निट डेण्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित समारोहमा पोखराका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई २५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।
मेयर आचार्यले जताततै खत्तम देखिरहेको समाजमा जनतालाई सही सूचना सम्प्रेषण गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताए। साथै, उनले पुरस्कृत पत्रकार तथा निट डेन्टलका सम्मानित व्यक्तित्वलाई बधाई दिए।
प्रतिभा छनोटका लागि फोनिजका संघीय सचिव एमबी आस्था मगरको संयोजकत्वमा समिति गठन गरिएको थियो। सदस्यमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापामगर थिए।
फोनिज गण्डकीले सञ्चालन गर्ने गरी कम्पनीले पत्रकारिता पुरस्कारका लागि गत साता ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो। उक्त पुरस्कार वार्षिकरुपमा प्रदान गरिने फोनिज गण्डकी उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन) ले बताए।
स्याङ्जा पुतलीबजारका कोइराला हाल समाधान न्यूजमा सम्पादक छन्। २०५९ सालदेखि काठमाडौंमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरुवात गरेका उनी २०६५ देखि पोखरामा क्रियाशील छन्। पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर उनी पत्रकारिता पनि पढाउँछन्।
यसअघि, उनी पोखरा आर्थिक पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार र रोयल पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, पुरस्कृत व्यक्तित्व कोइराला, प्रतिभा छनोट समित संयोजक एमबि आस्था,निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन), फोनिज गण्डकी अध्यक्ष खीमा गुरुङ, महासचिव सुरज थापामगरले बोलेका थिए।



