कांग्रेसमा उम्मेदवार छनोट : कतै निर्देशन उल्लंघन, कतै गुटगत सिफारिस

विनोद परियार २६ मंसिर २०८२ १७:१०
20
SHARES
कांग्रेसमा उम्मेदवार छनोट : कतै निर्देशन उल्लंघन, कतै गुटगत सिफारिस

बुटवल– लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसमा उम्मेदवार सिफारिसमा गुटको प्रभाव छताछुल्न पोखिएको छ। फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशका क्षेत्रीय समितिहरूले धमाधम उम्मेदवार सिफारिस गरेका हुन्।

कतै केन्द्रीय तहका नेताहरूको नाम सिफारिस गरेर गुट प्रस्ट्याउने प्रयत्न भएको छ भने कतै एकलौटी निर्णय गरेर निषेध गरेको आरोप लागेको छ। नेपाली कांग्रेस रोल्पाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार घोषणा गरेका महामन्त्री गगन थापालाई प्रतिनिधिसभातर्फ नाम सिफारसि गरिएको छ।

महामन्त्री थापासँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा. मन्दीप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ। कांग्रेस लुम्बिनीका सभापतिसमेत रहेका अमरसिंह पुनकै जोडबलमा महामन्त्री थापालाई उम्मेदवार सिफारिस गरिएको हो। पुन पछिल्लो समय थापा गुटमा खुलेका छन्।

केन्द्रीय राजनीतिमा निकै प्रभाव जमाउने रूपन्देहीमा एकलौटी नाम सिफारिस भएको भन्दै संस्थापन र इतर समूहले छुट्टाछुट्टै नाम सिफारिस गरेका छन्। रूपन्देही र कपिलवस्तुको विवाद सतहमा पोखिएको छ।

पछिल्लो समय लुम्बिनीमा पार्टी सभापति शेरबहादुर देउवा, शेखर कोइराला र गगन-विश्वप्रकाश गुट झाँगिँदै गएको छ। जसका कारण उम्मेदवार सिफारिस गर्न क्षेत्रीय समितिलाई निकै असहज भएको छ। क्षेत्रीय समितिले गुटका कारणले इच्छा व्यक्त गरेकाहरूको नाम जिल्ला समितिलाई पठाएका छन्।

रूपन्देही निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ पूर्वअर्थ राज्यमन्त्री भरतकुमार शाहको नाम एकल सिफारिस भएको भन्दै संस्थापन इतरपक्षले अर्को नाम पनि सिफारिस गरेको हो। संस्थापन इतर पक्षहरूले युवा नेता विष्णु पोखरेलसहित तीनजनालाई उम्मेदवार सिफारिस गर्दै उक्त जानकारी पार्टी केन्द्रीय कार्यालयलाई पठाएको छ।

उम्मेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित गराउनुपर्ने कांग्रेस विधानमा उल्लेख छ। भरत शाह पक्षले आफूहरूलाई उपस्थित नगराई शाहको नाम एकलौटी सिफारिस गरिएको आरोप इतरपक्षको छ।

‘प्रतिनिधिहरूलाई खबर नगरी आफू अनुकूलको मान्छेलाई राखेर गरिएको निर्णय मानिँदैन’, युवा नेता विष्णु पोखरेलले भने, ‘नेपाली कांग्रेस पार्टीलाई भरत शाहले कम्पनी जस्तो गराउन खोज्नुभयो, त्यसैले अर्को सिफारिस गएको छ।’ नेता पोखरेलले अरु केही होइन, केही पनि होइन भन्ने सोचका साथ शाह पक्षले निषेध गरेकाले आफूहरूले केन्द्रीय कार्यालयमा अर्को नाम पठाएको बताए।

क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले आफूसमेत जानकारी नगारिक सिफारिस गरेको आपत्ति प्रकट गरे। उनका अनुसार आफूहरूले युवा नेता विष्णु पोखरेलसहित महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सचिव कमलप्रकाश भुसाल र महाधिवेशन प्रतिनिधि लीलाकुमारी पौडेललाई सिफारिस गरिएको छ। उनीहरूलाई सिफारिस गर्नेहरूमा क्षेत्रीय सचिव कृष्णप्रसाद शर्मा, क्षेत्रीय सहसचिव हरिप्रसाद घिमिरे, सहसचिव चिरञ्जिवी खनाललगायत छन्।

यस्तै महासमिति महाधिवेशन प्रतिनिधिहरू विष्णुप्रसाद पोखरेल, शेषमन यादव, महाधिवेशन प्रतिनिधिहरू शारदा गौतम, चामबहादुर थापा, खिमानन्द खनाल, हुमनाथ अधिकारी, दिलमाया कँडेललगायतले उम्मेदवार सिफारिसमा हस्ताक्षर गरेका छन्। क्षेत्रका जिल्ला समिति सदस्यहरू, पालिका सभापतिहरूले पनि पोखरेलका पक्षमा हस्ताक्षर गरेका छन्।

नेपाली कांग्रेस क्षेत्रीय सभापति बसिउल्लाह मुसलमानले बैठकमा शाहको नाम मात्र प्रस्ताव आएको र कसैले शाहको नाममा विरोध नगरेकाले एकल सिफारिस गरिएको बताए।
नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन ठाउँठाउँमा उम्मेदवार सिफारिसमा असन्तुष्टि देखिए पनि व्यवस्थापन गर्न सकिने बताउँछन्। ‘अलि–अलि गुटको असर परेको होला, समग्रमा इच्छा व्यक्त गरेकाहरूको नाम छुट्दैन’, पुनले भने।

उनले क्षेत्रले नाम छुटाएको अवस्थामा जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म नाम सिफारिस गर्ने ठाउँ रहेकाले उम्मेदवार हुन चाहनेहरूको मूल्यांकन हुने दावी गरे। ‘योग्य र जनताबीच लोकप्रिय उम्मेदवार छुटदैनन्’, उनले भने।

रूपन्देही १ बाट प्रदेश सांसद सिफारिस

रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रको परिपत्रविपरीत अब्दुल रज्जाक उम्मेदवार सिफारिस भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयले प्रदेशसभा सदस्यलाई उम्मेदवार सिफारिस नगर्न परिपत्र जारी गरे पनि बहालवाला सांसद रज्जाकलाई सिफारिस गरेको हो। मंगलबार बसेको क्षेत्रीय समितिले प्रत्यक्षतर्फ रज्जाकसहित, हीरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कँडेलको नाम सिफारिस गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले मंसिर १८ गते परिपत्र गर्दै प्रदेशसभाका सदस्यमा बहाल रहेकालाई उम्मेदवार सिफारिस नगर्न भनेको थियो। ‘प्रदेशसभामा हाल बहाल रहनुभएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा लेखिएको छ। परिपत्रविपरीत पार्टीका पूर्व जिल्ला सभापति र बहालवाला केन्द्रीय सदस्य रज्जाक आफ्नो जोडबलमा सिफारिस भएका हुन्। रज्जाक २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा रूपन्देही १ (ख) बाट निर्वाचित छन्।

यस्तै क्षेत्र नम्बर १ बाट समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको गरिएको खत्रीले बताए।

रूपन्देही ३ बाट खाणसहित ६ जना सिफारिस

रूपन्देही–३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय कार्य समितिको मंगलबार बसेको बैठकले प्रत्यक्षतर्फ खाणसहित रामचन्द्र ढकाल, विमल ढकाल, सुशील गुरुङ, रमेश खनाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको छ।

समानुपातिकतर्फ जन्नतुन निशा धुनिया, पुष्पा थरुनी र माधवी शर्मालाई सिफारिस गरिएको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए।

रूपन्देही २ बाट पुराना नेतादेखि युवा पुस्ताका अनुहारसम्मको नाम सिफारिस भएको छ। क्षेत्रिय समितिले प्रतिनिधिसभातर्फ युवराज गिरी, प्रकाश राना, चुन्नप्रसाद पौडेल, दीर्घ बहादुर केसी (कुमार) प्रजापाल गिरी, शरद भट्टराई, मुक्तिराम शर्मा पौडेल, रीता केसी क्षेत्री, सुदीप शर्मा सहित ९ जनाको नाम सिफारिस गरेको हो। यसैगरी २ बाट समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ।

क्षेत्रगत रूपमा छलफल गरेर जिल्ला समितिलाई आफूहरूले बन्दसूचीको नाम पठाइएको रूपन्देही क्षेत्र न. २ का क्षेत्रीय सभापति प्रजापाल गिरीले बताए। उनले आफूहरूले केन्द्रीय निर्देशनअनुसार क्षेत्रीय समितिले महाधिवेशन महासमिति सदस्य, प्रदेश अधिवेशन प्रतिनिधि, क्षेत्रिय कार्यसमितिलाई राखेर निर्णय गरेको बताए। ‘हाम्रो क्षेत्रमा विवादरहित रूपमा उम्मेदवार बन्न इच्छा व्यक्त गरेकाहरूको नाम जिल्ला समितिलाई पठाइएको छ’, उनले भने।

क्षेत्र नम्बर ४ बाट भने प्रमोद यादवको एकल सिफारिस भएको छ। यादव यसअघि पनि उम्मेदवार थिए भने २०७४ को निर्वाचनमा विजयी भएका थिए।

कपिलवस्तुमा पनि विरोध

कपिलवस्तुमा भने उम्मेदवार सिफारिसमा चुनाव लडेका नेताहरूको नाम परेको छैन। तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा २०४८ सालदेखि नेतृत्व गर्दै आएका दीपकुमार उपाध्याय सिफारिस भएनन्। उनका छोरा आशीष शर्मालाई अगाडि सारिएको छ।

यसैगरी अतहर कमाल मुसलमान, क्षेत्र नम्बर ३ बाट २०७९ सालको निर्वाचनमा जितेका अभिषेक प्रताप शाह पनि सिफारिस भएनन्। यसले कांग्रेस कपिलवस्तुमा असन्तुष्टि देखिएको छ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि आशीष शर्मा, शक्तिसिंह ठकुरी र ध्रुव नेपालको नाम जिल्ला कार्यसमितिमा सिफारिस पठाइएको क्षेत्रीय सचिव विजय खनालले जानकारी दिए।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ आचार्यसहित गोपीकृष्ण शर्मा, विक्रमसिंह थापा र रवीन्द्रनाथ ठाकुरको नाम सर्वसम्मतिले सिफारिस गरिएको छ। क्षेत्र नम्बर नम्बर ३ मा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार कनौडियाको एकल नाम सिफारिस भएको छ।

समानुपातिक उम्मेदवारका लागि ब्रह्मानन्द उपाध्याय, अखिल मिया र तारा चौधरीको नाम जिल्ला कार्यसमितिमा पठाइने निर्णय भएको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले अलोकतान्त्रिक ढंगले वीरेन्द्रकुमार कनौडियाको मात्र एकल नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस गरेको भन्दै कांग्रेस नेता अभिषेकप्रताप शाहले नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

प्रकाशित: २६ मंसिर २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast