नेताले केही गरेनन् भनेर भ्रम छरियो : माधव नेपाल

हिमाल प्रेस २६ मंसिर २०८२ ५:५६ | Friday, December 12, 2025
14
SHARES
नेताले केही गरेनन् भनेर भ्रम छरियो : माधव नेपाल फाइल तस्बिर

बाँके- पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूले विकास निर्माण एवं जनताका पक्षमा केही पनि काम गरेनन् भनेर भ्रम सृजना गरिएको बताएका छन्।

नेपालगन्जमा बिहीबार आयोजित बाँके जिल्लास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले आफूहरू सरकारमा रहँदा देश र जनताका पक्षमा उल्लेख्य काम गरेको भए पनि त्यस्ता राम्रा र विकासका कामलाई दबाउने गरी जनतामा भ्रम सृजना गरिएको आरोप लगाए।

‘हिजोसम्म भन्दै थियौँ, कहिले नेकपा (एमाले), कहिले माओवादी, कहिले त समाजवादी। अब हामीले यसको नाम ‘नेपाली कम्युनिस्ट पार्टी राखेका छौँ। यो पार्टी नेपालको राजनीतिमा चम्किलो ताराजस्तै चम्किरहेको छ’, उनले भने,‘यो पार्टीले अब गरिब, विपन्न समुदायका लागि थुप्रै काम गर्नेछ।’

सहसंयोजक नेपालले त्याग, तपस्या र बलिदानको परीक्षामा उत्तीर्ण भएकाहरूले नै देशको नेतृत्व गर्न सक्ने बताए। जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै समाजवाद भएको उनको भनाइ छ।

२०६६ मा आफू प्रधानमन्त्री हुँदा ‘जनता आवास कार्यक्रम’ ल्याएको स्मरण गर्दै नेता नेपालले भने,‘जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्नु नै हाम्रो पार्टीको मुख्य उद्देश्य हो, जसको घर छैन, उसलाई सरकारले घर दिनुपर्छ भन्ने निर्णय गर्ने प्रधानमन्त्री म नै थिएँ।’

आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै नेता नेपालले नयाँ नेपालको सपना बोकेर अगाडि बढ्न सबैलाई आग्रहसमेत गरे।

प्रकाशित: २६ मंसिर २०८२ ५:५६ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast