एमालेभित्र निरंकुशता उत्कर्षमा पुगेको छ : विद्यादेवी भण्डारी [अन्तरवार्ता]

चन्द्रशेखर अधिकारी २२ मंसिर २०८२ २२:३१
26
SHARES
एमालेभित्र निरंकुशता उत्कर्षमा पुगेको छ : विद्यादेवी भण्डारी [अन्तरवार्ता]

पूर्वराष्ट्रप्रमुख विद्यादेवी भण्डारी यतिबेला नेपालको राजनीतिक चर्चामा रहेको नाम हो। नेपालकी प्रथम महिला राष्ट्रपति तथा प्रथम महिला रक्षामन्त्रीभन्दा पनि उनी दलभित्र प्रवेश गरेर सक्रिय हुने विषय र दलको शीर्ष नेताले सदस्यता नवीकरण नगरेर राजनीतिक जीवन कुण्ठित गर्ने विषयले उनको चर्चा थप चुलिएको हो। नेकपा (एमाले) की वरिष्ठ नेतृका रूपमा लामो समय सक्रिय भण्डारीले महिला अधिकार, समावेशीकरण र लोकतन्त्र सुदृढीकरणमा योगदान दिइन्। दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्दै संवैधानिक स्थिरता, राष्ट्रिय सुरक्षा र सन्तुलित कूटनीतिमा विशेष ध्यान दिइन्। कार्यकाल सकिएपछि पनि उनले पार्टीको साधारण सदस्यता नवीकरण गरिन्। तर उनको दलको नेतृत्व व्यक्तिगत रूपमा उत्रेर भएको नवीकरण पनि रद्द गरे। योसँगै उनको भावी योजनाबारे सबैको चासो देखिएको छ। विद्यार्थीकालदेखि एमालेमा सक्रिय उनी २०५१ सालमा संसदीय राजनीतिमा सक्रिय भएकी भण्डारी २०५४ र २०६४ मा काठमाडौँमा प्रत्यक्ष निर्वाचित र २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनिन्। २०६८ मा महिला रक्षामन्त्री रहेकी भण्डारी २०७२ कात्तिकमा नेपालको दोस्रो र पहिलो महिला एवं विश्वकै २६औँ महिला राष्ट्रपति बनिन्। २०७४ फागुनमा दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित भई २०८० फागुनसम्म राष्ट्र प्रमुखको भूमिकामा रहिन्। संवैधानिक स्थिरता, राष्ट्रिय सुरक्षा, नेपाल-भारत-चीनसँग सन्तुलित कूटनीति तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थितिलाई विशेष ध्यान दिएकी उनीसँग एमालेको महाधिवेशनको सरगर्मीबीचमा हिमालप्रेसका चन्द्रशेखर अधिकारीले गरेको संवाद :

राजनीतिमा सक्रिय हुन नदिन आफू रहेको दलको नेतृत्वसहितको एक गुट लागेपछि यहाँको दैनिकी कसरी बितिरहेको छ?

हिमालप्रेस टिम र यहाँलाई धेरै धन्यवाद छ। यहाँको माध्यमबाट केही कुरा राख्ने मौका जुराउनुभयो यसका लागि धन्यवाद र प्रगतिको शुभकामना! अहिले त मेरो राष्ट्रपतिको कार्यकाल सकिएको पनि दुई वर्ष बित्न लागेको छ। हामी सुरुदेखि जनसम्पर्कमा काम गरेको हुनाले बढीचाहिँ हाम्रो जनसम्पर्कमा हुने र समय पनि त्यसमा बित्ने रहेछ। जिल्लाबाट आएका र यहाँका साथीभाइ, मित्रहरू, समकालीनसँग भेटघाट हुने रहेछ। साथै विषयगत बुद्धिजीवीहरूसँग पनि बस्ने नयाँ कुरा सुन्ने मेरो पुरानै बानी हो। यसमा म सक्रिय छु। सबैलाई समय मिलाएको छु। हामी सामाजिक काममा रमाउने हुनाले होला अलिक भेटघाटमा बढी समय बित्ने रहेछ। बचेको आफ्नो नियमित कुरा त भई नै हाल्यो। यसका साथसाथै समसामयिक र परिस्थितिबारे अलिकति अध्ययन, कता के भएको छ यसो बुझ्नपर्‍यो। समाचार हेर्नैपर्‍यो। कुनै पुस्तकहरू अध्ययन गर्ने। चिनेजानेका साथीहरूले लेखेको पुस्तक पनि हेर्ने। मुलुकको इतिहास र संस्कृतिमा अभिरुचि हुँदा त्यस्ता पुस्तक पढ्ने र डकुमेन्ट्री हेरेर पनि समय बित्ने रहेछ। समय बितिरहँदो रहेछ, दिनको २४ घण्टाले पनि नपुग्ने। समय सधैँ अभाव छ। समय कस्तो रहेछ भने कताकति अभाव कताकति फुर्सद पनि जस्तो। तर सधैँ अपुग।

पछिल्लो समय बुद्धिजीवी र साथीहरूसँगको भेटघाटमा बढी समय गएको महसुस गर्नुभएको हो?

बुद्धिजीवी व्यक्तित्वसँग र साथीहरूसँग बसेर गफिएको अनि नयाँनयाँ विषयमा गरेका बहसले समय बितको पत्तै नहुने रहेछ। यसमा म रमाउँछु पनि। अध्ययन गर्ने र त्यसमा बहस र छलफलका लागि विद्वत्‌वर्गसँग बस्छु। उहाँहरूको कुरा सुन्छु। आफ्नो कुरा पनि राख्छु। यो मेरो दैनिकीको एक पाटो हो।

समयका विषयमा कुरा गर्दा यहाँको तीन प्रकारको समय अवस्था राष्ट्र प्रमुख हुनुअघिको दिनचर्या, राष्ट्रपति हुँदा र भइसकेकपछिको अहिलेको दिनचर्या दाँज्दा कस्तो लागेको छ?

मैले समयका बारेमा यसरी त सोचेको थिइनँ। तर यहाँले फरक ढंगले सोधिदिनुभयो। धन्यवाद! मेरो समय एकनासले गएझैँ लाग्छ। राष्ट्रपति हुँदा भने केही औपचारिक कुरा भए होलान्। राज्यसँग सम्बन्धित काम भए होलान्। केही मर्यादाभित्र रहनुपर्‍यो। त्यो एक जिम्मेवारीको फरक क्षण थियो। अन्य अवस्थामा हिजो र आज एकनास ढंगले बितेको छ। राष्ट्रपति हुँदा भने एउटा सीमा, शिष्टाचारभित्र थप जिम्मेवार ढंगले रहनुपरेको थियो। अहिले भने म अलिक फुर्सद भएँ। अनि राजनीतिमा सक्रिय हुन्छु भनेर लागेकी हुँ। जिम्मेवारी पूरा गर्ने कुरामा म पदमा रहँदा र नरहँदा फरक हुँदैन। म दृढ छु। यहाँले मलाई त्यो दाँज्ने कुरा देखाउनुभएकाले यो अहिले मैले भनेको हुँ। जिम्मेवारीमा हुँदा र बाहिर बस्दा केही फरकपन त होला तर मैले सोचेको मेरो अभिभारा मुलुक र नागरिक हुन्। त्यसमा म कतै अलमलिने छैन। मलाई फुर्सद भएँ, मेरो जिम्मेवारी पूरा भयो भन्ने लाग्दैन। म बाँचुन्जेल सक्रिय हुनेछु। म कुरा फेर्ने र छक्याउने काममा कहिल्यै लाग्ने व्यक्ति होइन। त्यो मेरो परिवारले दिएको संस्कार पनि होइन।

राजनीतिमा सक्रिय हुन यहाँले विद्यालय पढ्दैदेखि संलग्न दलले रोकेको अवस्था छ। अब राजनीतिमा कसरी सक्रिय हुने अनि यहाँ आफैँ राजनीतिमा आउँदा त्यो दल र मुलुकलाई के फरक हुन्छ?

हो, म सानै उमेरदेखि राजनीतिमा सक्रिय थिएँ र छु। पार्टी एउटा संगठन हो। संगठित भएर काम गर्ने र बाहिर बसेर काम गर्ने कार्य फरक हुन्छ नै। हिजो जुन उद्देश्य लिएर हिँड्यौँ। त्यहीअनुरुपको काम गर्दै आएकी छु। राष्ट्रपतिको कार्यकाल सकिएपछि पार्टीमा सक्रिय भएर योगदान गर्न सकिन्छ भन्ने हो। सक्रियता त जहाँ बसेर हुन सकिन्छ। आफूले पूरै जीवन बिताएको दलभित्र रहेर थप सक्रिय हुँदा आफ्नो अनुभव यहाँ काम लाग्ने मात्र होइन मुलुक र जनताका लागि थप केही गर्न सकिन्छ कि भन्ने हो। दलभित्र रहेर समयक्रममा प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएँ। राष्ट्रपतिको जिम्मेवारी पनि त्यहीमध्ये एक थियो। राजनीतिक सक्रियता व्यक्तिगत कुरा पनि हो। त्यो आफू समर्पित दलबाट बढी अपेक्षा हुन्छ। त्यहाँ काम गर्न पाएमा थप गर्न सकिन्छ भन्ने मैले राष्ट्रपति हुँदा देखेकी छु। राष्ट्रपति कार्यकाल सकिएपछि पार्टीमा नै संगठित भएर काम गर्दा थप काम गर्न सकिन्छ भन्ने हो। अन्य त के छ र मेरा लागि?

मेरो सदस्यता रोक्न जरुरी थिएन। म वरिष्ठ पार्टी सदस्य हुँ। म ३७ सालदेखि पार्टी सदस्य छु। नवीकरण पनि भइसकेको छ। यस्तो अवस्थामा कसैलाई पनि राजनीतिक जीवनबाट कुण्ठित गर्नु राम्रो कुरा होइन।

राष्ट्र प्रमुख भइसकेकाले सामाजिक कामबाट पनि त आफ्नो सक्रियता देखाउन सक्नुहुन्छ नि?

एकदमै हो। म सामाजिक काम पनि संलग्न छु। एउटा व्यक्तिले सबै काम त गर्न सक्दैन तर सीमित क्षेत्रमा रहेर काम गर्ने हो। पार्टीबाहिर पनि धेरैले सक्रिय रूपमा काम गरिरहेका छन् र उहाँहरूले सक्नु पनि भएको छ। सामाजिक आर्थिक मात्र होइन, स्वास्थ्य, शैक्षिक र सांस्कृतिक क्षेत्रमा काम गर्न सकिन्छ। एकै व्यक्तिले ती सबै काम गर्न सक्दैन। फरकफरक काम फरकफरक पात्रबाट हुन्छन्। तर राजनीतिक दलमा सक्रिय हुँदा ती सबै काम एकै स्थानबाट गर्न सकिन्छ। हिजो आफू संगठित भएको पार्टीबाट गर्न पाए थप सहज हुने थियो भन्ने मेरो कुरा हो। यही काम गर्न आफ्नो पार्टीमा सक्रिय हुने भन्नेमा थिएँ। त्यही रुचिअनुरुप छु। काम गर्न सकिन्छ। म दलमा पर्कँदा अनुभवी व्यक्ति दलबाट केही गर्ने सोचसहित आएको भन्ने सोच राख्नुपर्ने देखिन्छ। यसलाई अन्यथा लिन मिल्दैन होला। राजनीति गर्ने भनेको व्यक्तिगत इच्छा पनि हो। त्यही पार्टीबाट राष्ट्र प्रमुखको जिम्मेवारीमा पुगेको र अहिले फेरि फर्किएर त्यहाँबाट केही गर्ने भन्ने नै त हो। यसलाई अनेकन् तरहसँग सोच्नुपर्ने देख्दिनँ। सबैले आफ्नो रुचिअनुरुप नै काम गर्ने हो। आफ्नो जुन क्षेत्रमा रुचि छ त्यसमा काम गर्ने हो। मलाई दलमा रहेर काम गर्न रुचि भएकाले आएकी हुँ। मेरो जीवनका लागि त्योभन्दा माथि जाने पद नै के छ र?

यसरी रुचि राख्दा त पार्टी नेतृत्वले यहाँलाई स्वागत गर्नुपर्ने होइन र ? 

यसलाई मैले अवसरका रूपमा लिएकी छु। यस्तो होला भनेर सोचेकी थिइनँ। अहिले यस्तो हुँदा के हुन्छ भनेर सोचेकी छु। मैले त के आशा गरेकी थिएँ भने सदस्यता नवीकरण गरेपछि उहाँहरूले हार्दिक स्वागत गर्नुहुन्छ। एउटा राम्रो वक्तव्य जारी गरेर स्वागत गर्नुहुन्छ। वरिष्ठ नेताहरूलाई बोलाएर पार्टी कार्यालयमा बोलाउनु होला भन्ने आशा गरेकी थिएँ। त्यो आशाअनुरुप हुने विश्वास पनि थियो। किनभने म सक्रिय हुने कुरा गर्दा त उहाँहरूले ठिक छ पनि भन्नुभयो। तर पछि त्यसमा खै के भयो नेतृत्वले आफूलाई खतरा महसुस गर्नुभयो कि थाहा भएन। कसको मनको कुरा कसरी थाहा पाउने? एकाएक परिवर्तन भएझैँ अनेकन कुरा बोल्नुभयो। पहिला बोलेको र पछि बोलेका कुराहरु यहाँहरूले नै मिडियामा राख्नुभएकै छ म के भनुँ यसमा?

यहाँसँग कुरा गर्दा यहाँको जीवनसाथी एवं स्वर्गीय नेता मदन भण्डारी जोडिनुहुन्छ। कतै यहाँको दलले जबज (जनताको बहुदलीय जनवाद) को कुरा अघि बढ्छ भनेर यहाँलाई रोकेको त होइन?

यहाँले यो विषय उठाउनुभयो। एमाले त म आबद्ध भएको दल हो। अरू दललाई पनि मैले नियालिरहेकी छु। राष्ट्रपति हुँदा मैले सबैलाई व्यहोरेको र बुझेकी छु। नेताहरूले दलको सिद्धान्त र भावनाअनुरुप काम गरेको छु कि छैन भनेर मूल्यांकन पनि गर्नुपर्छ। यसमा निरन्तरता दिनुपर्छ। पहिलापहिला कुनै निर्णय गर्नुअघि विषयमा अनिवार्य फरकफरक कोणबाट बहस हुन्थ्यो। के सन्दर्भमा काम गर्ने विषय हो। अनि त्यसको साथै राष्ट्रिय परिस्थिति, मुलुकको अर्थिक अवस्था, अन्तर्राष्ट्रिय परिवेश कसरी गएको छ। यसमा अधिक बहस भएर यो कारणले ठिक छ भनेर बल्ल निधो गरिन्थ्यो। अनि गलत हुँदा यसमा आलोचना, आत्मालोचना र सांस्कृतिक कार्यक्रम गरेर समाधान हुने गरेको थियो। अहिले सबै हराएको छ। एमालेले पनि पार्टीको सिद्धान्तअनुरुप व्यावहारिक ढंगले काम गरेको छ कि छैन? एमालेजनले सोच्नुपर्ने अवस्था छ।

नेपालका प्रमुख दलहरूमध्ये एक हो एमाले। मलाई दुःख लागेको छ, एमाले दुईपटक विभाजनमा गयो। यो एमालेको ठूलो दुर्घटना हो। पहिलो दुर्घटना २०५४ मा र पछिल्लो २०७७ सालमा भयो। पछिल्लो दुर्घटना रोक्न मैले सकेको प्रयास गरेँ तर सफल भइनँ। त्यही दुर्घटनाका कारण पछिल्लो नेतृत्वमा सर्वासत्तावाद बढेको छ। त्यसैले मैले भन्ने गरेकी छु– घर छाडेर जानेहरूले एमालेमा यस्तो अवस्था आउँछ भनेर सोच्नुपर्ने थियो।

त्यसभित्रका लिडर र क्याडरहरुको सहकार्य छलफलको कुरा हुन्छ। हामीले समयसमयमा समीक्षा गर्नुपर्छ। जे पनि राम्रो गरेको छ भनेर प्रशंसा मात्र गर्ने होइन। कमजोरी कताबाट भएको छ? के भएको छ त्यो सोच्न आवश्यक छ। कमीकमजोरी सच्याउनु पनि पर्छ। कसैले नसच्याए सच्याउन लगाउन क्याडरहरू लाग्नुपर्छ। विषय तयार भएपछि चार पाँचवटा विभिन्न पक्षमा रहेर अनिवार्य बहस गरेर जानुपर्छ। तानाशाही ढंगले जानुहुँदैन। त्यसो भए त मुलुकमा लोकतन्त्रै किन आवश्यक भयो र? दलमा एक व्यक्तिको छाया पर्याप्त हुने भयो भने। विश्व कता गएको छ? हाम्रो परराष्ट्र नीतिअनुरुप काम भएको छ कि छैन? त्यसमा छलफल हुनुपर्छ। हामीकहाँ यी विषयमा कमी देखिएको छ। हामी सबै तत्कालीन अवसरमा केन्द्रित हुँदै गएका छौँ। दिगो शान्ति दिगो विकासमा हामीले ध्यान दिएको देखिँदैन। व्यक्तिगत स्वार्थमा केन्द्रित भइरहेको छ। हुन त यो अहिले आमप्रवृत्ति भइरहेको छ। म उच्च तहमा बसेर काम गरेकाले राष्ट्रिय आकांक्षा माथि उठाउने बाहेकको सोच छैन, हाम्रो नीति सिद्धान्त र दर्शनअनुसार पार्टीलाई अघि बढाउन मद्दत गर्नुपर्छ। त्यसरी नै हो पार्टी सुध्रिने।

यहाँको उद्देश्यचाहिँ पार्टीलाई सुधार गरेर अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो बनाउँदै मुलुकलाई पनि अघि बढाउँछु भन्ने हो?

बढी राष्ट्रिय र सामाजिक हिसाबले पार्टीलाई अघि बढाउनुपर्छ भनेर लागिरहेकी छु। दलमा निकै ह्रास आइरहेको छ। हामी लोकतान्त्रिक विधिमा अघि बढ्नुपर्छ। त्यसभन्दा बाहिर गएर विश्व परिवेशमा घुलमिल हुन सहज छैन। त्यही हो जबजको मूलमर्म पनि। हामी सामूहिक रुपमा अघि बढ्ने सोच राख्ने सचेत प्राणी हौँ। त्यसैले सामूहिक प्रणालीमा पनि हामी एक भएर जानुपर्छ भन्ने मेरो सोच छ र रहन्छ। हो, दलभित्र प्रतिशपर्धा हुन्छ नै। स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्न दिनुपर्छ। म नै दल हुँ र म नै मात्र योग्य छु भन्ने सोच कसैले राख्न हुँदैन। सबैसँग समन्वय गरेर पार्टीलाई अघि बढाउनुपर्ने हुन्छ। व्यक्तिको स्वार्थका कारण पार्टीलाई कमजोर बनाउनु भनेको अपराध गर्नु हो। दल र मुलुकका लागि एक प्रकारको गद्दारी हो। यसलाई शान्त भएर सोच्नुपर्छ। म दलमा फर्केर सक्रिय हुने विषय यसमा नै जोडिएको छ। दललाई माथि उठाउने मात्र होइन राजनीतिक परिवेशअनुरुपको दल बनाउन सबैसँग सहकार्य गर्ने मेरो उद्देश्य छ।

यहाँ सक्रिय रहने भनेको दलमा महाधिवेशनको चटारो छ। तर त्यहाँ त यहाँले समर्थन गर्नुभएको व्यक्ति हराउन तल्लो निकायदेखि नै सूची बनाउन थालेको चर्चा पो छ। यसलाई कसरी लिनुभएको छ?

यहाँले यो विषय उठाइहाल्नुभयो। यो नेताहरूले आफू पक्षधरलाई जिताउन एक स्थानमा उभ्याउन सूची बनाउन सक्छन्। तर प्रमुख नेताले सूची बाँड्नु र निर्देशन जारी गर्नु भनेको दलभित्र निरंकुशता उत्कर्षमा पुगेको संकेत हो। यसो गर्दा दलभित्र एकताको भावना मर्दै जान्छ। त्यही कारण अहिले दल कुन अवस्थामा पुगेको छ त्यो सोच्न आवश्यक छ। महाधिवेशन गर्ने भनेको शीर्ष तहमा मात्र होइन तलदेखि नै संगठन मजबुत र जुझारु बनाएर ल्याउनु हो। यहाँ त आफू नै रहनुपर्छ भन्ने सोचका साथ काम भइरहेको देखिन्छ। सबैलाई थाहा भएको विषय के भनिरहनु? दलभित्र प्रयास गर्दा स्वच्छ वातावरण बनाउन जाने हो। तर अहिले त्यस्तो अवस्था छैन। महाधिवेशन मातहत सबै कार्य अघि बढाउनु सान्दर्भिक हुन्छ। दुरुपयोग गर्दा दल संकटमा पर्नेछ। गुटको नेता हुने कि दलको नेता हुने भन्ने प्रश्न अहम् हो। महाधिवेशनका बारेमा म त्यति धेरै केही बोल्दिनँ। किनभने म बोल्छ अघि बढ्छ भनेर सदस्यता नवीकरण गरेर पनि रोकेका हुनाले किन यसलाई अहिले गिजोल्नु?

नयाँलाई चिन्न समय लाग्छ। लोकरिझ्याइँ र राजनीतिक कर्म फरक कुरा हो। यसमा ध्यान पुग्नैपर्छ। पुरानो दलहरूले आफूलाई सच्याउन आवश्यक छ। आमजनताको कुरा सुनेर अघि बढ्न सक्नुपर्छ। एकजना नेताले जे सोच्यो सबै जनताले त्यही सोच्छन् भन्ने होइन।

अलिक प्रसंग बदलौँ। यहाँ राष्ट्रपति रहँदा मुलुकको दुईपक्षीय सम्बन्ध थप गर्विलो बनाउन प्रयास गर्नुभएको थियो। विशेष गरी भारत र चीनसँगको सम्बन्धलाई निकै ध्यानपूर्वक अघि बढाउनुभएको देखिन्थ्यो। यहाँको सोचेको हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो होला?

हाम्रो अन्तर्राष्ट्रिय ममिलासम्बन्धी धारणा निकै अब्बल छ। हाम्रो धेरै देशसँग दौत्य सम्बन्ध कायम छ। त्यो कायम राख्न आवश्यक पनि छ। हामीले त्यही अनुरुपको व्यवहार देखाउनुपर्छ। कूटनीति कसैको आस र त्रासमा चलाउने होइन। कूटनीतिमा संयमता चाहिन्छ। अनि आफ्नो विषय राख्न निडर हुनुपर्छ। त्यो हामीमा छ र त्यसको कौशल बढाउन आवश्यक छ। म त के भन्छु भने राष्ट्रपतिको कार्यालय भनेको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न र उनीसँग दुईपक्षीय बहस गर्न बनेजस्तै महसुस गरेकी थिएँ। त्यहीअनुरुपको राष्ट्रपति कार्यालयको स्तर वृद्धि गरौँ। परराष्ट्र मन्त्रालयलाई अब्बल निकाय बनाऔँ भन्ने हो। हामीले आफ्नो पहिचान कायम राख्दै स्वाभिमानसमेत उच्च राख्दै सुदृढ गर्न अन्तरमनदेखि लाग्नुपर्छ। म त्यो निकायमा रहँदा त्यसमा कमी आउन दिइनँ होला जस्तो लाग्छ। मेरो समयमा दुवै छिमेकी मित्रराष्ट्रबाट नेपालतर्फ उच्च स्तरको भ्रमण भयो। अन्य कैयन् मुलुकबाट पनि भए। हाम्रो तर्फबाट पनि ती मुलुकमा भ्रमण भए। सरकारी मात्र नभएर ती मुलुकसँग जनस्तरको आदानप्रदान भइरहेको छ। म राष्ट्रपति हुँदा भारत र चीनबाहेक श्रीलंका, बंगलादेश, म्यानमार, कतारको भ्रमण गरेँ। त्यो समयमा भएका यस्ता गतिविधि अघि बढाउन सरकार लाग्नुपर्ने हो। किनभने सम्बन्ध र सम्झौतालाई कार्यावन्यनतिर लगिएन भने बिर्सने अवस्था बन्छ। कूटनीति भनेको सम्बन्धको निरन्तरता पनि हो। सम्बन्धमा बोलचाल र आउजाउ भएन भने बिर्सँदै जाने अवस्था बन्छ। मुलुकको सम्बन्ध पनि त्यही हो। उन्नतिका लागि सहकार्य गर्ने विषयमा प्रयास गरेकी हु।

हो, यहाँको कार्यकालमा लामो समयको अन्तरालपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नुभएको थियो। भारतबाट पनि त्यही स्तरको भ्रमण भए अनि सम्झौता भए तर कार्यावन्यन भएको पाइँदैन, यसलाई के भन्नुहुन्छ?

कतिपय प्रयास सरकारको रह्यो भने कतिपय प्रयास राष्ट्रपति कार्यालयबाट पनि भए होलान्। त्यो मुलुकका लागि भएको भित्री प्रयासको कुरा फरक हुन्। चीनबाट कार्यकारी राष्ट्रपति सी जिनपिङबाट भएको भ्रमण र सम्झौता हामीले कार्यान्वयन तहमा लैजान नसक्नु भनेको हाम्रै कमजोरी हुन आउँछ। सम्झौता कार्यान्वयनमा लैजाने जिम्मेवारी सरकारको हो। त्यसमा सचेत हुनुपर्छ। सम्झौता भएपछि छिटो कार्यान्वयन हुन आवश्यक हुन्छ। किनभने लामो बहस र छलफलपछि सम्झौताको मोडल तयार भएको हुन्छ। कार्यावन्यन नहुँदा दुवै मुलुकको समय नास हुनु हो। कार्यान्वयनको शैली फरक हुन सक्छ, सरकार परिवर्तन हुन तर कार्यान्वयन नहुनु दुःखद हो। मचाहिँ कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्छु। भएका सम्झौतालाई ढिलाइ गर्न हुँदैन। हामी जसरी अघि बढेका छौँ। हाम्रो सम्बन्धलाई अझ जोड्नुपर्छ। भारतसँग पनि हामीले गरेका कैयन् सम्झौता अलपत्र छन्। चीन र मुलुकसँग भएका सम्झौताको अवस्था पनि त्यस्तै छ। हाम्रो हित अरुले हेर्दैनन्, हामीले नै खोज्नुपर्छ। हामीले हाम्रो सम्बन्धहरू विस्तार गर्दै लैजानुपर्छ र सहकार्यमा जोड दिनुपर्छ।

कूटनीतिक सम्बन्ध विस्तारको कुरा गर्दा हामी दूतावास खोल्ने र राजदूत नियुक्तिलाई मात्रै प्राथमिकता दिन्छौँ नि?

कतिपय देशमा दूतावास पनि आवश्यक हुन्छ। त्यो सम्पर्क गर्ने कार्यालय जस्तो पनि हुन्छ। दूतावास खोलेर मात्र सम्बन्ध विस्तार हुने भए दूतावास खोलेका सबै मुलुकमा हाम्रो सम्पर्क र सहकार्य अब्बल छ त भन्ने प्रश्न पनि आउँछ। दूतावास खोल्ने भनेपछि व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्छ। दूतावास खोलेर मात्र हुँदैन। त्यहाँ के काम भइरहेको छ, अब के काम हुन्छ? हामीले गर्न सक्ने व्यापार को हो? दूतावास खोल्दा हाम्रो मुलुकलाई के हित भएको छ? अनि आगामी दिनमा के हित हुन्छ त्यो सबै स्पष्ट हुनुपर्छ। उद्योग व्यवसाय के हुन्छ त्यो पनि नियाल्न सक्नुपर्छ। राष्ट्रिय जीवन र आमनागरिकको जीवन परिवर्तन गर्न दूतावासमार्फत के भएको छ त्यो स्पष्ट पार्न सक्नुपर्छ। अहिलेको कूटनीति विकास र अर्थतन्त्रसँग जोडिएको हुन्छ। त्यसमा हामी कति केन्द्रित भएका छौँ? त्यो नियालेर मात्र हामी अघि बढ्नुपर्छ।

संसारमा राजनीतिक तरलता छ। हामी यस्तो अवस्थामा झन् अस्तव्यस्त छौँ। यस्तो अवस्थालाई कसरी नियाल्नुभएको छ?

हो, संसार यतिबेला तरल राजनीतिमा छ। हामीले संसारका विषयमा चासो राख्नुपर्छ तर आफ्नो मुलुक हितमा जोड दिनुपर्छ। नेपालको आर्थिक विकासको स्रोत के हो र के हुन सक्छ त्यसमा पनि ध्यान दिन आवश्यक छ। विश्व राजनीतिको कुरा त्यसपछि सोच्ने हो। पर्यटन व्यवसाय कसरी फस्टाउन सक्छ? हाम्रो अर्थतन्त्र कसरी बलियो हुन्छ? त्यसमा हामी लाग्नुपर्छ। पर्यटन भनेको उधारो व्यापार होइन। योसँग कति उद्योग र बजार जोडिएको हुन्छ ध्यान दिनुपर्छ। सेवा क्षेत्रमा पनि प्रभाव गर्छ। उत्पादन क्षेत्रमा पनि काम हुनसक्छ। हामीले पर्यटन क्षेत्रमा आफ्ना उत्पादन डेमो गर्नेदेखि स्वागत गर्ने सम्म स्पष्ट पार्न सकिन्छ। आधारभूत तहदेखि माथिल्लो तहका उद्यमी व्यवसायीसम्म प्रभाव पार्ने यो क्षेत्रमा हामी किन अघि नबढ्ने? होटल होस् या हवाई स्थानीय यातायात सबै सम्बन्धित हुन्छ। त्यसपछि हाम्रो अपार स्रोत भनेको पानी हो। हामी पानीका विषयमा निकै धनी छौँ भनेको धेरै पहिलादेखि हो। तर खै यसमा हामीले गर्न सकेको? जलस्रोतको धनी देश भनिन्छ प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाको प्रचूरता छ। तर कति नेपाली जनतालाई हामीले स्वच्छ पिउने पानी पुर्‍याएका छौँ, यो सोच्न आवश्यक छ। हिमनदी बगेर गएको छ। तराईका नागरिक जमिनमुनिका आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्। जनस्वास्थ्यमा परेको असरबारे कहिले सोच्ने? जलाधार क्षेत्रको संरक्षण गरेर घरघरमा पुर्‍याउन सक्नुपर्छ। त्यो पनि हिमालबाट बगेको पानी। पानी यस्तो शक्तिशाली स्रोत हो, उज्यालो दिने पानी हो नि। पानी नभएको स्थानमा पानी पुर्‍याउने पनि पानी नै हो। बहुपक्षीय उपयोग गर्न सकिन्छ पानीलाई। नेपालभित्र कारखाना चल्छन्। हजार जिभ्रा भएका शेषनागले नसक्ने भने जस्तो अपार पानी हामीसँग छ। देशमा प्रयोग गर्ने र बढी भएमा विदेशमा बेच्न सकिन्छ। छिमेकलाई चाहिएको छ। किन नदिने? हामीले सधैँ विरोध र आक्रोश मात्र दिने? काम हुन नदिने हो र? भारत, बंगलादेश र चीन सबैलाई हामी विद्युत् दिन सक्छौँ। यसबाट नागरिकको जीवनस्तर बलियो हुन सक्छ। कृषिमा पहुँच राख्ने युवालाई त्यसमा अभ्यस्त गराउन सक्नुपर्छ।

हामीले पानीका विषय बढी राजनीति गरेर वा गफ धेरै गरेर अड्किएका हौँ नि? नत्र सानैमा विद्युतको कुरा सुनेको तर अझै पनि त्यही सुन्दै भन्दा केही कमजोरी हाम्रो छ नि होइन र?

हो, हामीले कूटनीतिलाई अब्बल बनाएर लैजाने र कार्यान्वयन गराउने भनेको यही हो। कूटनीतिक माध्यम प्रयोग गर्ने हो नि। सीमा जोडिएका मुलुकलाई क्लिन इनर्जी चाहिएको छ। हामीसँग पानी छ। तर त्यो पानी बगेर खेर गएको छ। हामी गफ गरेर बसेका छौँ। कुनै समस्या छ भने समाधान पनि सँगै हुन्छ। त्यही भएर समाधानको बाटोमा अघि बढ्न आवश्यक छ।

अहिलेसम्म यस्तै रह्यो, अब हामी कसरी अघि बढ्नुपर्छ?

विगतबाट सिकेर हामीले अब्बल ढंगले आफ्नो कार्यशैली अपनाउनुपर्छ। हाम्रो नयाँ पुस्ताले एकदमै राम्रो अध्ययन गरेको छ। उनीहरू प्राविधिक क्षेत्रमा राम्रो पहुँच राख्छन्। यहाँ बसेर बाहिरका लागि काम गरिरहेका छन्। उनीहरूलाई त्यो वातावरण दिएर अघि बढाएर काममा लगाउनुपर्छ। सञ्चारको विकास यसरी भएको छ समस्या देखियो कि निवारण त्यही गराउन सकिन्छ। यसैले हामीले युवालाई अघि बढाउन सक्नुपर्छ। त्यसका लागि हामीले अभिभावकीय भूमिकाबाट वातावरण तय गरिदिने हो। म युवालाई विदेशमा होइन नेपालमा नै राखेर काममा सक्रिय पार्नुपर्छ भन्नेमा छु।

चुनावको विकल्प चुनाव हो। चुनाव गर्नुैपर्ने हुन्छ। मेरो शुभेच्छा भनेको चुनाव होस् भन्ने हो। राजनीतिक दलका नेताहरू कपडाको धुलो टकटक्याएर भए पनि चुनावमा जानुपर्छ। ताजा जनादेश लिनु नराम्रो कुरा हुनै सक्दैन। यसमा अत्तो थाप्ने काम छैन।

विश्व खुला भएकाले एक देशको नागरिक अर्को स्थानमा गएर काम गर्न सक्छन्। अध्ययन गर्न सक्छन्। तर हाम्रो युवा जनशक्तिलाई हामीले यहीँ काम लगाउन र आकर्षण गर्न सक्नुपर्छ। यहाँ काम गरेर यहाँको विकास गरेर बाहिर जानुपर्छ हो। रोजगारीको अभावमा गएको भन्दा सुन्दा दुःख लाग्छ। हो, सरकारले रोजगारीको वातावरण तय गर्न नसक्दा उनीहरू बाहिर जान लागेका हुन्। युवामा रोजगारीप्रति विश्वास छ। उनीहरु पारदर्शी पनि छन्। श्रममा झनै बढी विश्वास गर्छन्। अनुशासित पनि उत्तिकै छन्। आर्थिक रुपमा पनि अनुशासित छन्। त्यसैले हामीले युवालाई विदेश पठाउनुको सट्टा मुलुकको विकासमा लगाउनुपर्छ।

युवालाई स्थानीय तहमार्फत कृषिमा लगाउन सक्ने अवस्था छ। कतिपयले तर त्यसबारेमा सोच नै बनाएको देखिँदैन नि?

रोजगारीका लागि विदेशी भूमिमा पुगेकालाई यहाँ कृषिमा लगाउने बातावरण बनाउन सक्नुपर्छ। यसमा पनि हाम्रो व्यापार घाटा छ। म यस विषयमा बोलिरहेकी छु। कृषि क्षेत्रको व्यापार घाटालाई आत्मनिर्भर हुने गरी अघि बढाउन आवश्यक छ। गाउँघरमा खाली जमिनहरू निर्वाहमुखी होइन आधुनिक कृषिमा लगाउन आवश्यक छ। त्यसतर्फ सरकारले सोच बनाउनुपर्छ। दलहरू पनि यसमा सक्रिय हुन आवश्यक छ। हावामा महल बनाउने भन्दा पहिला आफ्नो धरातल नियाल्नुपर्छ।

युवाको प्रसंग आउँदै गर्दा यहाँले जेनजी मुभमेन्टपछिको अवस्था कसरी नियाल्नु भएको छ?

भदौ २३ र २४ गतेको घटना दुःखद भए। मुलुकको नेतृत्वले ध्यान नदिँदा र अव्यवस्था हुँदा दुःखदायी घटना भयो। २३ गते हाम्रा छोराछोरीले ज्यान गुमाए। त्यसको जिम्मेवारी सरकारको नेतृत्व गरिरहेका दलको हेलचक्य्राइँबाट भएको भनेर लिनुपर्ने हो। त्यही कारण भोलिपल्ट मुलुकमा विध्वंस भयो। राष्ट्रपति कार्यालय, संसद् भवन, सिंहदरबार र अदालत सबै निकायका भवन जले। सत्ताको नेतृत्व गरिरहेका व्यक्ति सुरक्षा निकायको सहयोगमा ब्यारेकमा बस्न बाध्य भए। पालिका कार्यालयदेखि वडा कार्यालयसम्म जलेको छ। व्यक्तिका घर पनि जलेका छन्। नहुनुपर्ने कुरा भयो। सरकार नभएको जस्तो अवस्था आयो। जुन कुरा मैले नजिकबाट देखेँ र भोगेँ पनि। यसलाई भुल्न हुँदैन। देशमा सुशासन प्रवर्धन गर र आर्थिक पारदर्शिता देखाऊ भन्ने माग न थियो हाम्रा बालबच्चाको। भ्रष्टाचारको आहालबाट मुलुकलाई मुक्ति देऊ सामाजिक सञ्जाल बन्द गरेर मात्र मुहार छोपिँदैन भन्ने त थियो कुरा। त्यो बेलाको नेतृत्वले अझै आत्मालोचना गरेका छैनन्। उल्टै दम्भ राखेका छन्। यस विषयलाई हल्का रूपमा लिन हुँदैन। हामी त्यसबाट माथि उठ्न आवश्यक छ। आर्थिक अनुशासन र सुशासन अहिलेको आवश्यकता हो।

त्यो समयमा त राज्यसंयन्त्र नै नभएको जस्तै देखियो नि होइन र?

हो नि। संयन्त्र नभएको झैँ लाग्यो। त्यो दिन इतिहास भइसकेको छ। यसलबाट पाठ सिकेर दलहरू अघि बढ्न सक्नुपर्छ। आउँदा दिनमा त्यस्तो घटना नहोस् भन्न सक्नुपर्छ। तर अहिलेको ताल हेर्दा त्यो नहोला भन्न सकिन्न। किनभने युवाहरू भनेको मुलुकका सम्पत्ति र भविष्यका कर्णाधार हुन्। उनीहरूलाई गिजोल्ने काम गर्न हुँदैन। युवा आफैँमा पारदर्शी छन्। अनुशासित पनि उत्तिकै तर राज्यबाट उनीहरुमा आक्रोश सिर्जना गर्दा जे पनि हुनसक्छ। नेपालमा मात्र होइन यो त विश्वमा देखिएको खतरा हो।

जेनजी मुभमेन्टपछि बनेको अन्तरिम सरकारले मुलुकमा फागुन २१ मा निर्वाचन गर्ने गरी सबै काम अघि बढाएको छ। यसलाई कसरी लिनुभएको छ?

तोकिएको समयमा चुनाव गर्नुपर्ने हुन्छ। चुनावको विकल्प चुनाव हो। समयमा चुनाव भए राम्रो होला। ताजा जनादेश सधैँ उत्तम विकल्प हो। सुशीला कार्कीजीले कठिन अवस्थामा भए पनि पहिलो महिला प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ। मलाई लाग्छ उहाँ स्वच्छ चुनाव गराउनतर्फ लाग्नुहुन्छ र लाग्नुपर्छ।

दलहरू निर्वाचनमा जान डराएजस्तो लागेको छैन यहाँलाई?

सबैले आफ्नो प्रक्रिया त पूरा गरेका छन्। नयाँ विचार आइरहेका छन् भने नयाँ जनादेश किन नलिने? त्यसमा पनि हामीले ध्यान दिनुपर्छ। नयाँ खुलेका दलले पनि जनादेश लिएर आउने हुन्। पुरानो दल पनि त्यसबाट भाग्न मिल्दैन।

पुराना दल त संसद् पुनर्स्थापनाको कुरा गरिरहेका छन्। अदालतमा यहाँ सक्रिय हुन खोजेको दलले रिट हालेको छ। यसलाई कसरी लिनुभएको छ?

संसद् पुनर्स्थापना भनेको दलहरूले ब्याकडोर पनि खुला राखौँ भन्ने जस्तो होला। यसले दिगो समाधान दिँदैन। जेनजी आन्दोलनको माग पजि पूर्ण हुने देखिन्न। अदालतमा भएको विषय हुनाले यसलाई म यसै हुन्छ भन्न त सक्दिनँ। तर मेरो विचारमा ताजा जनादेशमा ढिलोचाँडो जानुपर्छ। संसद् पुर्नस्थापना सबैले मानेको खण्डमा हुँदै नहुने भन्ने त होइन तर कुरा यहाँ नयाँले त्यो पुर्नस्थापनामा कसरी स्थान पाउने भन्ने पनि होला नि। त्यसैले ताजा जनादेश प्राप्त गर्दा सबै कुराको निवारण हुने देखिन्छ। पुराना नयाँ सबै मैदानमा उत्रने समय हो। नयाँले पनि पुरानामा जाने वा आफ्नै दल खोलेर अघि बढ्ने अवस्था छ। हिजो अलिअलि पछारिए पनि पुराना दलले लुगामा लागेको धुला टकटक्याएर चुनावमा तयार हुनुपर्छ। यसमा अर्घेल्याइँ राम्रो होइन।

युवा जनशक्तिलाई स्वदेशमै रोजगारीमा लगाउन सक्नुपर्छ। मुलुकमा काम पुगेर वा मुलुक बनेपछि बाहिर जाने हो। रोजगारीका लागि भनेर विदेश जाने विषय दुःखदायी छ। यस्तो हुनुमा हामी राजनीति गर्नेहरूले र मुलुकले रोजगारी सिर्जना गर्न नसक्नु हो। अहिलेका युवापुस्ता रोजगारीमा विश्वास गर्छन्। श्रमका लागि भौँतारिएका छन्। यस्ता कुरा सरकार, राजनीतिक दलहरू र समाजको सेवा गर्छु भन्ने सबैले बुझेर अघि बढ्न सक्नुपर्छ। अनि राज्यले रोजगारी दिने उद्यमीहरूलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ।

निर्वाचनमा आयोगमा दर्ता भएका दलको संख्या हेर्दा अब नयाँ दलहरू आउने र मुलुकमा दुई वा तीन दल रहेर शासन गर्ने संकेत देखिँदैन?

अहिल्यै म अनुमान गर्न सक्दिनँ र नगरौँ। तर पनि अहिलेसम्म त धेरै सम्भावना ठूला दलहरूकै छ। उनीहरूका संरचना छन्। संरचना बिग्रेको छैन। बीचको घटनाले गर्दा निराशा छ। त्यसमा सुधार गरेर अघि बढाएमा सहज हुनेछ। नयाँ दललाई चिन्न बाँकी छ। पुरानो दल त चिनिएको छ। त्यसमा सुधार आवश्यक छ। सामाजिक रूपमा पनि ध्यान दिनुपर्छ। समाजको कुरा सुन्नुपर्छ।

यहाँ जुन दलमा सक्रिय हुन खोज्नुभएको पार्टी छोडेर गएका पुराना अभिभावक नभएको र अन्ततिर गएको जस्तो मात्र होइन एक्लैले दल चलाएको जस्तो हुँदैन?

नेकपा एमालेको इतिहास सम्झना गराउनुभयो, धन्यवाद। विभाजन हुनु ठूलो दुर्घटना हो। प्रमुख दलमध्ये एक हो एमाले। मलाई दुःख लागेको छ, एमाले दुई पटक विभाजनमा गयो। एमालेमा पहिलो दुर्घटना २०५४ मा र पछिल्लो २०७७ सालमा भयो। मैले पछिल्लो दुर्घटना रोक्न सक्दो प्रयास गरेँ। तर सफल भइनँ। म त विभाजनमा जाने नेताहरूले गल्ती गरेको भन्छु। मैले त्यतिखेर कुनै न कुनै हिसाबले जानकारी राखेकी थिएँ। यहाँहरूले पार्टी जीवनमा दुर्घटना रोक्न के गर्नुभएको छ भनेर कुरा गर्न मन छ। मैले भित्रैदेखि प्रयास गरेकी हुँ। त्यसैले गर्दा पछिल्लो नेतृत्वमा सर्वसत्तावादी र हैकमी बढेको छ। म पार्टी सदस्य हुँ, सबै नवीकरण भएको हो। कसैलाई पनि राजनीतिक जीवनबाट कुण्ठित गर्नु राम्रो होइन। नेतृत्वमा एकपछि अर्कोले छोड्दै जाने र बस्नेमा एक प्रकारको दम्भ र अहंकार आएको छ।

नेपालमा भएका कम्युनिस्ट पार्टीहरू जोड्छु भन्ने लाग्दैन?

सबैलाई त म भन्दिनँ। देशका लागि वैचारिक रुपमा उन्नत विचार राख्नेलाई व्यक्ति व्यक्तित्वलाई हामी समेट्न सक्छौँ। नेपालमा वामपन्थी एकता सम्भावना कम देख्छु। कति हो कति वामपन्थीहरू जन्मिरहेका छन्। वामपन्थीका नाममा ऐजेरुजस्तो भएको छ। जनताको बहुदलीय जनवाद नामको मार्गदशमा हिँडेको पार्टी देशभक्त प्रगतिशील वामपन्थी बन्ने गरेको हुन्छ। नेपालमा वाम एकता हुन्छ भन्ने त लाग्दैन। चुनाव हार्दै जाँदा वामपन्थी धारको एक पार्टी रहन्छ।

भनेपछि नेपालको उत्तरी छिमेकीले यहाँको वामपन्थी धारलाई एक बनाउन लागेको विषय गलत रहेछ?

यहाँले अन्यथा नलिइदिनुहोला। नेपालमा धेरै कुरौटेहरू छन्। मिडियालाई पनि काम चाहिएकाले केही न केही भनिरहेका हुन्छन्। हुँदै नभएको कुरा पनि आइरहेको हुन्छ। पढ्दै हाँसो उठ्छ। सुधारको आवश्यकता यता पनि छ।

पछिल्लो पुस्ताबाट उदाएका दल कस्ता लाग्छन्? उनीहरूको कार्यशैलीलाई कसरी लिनुभएको छ?

पछि जन्मिने राम्रो हुँदैन भन्ने त होइन वा नयाँ राम्रो जन्मिँदैन भन्न पनि सकिँदैन। नयाँ पार्टीहरूले स्पष्ट नीति कार्यक्रम ल्याउन सकेका छैनन्। उनीहरू अहिले त भड्काउने काममा लागेको देखिन्छ। निराशालाई बेचिरहेका छन् नयाँ दलहरू। यसरी दल बन्दैन। लोकरिझ्याइँ र दलको कार्य फरक हो। लोकरिझ्याइँ दिगो हुँदैन।

भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast