म्याग्दी- बेनी नगरपालिका-९ तोरीपानीमा सयपत्री होमस्टे सञ्चालन भएको छ। पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको होमस्टे सञ्चालन भएको हो। जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा होमस्टे सुरु भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिइन्।
‘गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले घरबास सुरु गरेका हौँ’, उनले भनिन्, ‘पर्यटकको चाप बढेपछि थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ।’
पाहुना राख्नका लागि होमस्टे सञ्चालकले घरमा छुट्टै कोठा बनाएका छन्। खाट, बेड, विस्तार र शौचालयलाई व्यवस्थित गरेका छन्। एउटा घरमा एकदेखि दुईवटा कोठामा पाहुनाका लागि व्यवस्था गरिएको छ। घरका कोठाबाटै हिमाल देख्न सकिन्छ।
तोरीपानी प्रकृति र संस्कृतिका साथै जैविक विविधता र ऐतिहासिक हिसाबले पनि महत्त्वपूर्ण छ। विभिन्न जातजातिको मिश्रित बसोबास छ। उनीहरूको संस्कार, रहनसहन र ग्रामीण जीवनशैलीमा रमाउन सकिन्छ।
पाहुनालाई स्थानीय गौरीया गुडुरा जातको धानको भात, कोदो र फापरको पीठोको ढिडो तथा रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु, दूध, दहीका परिकारको स्वाद चखाइने होमस्टे सञ्चालक युव गिरीले बताए।
‘गाउँमै उत्पादन भएको खाद्यान्न, तरकारी, फलफूल र पशुजन्य उत्पादनको परिकारको स्वाद चखाउँछौं’, उनले भने, ‘पर्यटकले यानीमाया, पञ्चेबाजा र भजनमा नाच्न पाउँछन्।’ पाहुनाका लागि होमस्टे सञ्चालकहरूले आफैँ तरकारीखेती, कुखुरा र गाईभैँसीपालन गरेका छन्।
तोरीपानी मसलेदार फल टिमुरको पकेट क्षेत्र हो। टिमुरको चटनी सयपत्री होमस्टेको विशेष परिकार हो। फर्कँदा पाहुनालाई टिमुर, भटमास र भागो कोसेली दिने गरिएको होमस्टे सञ्चालक जमुना श्रेष्ठले बताइन्। रु एक हजार ५०० खर्चमा एक रात बास बस्न सकिन्छ।
होमस्टे सञ्चालनका लागि इको हिमालय संस्थाले तालिम र पूर्वाधार निर्माणमा सहयोग गरेको छ। संस्थाका निर्देशक नारायण ढकालले प्रतिघर रु ७० हजारबराबरको सामग्री र समूहलाई रु दुई लाख सहयोग गरेको जानकारी दिए। इको हिमालयले तोरीपानीमा टिमुरखेती विस्तार, गुणस्तर सुधार र बजारीकरणमा सहयोग गर्दै आएको छ।



