नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक

हिमाल प्रेस १८ मंसिर २०८२ १८:३८
20
SHARES
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक

पोखरा– नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन्। पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार र ज्ञानेन्द्र प्रधान निर्वाचित भए। महासचिवमा पोखराका केशव पाठक निर्विरोध निर्वाचित भए।

यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए।

रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन समिति संयोजक कमल अर्यालले जानकारी दिए।

आगामी नेतृत्वका लागि पोखराका चित्रबहादुर थापाको समेत उम्मेदवारी परेको थियो। कास्की जिल्ला अध्यक्षसमेत रहेका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मत्को वातावरण बनेको हो।

मानदेव हजाराले उपाध्यक्षबाट, प्रवीणकुमार थोकर तामाङले महासचिवबाट तथा सचिवमा उम्मेदवारी दिएका गीता थापा र पेमा गिर्मी मोक्तानले पनि फिर्ता लिएका हुन्।

संघमा देशभरिबाट बागमती बाहेक ६ प्रदेशका ४८ जिल्लाका प्रतिनिधिले भाग लिएको नवनिर्वाचित महासचिव पाठकले जानकारी दिए। पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल तीन वर्षअघि सकिए पनि महाधिवेशन हुन सकेको थिएन। प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिव समेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म संघको नेतृत्व गरे।

प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले महाधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताएका थिए।

उनले प्रदेश सरकारले खेलकुदलाई पनि निकै महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै यसप्रकारका महाधिवेशनबाट आन्तरिक पर्यटनमा पनि टेवा मिल्ने बताए। मन्त्री थापाले गत भदौको जेनजी आन्दोलनका क्रममा घूसपैठका कारण सरकारी तथा व्यवसायीहरुका निजी प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट गरिएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए।

अन्तरिम केन्द्रीय समिति अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय ह्याण्डबल संघका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य हिमाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १८ मंसिर २०८२ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast