जसले धेरै रोजगारी दिएको छ, तिनैमा छानीछानी लुटपाट र आगजनी भयो : चन्द्र ढकाल

हिमाल प्रेस १७ मंसिर २०८२ २१:३६
12
SHARES
जसले धेरै रोजगारी दिएको छ, तिनैमा छानीछानी लुटपाट र आगजनी भयो : चन्द्र ढकाल

पोखरा- पोखरा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा व्यापारिक प्रतिष्ठानहरुमा भएको लुटपाट, आगजनी र तोडफोडको कडा टिप्पणी गरेका छन्। उनले भने, ‘जेनजी आन्दोलनमा घूसपैठका कारण सरकारी संरचना तथा जसले धेरै रोजगारी दिएको छ, तिनै व्यापारिक प्रतिष्ठानमा छानीछानी लुटपाट, आगजनी र तोडफोड गरियो।’

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक–२०८२’ को उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

जेनजी आन्दोलन जुन उद्देश्यले गरिएको थियो, त्यो महासंघले आफ्नो साधारणसभामै पारित गरेको विषय भएको उनले स्मरण गरे। मुलुकमा सुशासन, भ्रष्टाचारविरोधी कुराहरु आमनागरिकको आकांक्षा रहेकोमा महासंघको साधारणसभामा पनि त्यो विषय पारित भएको उल्लेख गर्दै जेनजीको आन्दोलन पनि त्यही उद्देश्यका लागि भए पनि गलत हिसाबले लुटपाट, आगजनी र तोडफोड भएको टिप्पणी गरे।

उनले दोषीलाई कारबाहीको दायरामा ल्याउन महासंघले सुरुदेखि नै आवाज उठाउँदै आएको बताए। प्रधानमन्त्री र गृहमन्त्रीसँग सुरक्षा समितिमा राख्ने भनेर निर्णय गरेर आइसकेपछि जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधि राख्ने तय भएको उनको भनाइ थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा सीमित भएकोमा उनले नियमित अन्तर्राष्ट्रिय उडानको माग गरे। मुलुकका विभिन्न ठाउँमा हुने गरेको यसप्रकारका मेला महोत्सवले आर्थिक गतिविधिमा टेवा मिल्ने ढकालले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले समग्र पोखराको विकास र समृद्धिका लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिए। पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिनुपर्ने उनको भनाइ थियो।

१७ देखि २१ मंसिरसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सञ्चालन हुने मेलामा करिब १३० स्टल राखिएका छन्। तीमध्ये सूचना प्रविधिका मात्रै ३४ स्टल रहेको क्यान कास्की अध्यक्ष पुरुषोत्तम कुँवरले बताए।

संघ अध्यक्ष गोकर्ण कार्कीले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगीव्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्न मेलालाई निरन्तरता दिइएको बताए।

मेलामा सूचना प्रविधिका नयाँ उत्पादनदेखि घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादनहरुको स्टल राखिएका छन्। २०४२ सालदेखिको मेला आयोजनाको परम्परालाई निरन्तरता दिने क्रममा योपटक मणिपाल अस्पताल सहयोगीको रुपमा जोडिएको छ।

प्रकाशित: १७ मंसिर २०८२ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast