अप्ठ्यारोमा भारत-रुस सम्बन्ध

हिमाल प्रेस १७ मंसिर २०८२ १८:०५
26
SHARES
अप्ठ्यारोमा भारत-रुस सम्बन्ध सन् २०१८ को अक्टोबरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। फाइल तस्बिर : एपी/रासस

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने शिखर सम्मेलनका लागि बिहीबार भारत भ्रमणमा जाँदै छन्। सरकारी अधिकारीहरूका अनुसार यस भ्रमणले अन्तर-विभागीय र व्यावसायिक सम्झौताहरूको फराकिलो दायरासहित भारत-रुसको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ।

यस भ्रमणको केन्द्रबिन्दुमा भारतले रुसबाट थप हतियारहरू किन्नेछ कि छैन भन्ने प्रश्न पेचिलो बनेको छ।

अगस्टमा रुसको सैन्य सहकार्यका लागि जिम्मेवार निकायका प्रमुख दिमित्री सुगायेभले दुई देशबीच एस-४०० का बारेमा छलफल गरिरहेको बताएका थिए। यो मस्कोको लामो दूरीको सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र रक्षा प्रणाली हो। मे महिनामा भएको अपरेसन सिन्दूरको समयमा यी हतियार धेरै प्रभावकारी भएका थिए।

सन् २०१८ मा भारतले अमेरिकी प्रतिबन्धहरूको खतरा भए पनि पाँचवटा एस-४०० खरिद गर्न पाँच अर्ब डलर तिरको थियो। यसका लागि अमेरिकी क्रोधको जोखिम व्यवस्थापन गर्न एक जटिल वित्तीय संरचना प्रयोग गरिएको थियो।

यस्तै सम्झौताका लागि अमेरिकाले चीन र टर्कीलाई प्रतिबन्ध लगाए तापनि भारतले ती प्रतिबन्धहरूलाई छल्न सफल भयो। सन् २०२२ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जो बाइडेनले आफ्नो अधिकार प्रयोग गरी नयाँदिल्लीलाई यी प्रतिबन्धहरूबाट छुट दिएका थिए।

यसको विपरीत पुटिनको यस हप्ताको भ्रमण र थप हतियार खरिदको सम्भावना यस्तो समयमा आएको छ जब भारत-अमेरिका सम्बन्ध कमजोर अवस्थामा छ।

डोनाल्ड ट्रम्पसले रुससँग भारतको निरन्तर व्यापार सम्बन्धका विषयमा आक्रामक अडान लिएका छन्। उनले मस्कोसँग हुने कुनै पनि सम्झौतालाई सकारात्मक रूपमा लिने सम्भावना कम छ। भारतले ट्रम्पलाई शान्त पार्न विगत केही हप्तादेखि रुसी कच्चा तेलको आयात घटाएको छ। त्यो विषय पनि पुटिनसँगको भेटमा उठ्ने सम्भावना छ।

अर्को पक्ष जसले कुनै पनि उदीयमान रक्षा र ऊर्जा सम्झौताहरू लाई नजिकबाट नियालिरहेको हुनेछ, त्यो हो युरोपेली संघ। संघसँग भारतले हाल व्यापार सम्झौता टुंगो लगाउने प्रयास गरिरहेको छ।

युक्रेनको विषयलाई लिएर ब्रसेल्स र मस्कोबीचको तनाव अझै उच्च छ। आइतबार नेटोका सबैभन्दा वरिष्ठ सैन्य अधिकारीले रुसको साइबर आक्रमण, तोडफोड र हवाई क्षेत्र उल्लंघनको प्रतिक्रियामा गठबन्धन थप आक्रामक बन्ने विचार गरिरहेको बताएका थिए।

पश्चिमी देशहरूसँग गठबन्धन कायम राख्दै रुससँग रणनीतिक सम्बन्ध जोगाउने भारतीय प्रयास थप कठिन हुँदै गएको छ।

समाचार एजेन्सी एपीका अनुसार भ्रमण आर्थिक, रक्षा र ऊर्जा सम्बन्धलाई गहिरो बनाउने उद्देश्यमा केन्द्रित छ। साथै युक्रेनमा युद्ध जारी रहँदा मस्को र वासिङ्टनबीचको सम्बन्धलाई सन्तुलनमा राख्ने नयाँदिल्लीको प्रयासका लागि यो एक परीक्षा पनि हुनेछ।

अमेरिकाले भारतमाथि युक्रेन युद्धलाई कोष जुटाउन मस्कोको राजस्वलाई आंशिक रूपमा सहयोग गरिरहेको आरोप लगाए पनि भारतले छुटमा रुसी तेल खरिद गर्न जारी राखेको छ। यसको प्रतिशोधस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय आयातमा थप २५ प्रतिशत शुल्क लगाएका छन्।

पुटिनले अन्तिम पटक सन् २०२१ मा भारत भ्रमण गरेका थिए। मोदी गत वर्ष मस्को गएका थिए। दुई नेताहरूले गत सेप्टेम्बरमा चीनमा भएको सांघाई सहयोग संगठन शिखर सम्मेलनका बेला छोटो भेट गरेका थिए।

पुटिनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम छ। उनीहरूले द्विपक्षीय सम्बन्धको प्रगतिको समीक्षा गर्ने, आपसी चासोका विषयहरूमा छलफल गर्ने र अन्तर-विभागीय तथा व्यावसायिक सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा छ।

प्रकाशित: १७ मंसिर २०८२ १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast