काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपांगता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
अपांगता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय दिवस, २०२५ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘नेपालको संविधानले पनि अपांगता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकारका साथै सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, यसलाई सबैले आत्मसात र अवलम्बन गर्न जरुरी छ।’
उनले सबैमा समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरे। हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपांगता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा सङ्कल्पलाई पुनः स्मरण गराउने बताउँदै उनले दिवसले थप प्रेरणा, ऊर्जा र प्रतिबद्धता प्रदान गर्ने विश्वास व्यक्त गरे।
‘हामी सबै एकजुट भएर अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सुधार गर्न, उहाँहरूको अधिकारको संरक्षण गर्न तथा हरेक क्षेत्रमा समावेशिता सुनिश्चित गर्न निरन्तर अघि बढ्न सक्नुपर्दछ, न्यायपूर्ण, समावेशी र सम्मानजनक समाज निर्माण हामी सबैको साझा जिम्मेवारी हो, हामीले सबै नागरिकको योगदानलाई मान्यता दिँदै अपांगता भएका व्यक्तिहरुको क्षमता र सम्भावनालाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्ने वातावरण सृजना गर्नु सबैको कर्तव्य र दायित्व हो’, सन्देशमा भनिएको छ ।



