सर्वोच्च अदालत। फाइल तस्बिर
काठमाडौँ-सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गर्दै तत्काल विश्वासको मत लिन आदेश दिएको हो।
मुख्यमन्त्री यादवले विश्वासको मत पाए मुख्यमन्त्रीमा निरन्तर रहनेछन्। यदि उनले विश्वासको मत नपाएमा अर्को विकल्प १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प अपनाउन मधेश प्रदेश प्रमुख र विपक्षीहरूका नाममा परमादेश जारी गरेको हो।
यसअघि मंसिर २ गते सर्वोच्च अदालतले मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यस्तै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म दीर्घकालीन निर्णय नगर्न सरकारको नाममा आदेश जारी गरेको थियो।
मधेश प्रदेशसभाका ७४ सांसदहरू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्चमा रिट हालेका थिए। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते बिहान ४ बजे मुख्यमन्त्री यादवलाई बर्दिवासको एक होटलमा शपथ दिलाएकी थिइन्।
भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाका एमालेबाहेकका सबै दल विरोधमा उत्रिएका छन्।



