पुस मसान्तमा महाधिवेशन गर्न देउवाको निर्देशन, संस्थापन पक्षकै विरोध

हिमाल प्रेस १४ मंसिर २०८२ २१:२४ | Sunday, November 30, 2025
40
SHARES
पुस मसान्तमा महाधिवेशन गर्न देउवाको निर्देशन, संस्थापन पक्षकै विरोध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी विवादले निकास पाएको छ। सभापति शेरबहादुर देउवाको निर्देशनबमोजिम आगामी पुस २६ देखि २९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी निकास निकालिएको हो।

सभापति देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव तयार पारेका छन्।

प्रचार विभाग प्रमुख विश्वकर्माले लामो समयदेखि जारी विवाद समाधानतर्फ अगाडि बढेको बताए। पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउने सहमति भएको उनले जानकारी दिए।

‘सभापतिजीको निर्देशनबमोजिम पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने सहमति जुटेको छ,’ हिमालप्रेससँग विश्वकर्माले भने, ‘लामो समयदेखि अल्झिएको विवादले अब निकास पाउने भयो।’ उनले सहमति भएसँगै सोमबार केन्द्रीय समिति बैठक बस्ने बताए। ‘भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्छ। भोलिकै बैठकमा सहमतिको प्रस्ताव पेस हुन्छ,’ उनले भने।

प्रचार विभाग प्रमुख विश्वकर्माले कार्यवाहक सभापति वा महामन्त्रीमध्ये एक जनाले प्रस्ताव पेस गर्ने जानकारी दिए। उनले भने, ‘कार्यवाहक सभापति वा महामन्त्रीमध्ये एक जनाले प्रस्ताव पेस गर्नुहुन्छ। सर्वसम्मति होला भन्ने हाम्रो विश्वास छ।’

महामन्त्रीद्वय थापा र विश्वकर्मासहित इतरपक्षले पनि पुसमा नियमित महाधिवेशन गर्न माग गरिरहेका थिए। पुसमा नियमित महाधिवेशन नभए मंसिरमा विशेष महाधिवेशन गर्ने चेतावनी उनीहरूले दिएका थिए।

संस्थापन पक्षकै विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतका नेताहरू भने निर्वाचनको घोषणा भइसकेकोले वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। पुस मसान्तमा महाधिवेशन गर्ने गरी भएको सहमति आफूहरूलाई स्वीकार्य नभएको निधि–सिटौला समूहका नेताहरूले बताएका छन्।

तर, प्रचार विभाग प्रमुख विश्वकर्मा भने ती नेताहरू पनि संस्थापननिकटकै रहेकाले सभापति देउवाको प्रस्तावविरूद्ध नजाने दाबी गर्छन्। ‘उहाँहरूको पनि आज भेला बसेको रहेछ। वैशाखमै महाधिवेशन गर्ने अडान कायमै रहेको बुझिएको छ,’ उनले भने, ‘बानेश्वरमा भेला गर्नुभएका उहाँहरू पनि संस्थापननिकटकै हुनुहुन्छ। सभापतिले गर्नुभएको निर्णयभन्दा फरक जानु हुन्न भन्ने हाम्रो विश्वास हो।’

विश्वकर्माले सहमतिको नजिक पुगिए पनि केन्द्रीय समिति बैठकबाट निर्णय हुन बाँकी रहेकाले विवाद टुंगिएको भन्न नमिल्ने बताए। ‘सहमतिको नजिक पुगेका छौँ। असोज २८ देखि अल्झिएको विवाद समाधानउन्मुख भएको छ,’ उनले भने, ‘केन्द्रीय समितिबाट अझै निर्णय हुन बाँकी छ। केन्द्रीय समितिको बैठकबाट माइन्युट नहुन्जेलसम्म टुंगो लागिसकेको भन्न मिल्दैन।’

बानेश्वरमा बसेको संस्थापन पक्षको बैठकले सहमहामन्त्री वैशाखमा महाधिवेशन गर्ने गरी सहमहामन्त्री महेन्द्र यादवले ल्याएको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ। कार्यवाहक सभापति खड्का र नेता लेखकले ‘लाइन बाहिर’ गएर राजनीति गरेको निष्कर्ष निकाल्दै सहमहामन्त्री यादवले ल्याएको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको हो।

सोमबारको केन्द्रीय समिति बैठकमा पुस मसान्तका लागि नियमित महाधिवेशनकै कार्यतालिका पेस भए पनि भोटिङमा लग्ने निर्णय यो समूहले गरेको छ। ‘पुसमा महाधिवेशन गर्ने निर्णय हामीलाई स्वीकार्य छैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘सहमहामन्त्री महेन्द्र यादवले ल्याउनु भएको प्रस्तावको पक्षमा उभिने कुरा भएको छ। पुसको प्रस्ताव पेस भए भोटिङबाट निर्णय हुन्छ।’

संस्थापन पक्षको भेलाले वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने निर्णय गरेको ती नेताले बताए। कार्यवाहक सभापति खड्का र नेता लेखकले विशेष महाधिवेशन पक्षधरको एजेन्डा बोकेको बैठकले निष्कर्ष निकालेको उनले बताए। विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता नभएसम्म नियमित महाधिवेशनको प्रस्ताव ल्याउन नमिल्ने संस्थापननिकट नेताहरूको भेलाले निष्कर्ष निकालेको छ।

‘विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता नभएसम्म नियमितका लागि कार्यतालिका ल्याउन मिल्दैन। नियमितका लागि कार्यतालिका आए सहमहामन्त्रीको प्रस्ताव अगाडि बढाउँछौँ, कार्यवाहक सभापतिको प्रस्ताव फेल गराउँछौँ,’ ती नेताले भने।

पुस मसान्तमा महाधिवेशन गर्ने प्रस्ताव ल्याउने विषयमा कार्यवाहक सभापति खड्काले आफूहरूसँग छलफल नगरेको संस्थापननिकट ती नेताको भनाइ छ। प्रचार विभाग प्रमुख विश्वकर्माले पुस मसान्तमा महाधिवेशन गर्ने गरी प्रस्ताव ल्याउने एकखाले सहमति भए पनि त्यसलाई सर्वसम्म बनाउने प्रयास जारी रहेको बताए। उनले कार्यवाहक सभापति खड्काले प्रस्तावलाई सर्वसम्म बनाउन विरोधमा देखिएका नेताहरूसँग छलफल गर्ने जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०८२ २१:२४ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast