देश चुनावतिर, कांग्रेस-एमाले विवादतिर

किरण पौडेल १२ मंसिर २०८२ १३:४०
14
SHARES
देश चुनावतिर, कांग्रेस-एमाले विवादतिर

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख दल कांग्रेस र एमाले आन्तरिक विवाद, महाधिवेशनको अनिश्चितता र नेतृत्व–प्रतिस्पर्धामा जकडिएका छन्। जेनजी आन्दोलनपछि अस्थिर बनेको राजनीतिक वातावरणमा प्रमुख दुई दलभित्रको बढ्दो किचलोले निर्वाचन ओझेलमा पारेको हो।

फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ९७ दिन बाँकी छ। चुनाव हुने दिन नजिकिँदै गए पनि प्रमुख राजनीतिक दलहरूले भने त्यसतर्फ चासो दिएको पाइँदैन। खास गरेर नेपाली कांग्रेस र नेकपा एमाले चुनाव ओझेलमा पारेर आन्तरिक किचलोमा रुमल्लिइरहेका छन्।

महाधिवेशनका विषयलाई लिएर दुवै पार्टीभित्र व्यापक अन्तरसंघर्ष चुलिएको छ। एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ भने कांग्रेसको महाधिवेशन वा विशेष महाधिवेशन कहिले हुने भन्ने टुंगो लागेको छैन।

जेनजी प्रदर्शनपछि लय बिग्रिएको संविधान र राजनीतिक परिस्थिति ‘ट्र्याक’ मा ल्याउन चुनाव आवश्यक भए पनि कांग्रेस र एमालेका नेताहरू पार्टी विवादमा अलमलिरहेका छन्। दलभित्रै एक नेताले अर्कालाई हेर्ने व्यवहार सौहार्दपूर्ण छैन। आन्तरिक द्वेष र कलहमा फसेका दलहरू चुनावमा कसरी जालान् र कस्तो नतिजा ल्याउलान् भन्ने चासो सर्वत्र छ।

कांग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको छ। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको हो। नेकपा एमाले भने दोहोरो चरित्र देखाइरहेको छ- चुनावका लागि दल दर्ता र प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर। एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनभन्दा संसद् पुनः स्थापनालाई प्राथमिकतामा राखेको छ। रिटमाथिको सुनुवाइका लागि १७ मंसिरमा पेसी तोकिएको छ। चुनावमा सहभागी हुने वा नहुने विषयमा एमालेले औपचारिक निर्णय गर्न बाँकी छ।

एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव कुनै पनि हालतमा नहुने दाबी गर्छन्। सरकारले चुनाव गराउनै नचाहेको अभिवव्यक्ति उनले पार्टीका कार्यक्रमहरूमा दिँदै आएका छन्। एमालेले आगामी चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेको छ।

निर्वाचन आयोग चुनावले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई चुनावको वातावरण बनाउन निरन्तर आग्रह गरिरहेकी छन्। बिहीबारमात्रै एमालेका शीर्ष नेताहरूसँग भएको भेटवार्ताका क्रममा उनले फागुन २१ को चुनावको वातावरण बनाइदिन आग्रह गरिन्। सरकारले चुनावमा सेना परिचालनका लागि रेको सिफारिस राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ।
प्रधानमन्त्रीले चुनावको वातावरण बनाउन जतिसुकै आग्रह गरे पनि राजनीतिक दलहरूको सहभागिताविना सफल हुँदैन।

मिसन २०८४ को लक्ष्य बोकेर अगाडि बढिरहेका दलहरूसामुन्ने दुई वर्षअघि ‘महाकुम्भ’ आइपुगेपछि नेताहरू अन्योलमा देखिन्छन्। लक्ष्यको दुुई वर्षअघि चुनावको सामना गर्ने बाध्यता उनीहरूसामु आइपरेको छ।

लोकतान्त्रिक पद्धतिमा सामान्य प्रक्रिया ठानिएको चुनावको सामना गर्न दलहरू केन्द्रित हुनुपर्ने हो। उनीहरू अहिले महाधिवेशनको नाममा गालीगलौजका भाषा प्रयोग गरिरहेका छन्। चुनावको रणनीति तयार गर्नुपर्ने बेला दलभित्र एकअर्कामाथि खिसीट्युरी गर्ने प्रवृत्ति बढेको छ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेस यतिबेला गम्भीर संकटबाट गुज्रिइरहेको छ। जेनजी प्रदर्शनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा आक्रमणमा परेका बेला महामन्त्रीद्वय गगन थापा र विश्प्रकाश शर्माले ल्याएको विशेष महाधिवेशनको प्रस्तावका कारण कांग्रेस चरम विवादमा फसेको छ।

महामन्त्री थापा पुसमा नियमित महाधिवेशन नभए मंसिरमा विशेष महाधिवेशनको विकल्प नभएको धम्की दिइरहेका छन्। उनी पक्षीय नेता तथा कार्यकर्ताहरू पनि पुसमा महाधिवेशन गर्न जोड दिइरहेका छन्।
संस्थापन पक्षका नेताहरू चुनाव घोषणा भइसकेकाले वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। चुनावअघि वा चुनावपछि महाविधेशन गर्ने विवादमा जकडिएको कांग्रेस सबैभन्दा कठिन समयबाट अगाडि बढिरहेको छ। महाधिवेशन मिति तोक्ने विवादमा फसेको कांग्रेसले अन्य दलहरूलाई पनि चुनावमा आउन आह्वान गर्नबाट चुकिरहेको जानकारहरू बताउँछन्।

कांग्रेसकै नेताहरू चुनावको वातावरण बनाउन पार्टी चुकिरहेको बताउन थालेका छन्। देशकै जेठो लोकतान्त्रिक पार्टी भएको नाताले पनि चुनावमा होमिन कांग्रेसले ढिलाइ गर्न नहुने बताउँदै नेताहरू अन्य दलहरूसँग पनि छलफल गर्न चुकिरहेको जिकिर गरेका छन्। अन्तरसंघर्षमा चुलिएका कारण चुनावतिर ध्यान दिन नसकेको नेताहरूको स्वीकारोक्ति छ। यही अन्तरसंघर्षका कारण पार्टी फेरि एकपटक विभाजन भोग्नसक्ने चिन्ता पनि नेताहरूमा देखिएको छ।

‘कांग्रेसमा अन्तरसंघर्ष बढेको बढ्यै छ। यही कारण कांग्रेस फुटको दिशामा छ,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘कांग्रेस भूराजनीतिक चपेटामा छ। यही कारण देउवा विदेशबाट पनि फर्किएर आएका हुन्।’

एमालेमा पनि अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ। मंसिर २७ मा सुरु हुने एमालेको ११ औँ महाधिवेशनमा दुई लाइन संघर्ष हुने निश्चित छ। अध्यक्षलगायत पदाधिकारीमा एकातिरबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली र अर्कातिर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानल प्रतिस्पर्धामा उत्रने निश्चितजस्तै छ। एमालेमा पनि एकले अर्कालाई गाली गर्ने प्रवृत्ति बढेको छ।

ओलीले इतरपक्षका नेताहरूलाई पार्टीभित्र गुटबन्दी नगर्न अनुरोध गरिरहेका छन्। यसअघिको महाधिवेशनमा आफैँले पदमा पु¥याएका नेताहरूले अहिले आफैँलाई दबाबमा राख्न खोजेको ओलीको भनाइ छ।
यसअघिको जेनजी आन्दोलन ओलीका कारण भएकाले अब उनले मार्गप्रशस्त गर्नुपर्ने इतरपक्षको माग छ। ‘यसअघि भएका घटनाको जिम्मेवारी ओलीले लिनुपर्छ। प्रधानमन्त्रीले जान्दिनँ वा थाहा पाइन भन्न पाइन्न,’ एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन्।

अन्तरसंघर्षले अन्तरघातको त्रास

यसअघिका चुनावमा पनि यी दलमा अन्तरघातका कुरा उठेका थिए। कांग्रेसमा अन्तरघात त पुरानै रोग रहेको नेताहरू स्वीकार गर्छन्। अन्तरघातकै कारण पार्टीका नेताहरूले चुनावमा हार बेहोर्नुपरेका कैयौँ उदाहरणहरू छन्। यसैले पनि यसअघि सभापति देउवाले केही नेतालाई चुनावमा अन्तरघात गरेको आरोपमा कारबाही गरेका थिए।

संस्थापन निकट मानिने आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले झन्डै दुई दर्जन नेतालाई कारबाही गरेको थियो। यसले पनि कांग्रेसभित्र अन्तरघातको लहर चल्छ भन्ने देखाउँछ। तर यसपटक भने यो समस्या चुनावअघि नै हल गर्ने कांग्रेस नेताहरूले बताएका छन्। चुनावमा अन्तरघात हुनसक्ने भन्दै संस्थापननिकट नेताहरू वैशाखमा महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन्। महाधिवेशनमा भएको प्रतिस्पर्धापछि जितहारको तुस ताजै रहने र चुनावमा बाहिर आउनसक्ने त्रासले पनि उनीहरू चुनावअघि महाधिवेशन टार्न खोजिरहेका हुन्।

‘महाधिवेशनको विषय चुनावअघि नै हल हुन्छ। यसले गर्दा अन्तरघातको समस्या कम हुन्छ,’ कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्।

अझै पनि चुनावका लागि समय धेरै रहेकाले समस्या नपर्ने उनको भनाइ छ। कांग्रेसको राजनीतिक भविष्य सहज भने देखिँदैन। जेनजी आन्दोलनपछि कांग्रेस समस्यामा परेको छ। सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोके पनि पार्टीभित्रको विवाद साम्य पार्न उनी असफल देखिएका छन्।

खड्काको सभापतित्वमा बसिरहेको केन्द्रीय समिति बैठकले कुनै निष्कर्ष निकाल्न सकिरहेको छैन। खड्काले अडान प्रस्तुत गर्न नसक्दा पार्टीभित्र देखिएको विवाद समाधान गर्न समय लागिरहेको नेताहरूको भनाइ छ। १५ औँ महाधिवेशनमा सभापति लड्ने तयारी गरिरहेका खड्काको परीक्षणकालका रुपमा देखिएको कार्यवाहकको जिम्मेवारी असफल भएको नेताहरू नै बताउँछन्। पटक-पटक केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर पनि उनी विवाद हल गर्न सकिरहेका छैनन्।

त्यसैले सक्रिय राजनीतिमा नफर्किने बताए पनि सभापति देउवाले हस्तक्षेप गर्नु परिहेको नेताहरूको भनाइ छ। देउवा यतिबेला संस्थापनका साथै इतरपक्षका नेताहरूसँग निरन्तर सम्पर्कमा छन्। मुलुक राजनीतिक संकटबाट गुज्रिइरहेकाले कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले पार्टी नेताहरूलाई सुनाएका छन्।

बिहीबार संस्थापननिकट नेताहरूलाई भेटेर छलफल गरेका सभापति देउवाले महाधिवेशन मितिसम्बन्धी विवादकै पार्टी फुट्न नहुने बताएका थिए। उनले एकजुट भएर विवाद अन्त्य गर्न नेताहरूलाई निर्देशन दिएका छन्।

पार्टीभित्र उठिरहेको नियमित महाधिवेशन र विशेष महाधिवेशनको माग सबैभन्दा ठूलो समस्या रहेको विश्लेषकहरूको बुझाइ छ। ‘कांग्रेसमा अन्तरघातको पीडा सबैभन्दा धेरै छ। यो समस्या समाधान हुन्छ जस्तो मलाइ लाग्दैन,’ विश्लेषक दाहाल भन्छन्, ‘यो कांग्रेसमा सधैँको पीडा हो।’

उनका अनुसार कांग्रेसमा तत्काल महाधिवेशन भए देउवा पक्षधर नेता मात्र होइन महामन्त्री गगन थापालाई पनि समस्या पर्ने देखिन्छ। ‘गगन चुनाव लड्न जाने ठाउँ पनि देखिँदैन। यस कारण पनि पार्टीमा विवाद उत्पन्न हुनेछ,’ दाहालले भने।

एमालेमा समेत यही पीडा देखिन्छ। पटकपटक अन्तरसंघर्षले फुट व्यहोरेको एमाले अब पनि दुई धारको राजनीतिमा छ। एकातिर ओली र अर्कातिर विद्या भण्डारीतिर कार्यकर्ता विभाजित छन्। यसअघि नै सदस्यता लिएकी भण्डारीले आगामी कार्यकाल एमालेको अध्यक्ष हत्याउने आस गरेकी थिइन्। तर ओलीले भण्डारीको सदस्यता खारेज गरिदिए। अहिले ओली-भण्डारी तिक्तता बढेको छ। भण्डारीले ओलीको विरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका ईश्वर पोखरेललाई समर्थन गरेकी छन्।

‘हाम्रो समस्या महाधिवेशनपछि सुल्झिन्छ। पार्टीले नयाँ नेतृत्व पाएपछि समस्या समाधान हुन्छ। त्यही कारण हामी महाधिवेशनको तयारीमा लागेका छौँ’, एमाले प्रवक्ता राजेन्द्र गौतम भन्छन्। एमालेमा पनि यसअघि अन्तरघातको समस्या बढेको थियो। एमाले कार्यकर्ताबाटै अपेक्षाकृत मत नपाएको नेताहरूले गुनासो गरेका थिए। अब भने त्यो समस्या झनै बढ्ने अनुमान छ।

‘विगतमा भन्दा पार्टीभित्र समस्या बढेको छ’, एमालेका एक नेता भन्छन्। भण्डारीको सदस्यता रोकेका कारण ओलीप्रति एमालेको ठूलो पंक्ति असन्तुष्ट छ। राजनीतिक विश्लेषक दाहाल एमाले फेरि फुटको दिशामा अघि बढेको बताउँछन्। ‘पहिले पनि एमालेमा दुई धारको संघर्ष थियो। त्यसले पार्टी नै विभाजनमा लग्यो। अब पनि त्यही तहमा एमाले लागेको छ’, दाहाल भन्छन्।

अरू दल एकतातिर, कांग्रेस-एमाले उल्झनमै

जेनजी आन्दोलनपछि राजनीतिमा उलटफेर भएको छ। नयाँ दल खुलिरहेका छन् भने पुराना पनि एकताबद्ध भनिरहेका छन्। माओवादी केन्द्रसहितका १० दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दल पनि एकता प्रक्रियामा छन्। जेनजीको भावना भन्दै दलहरू एकतामा लागेका छन्।

मधेशवादी दलहरू पनि अहिले एकताप्रक्रियामा छन्। उनीहरू सके चुनावअघि एकता गर्ने नभए कार्यगत एकता गर्ने तयारीमा जुटेका छन्। तर, कांग्रेस-एमाले भने यी सबै प्रक्रियाबाट बाहिर छन्। कांग्रेस नेताहरूूले भने आफूभित्रै एकताबद्ध हुन सकेका छैनन्। कांग्रेसमा त दुईभन्दा बढी समूहमा नेताहरूू विभाजित छन्।

राजनीतिक विश्लेषक दाहाल पुराना शक्तिमा रूपान्तरणको खाँचो रहेको बताउँछन्। ‘कांग्रेस-एमाले सुध्रने संकेत छैन। यो नै समस्या छ,’ उनी भन्छन्, ‘अबको चुनावमा नयाँ दल निर्णायक बन्ने सम्भावना छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast