नेकपामा समाहित भए जसपाको एकीकरण पक्षधर र अन्य तीन दलका विद्रोही समूह

हिमाल प्रेस ११ मंसिर २०८२ १८:३२ | Thursday, November 27, 2025
24
SHARES
नेकपामा समाहित भए जसपाको एकीकरण पक्षधर र अन्य तीन दलका विद्रोही समूह

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)को एकीकरण पक्षधर समूहलगायतबीच एकता भएको छ।

बिहीबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एक कार्यक्रमका बीच नेकपा, जसपा एकीकरण पक्षधर, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा (माओवादी) विद्रोही समूहबीच एकता घोषणा भएको हो।

एकतामा आएका दलका नेताहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल, झलनाथ खनाल, बामेदव गौतम लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए।

एकता कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले युवाहरूलाई पार्टीमा आउन आह्वान गर्दै युवाहरूले उठाएका मुद्दालाई स्थापित गर्ने पार्टी नेकपा मात्रै भएको बताए। नेकपाको एकता कुनै आवेगमा गरिएको एकताको अभियान नभएको भन्दै राष्ट्रको स्वाधिनताको रक्षा, जनताको स्वभिमानको रक्षा गर्न देशभक्त कम्युनिष्टहरु एकै ठाउँमा आउनुपरेको उनले बताए। प्रचण्डले एमालेमा रहेका इमानदार, देशभक्त र क्रान्तिकारी नेताहरु बृहत् वामपन्थी एकतामा आउन अपिल गरे।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले देशको अहिलेको आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीबीच बृहत एकता गरिएको बताए। नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधारमा दलहरूबीच साझा सहमति भएको भन्दै मुलुकको अर्थतन्त्रलाई दिगो र फराकिलो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। उनले नेकपाको एकतापछि देशैभर उत्साह देखिएको दाबी गरे।

त्यस्तै नेकपामा प्रवेश गरेका नेता राजेन्द्र श्रेष्ठले सुशासन, समृद्धितर्फ मुलुकलाई अघि बढाउने कार्यभार नेकपाले मात्रै गर्न सक्ने भएकाले आफू सामेल भएको बताए। मुलुक परिवर्तनमा गएपछि चाहेजस्तो उपलब्धि प्राप्त नभएकाले बाँकी कार्यभार प्राप्त गर्ने कार्यभार आफूहरूले पूरा गर्ने भन्दै उनले त्यसका लागि युवाहरूसँग सहकार्य गर्दै अघि बढ्ने जिकिर गरे। उनले जेनजीलाई खिस्सिट्युरी गरेका कारण केपी ओली सत्ता छोडेर भाग्नुपरेको बताए।

उनले देशलाई अप्ठेरो परेका बेला हेलिकप्टर चढेर भाग्ने व्यक्तिले अब देशको नेतृत्व गर्न नसक्ने तर्क गरे।

प्रकाशित: ११ मंसिर २०८२ १८:३२ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast