बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ

हिमाल प्रेस ११ मंसिर २०८२ १६:४७ | Thursday, November 27, 2025
6
SHARES
बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ

दशरथचन्द (बैतडी)- बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन। पाटन नगरपालिका-८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन्।

जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो।

‘भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन। नगरपालिका आफैँले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन,’ महराले भने, ‘प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेका छौँ।’

स्थानीय तहको १० लाख र संघीय सरकारको ५० लाख रुपैयाँ गरी जम्मा ६० लाख रुपैयाँ संयुक्त लगानीमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको हो। २०७९ सालमा भवन निर्माण भएको थियो।

‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ ओटा ‘बेडसिट’ ट्रमा सेन्टरमा छन्। एक वर्षअघि खानेपानी र विद्युत् जडान भइसकेको छ। एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नसके सञ्चालनमा ल्याउन सकिने स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ।

प्रकाशित: ११ मंसिर २०८२ १६:४७ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast