फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार बोलाइएको बैठक स्थगित भएको जानकारी दिए। उनले शुक्रबार दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित भएको बताए।
महाधिवेशन विवादमा अल्झिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक सर्दै आएको छ। बिहीबार बस्ने बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा निर्णय हुने नेताहरूले दाबी गरेका थिए।
तर, महाविधेशनको मिति तोक्नबारे सहमति हुन नसकेपछि फेरि केन्द्रीय समिति बैठक स्थगित भएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमा नियमित महाधिवेशन नगरे मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने अडान राखेका छन्। नेता डा.शेखर कोइराला विशेष नभई पुसमा नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन्।
संस्थापनपक्ष भने फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्।
नेताहरू आ–आफ्नो अडानमा कायम रहेपछि सहमतिका लागि भन्दै केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ। महाधिवेशनको मिति तोक्न साझा धारणा नबने बैठकमा मतदानबाट निर्णय गराइने नेताहरूको भनाइ छ।


