कांग्रेस विशेष महाधिवेशन पक्षधर भेला

गुरुराज घिमिरे भन्छन्- कांग्रेसले विश्वकै लामो बैठक बस्दा पनि निष्कर्ष निकालेन, हामी बिग्रिएका छौँ

हिमाल प्रेस १० मंसिर २०८२ १४:५४ | Wednesday, November 26, 2025
24
SHARES
गुरुराज घिमिरे भन्छन्- कांग्रेसले विश्वकै लामो बैठक बस्दा पनि निष्कर्ष निकालेन, हामी बिग्रिएका छौँ

काठमाडौँ- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय समिति बैठक डेढ महिनासम्म चल्दा पनि कुनै ठोस निष्कर्ष ननिस्किएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन्। विशेष महाधिवेशन माग गर्दै आज सभागृहमा आयोजित भेलालाई सम्बोधन गरेका उनले विश्वमै कुनै पनि पार्टीको बैठक यति लामो नभएको टिप्पणी गरे।२०१४ सालको प्रथम विशेष महाधिवेशनमा सहभागी नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला सुरु भएको थियो।

‘हामी बिग्रिएका छौँ। अब अगाडिका बाटो हेरेर सच्चिएर अघि बढ्नुपर्छ’ उनले भने,‘नेता देवराज चालिसेले संसारभरि कुन दलको बैठक कति समय बस्छ भनेर खोज्दा चिनियाँ कम्युनिस्ट पार्टीको बैठक २३ दिन मात्रै रहेछ। तर हाम्रो त डेढ महिना। भोलि पनि बैठक बस्ने भनिएको छ, सर्ने हल्ला छ र यहाँ त्यो हल्ला प्रायः सत्यै हुने गर्छ।’

गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन भन्ने विषयमा अझै निर्णय गर्न सकेको छैन। घिमिरेले मुलुकलाई निकास दिन कांग्रेसले विशेष महाधिवेशन अपरिहार्य रूपमा गर्नुपर्ने बताए। उनले विगतका महाधिवेशन समयमा नहुनुले संगठन कमजोर भएको भन्दै तीन वर्षअघि नै महाधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरिएको तर सुनुवाइ नभएको धारणा राखे।

घिमिरेले ३६ वर्षसम्म सरकारको नेतृत्व गरेको दलले आफूले गरेका कमजोरीहरूको इमान्दार समीक्षा गर्नुपर्ने अवस्था आएको बताउँदै त्यो समीक्षा विशेष महाधिवेशनमार्फत मात्र सम्भव रहेकाे भनाइ राखे। ‘हामीले २४८८ जनाको हस्ताक्षरसहित निवेदन केन्द्रीय कार्यालयमा बुझाएका छौँ,’ उनले भने,‘यो न झगडा हो, न अनुशासनहीनता। हाम्रा संस्थापकहरूले देखाइदिएको बाटोको निरन्तरता मात्र हो।’

भेलामा संस्थापन तथा संस्थापनइतर दुबै पक्षका केही केन्द्रीय सदस्यको उपस्थिति थियो। केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरुङ, अजयबाबु शिवाकोटी सहभागी भएका थिए। तारामान गुरुङ सभापति शेरबहादुर देउवाका नजिक मानिन्छन्।

देउवा पक्षका २७ केन्द्रीय सदस्य नियमित महाधिवेशनको पक्षमा रहेका छन्। यता, लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह पुन र गण्डकी सभापति शुक्रराज शर्मा पनि विशेष महाधिवेशन पक्षधरको भेलामा उपस्थित छन्।

प्रकाशित: १० मंसिर २०८२ १४:५४ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast