काठमाडौँ- जापानको एक उच्च अदालतले आठ वर्षअघि प्रहरी यातनाबाट मारिएका नेपाली नागरिक अर्जुनबहादुर सिंहका परिवारलाई ३९ मिलियन येन (तीन करोड ५४ लाख ६४ हजार दुई सय रुपैयाँ) क्षतिपूर्ति तिर्न टोकियो महानगरपालिकालाई आदेश दिएको छ।
टोकियोमा रहेका बेला सिंहलाई २०१७ मा नक्कली क्रेडिट कार्ड बोकेको शंकामा पक्राउ गरिएको थियो। मुखिनिची पत्रिकाका अनुसार त्यसपछि प्रहरीले ३९ वर्षीय सिंहलाई नियन्त्रण कक्षमा राखेर यातना दिएको थिए। सोही कारण टोकियो जिल्ला सार्वजनिक अभियोजन कार्यालयमा सोधपुछ भइरहँदा बेहोस भएका उनलाई अस्पताल लगिएको थियो। त्यसपछि उनको मृत्यु भएको थियो।
उनका परिवारले स्थानीय र केन्द्रीय सरकारबाट ६१.८ मिलियन येन क्षतिपूर्ति माग्दै २०२३ मा टोकियो जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले प्रहरीको अत्यधिक बल प्रयोगले मृत्युको कारण बनेको ठहर गरेको थियो।
असाही पत्रिकाका अनुसार अदालतले प्रहरीले उनलाई अस्पताल पठाउन ढिलाइ गरेर गैरकानुनी कार्य गरेको पनि ठहर गरेको थियो। तर नेपालसँग सम्बन्धित समान घटनामा लागू हुने क्षतिपूर्ति कानुन उद्धृत गर्दै सिंहका आश्रितलाई एक मिलियन येन क्षतिपूर्ति दिने फैसला गरेको थियो।
टोकियो उच्च अदालतले बुधबार उक्त फैसला उल्टाउँदै क्षतिपूर्ति रकम ३९ मिलियन येनमा बढाएको छ। अदालतका न्यायाधीश माकी आइजावाका अनुसार कानुनी प्रणाली देशअनुसार फरक हुने भएकाले तुलना गर्न सजिलो हुँदैन। मृतककी पत्नीले आफ्नो कानुनी प्रतिनिधि ओगावामार्फत भनिन्, ‘म प्रार्थना गर्छु- अरू कसैले कहिल्यै मेरोजस्तो पीडा भोग्न नपरोस्।’


