‘एआई फर इन्क्लुसिभ ग्रोथ’ प्रि–समिट सम्पन्न

हिमाल प्रेस ५ मंसिर २०८२ २१:०१
4
SHARES
‘एआई फर इन्क्लुसिभ ग्रोथ’ प्रि–समिट सम्पन्न

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावास र एआई एसोसिएसन अफ नेपालको सहकार्यमा ‘एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल्स एआई–रेडी फ्युचर’ शीर्षकको कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।

आगामी फागुन ७–८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने एआई इम्प्याक्ट समिट २०२६ को पूर्वतयारीस्वरूप यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा स्टार्टअप, सरकारी निकाय, उद्योग तथा वाणिज्य, रोबोटिक्स एसोसिएसन, फिनटेक एलायन्सलगायत चार सयभन्दा बढी सहभागी रहेको कार्यक्रममा एआईको हालका विकास, एआई इम्प्याक्ट समिटको एजेन्डा र नेपालका लागि सम्भावनाबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले एआई क्षेत्रमा अगाडि बढाएका प्रयास तथा भविष्यमा भारतसहित विभिन्न साझेदारसँग सहकार्यका सम्भावनाबारे प्रकाश पारेका थिए।

भारतीय राजदूत नवीन श्रीवास्तवले ‘एआई फर अल’ को अवधारणामा आधारित भारतको एआई दृष्टिोणबारे चर्चा गरेका थिए। उनले एआई इम्प्याक्ट समिटले एआईसम्बन्धी विश्वव्यापी छलफललाई प्रविधि केन्द्रितबाट मानव केन्द्रित प्रभावतर्फ मोड्ने उद्देश्य रहेको बताए।

राजदूत श्रीवास्तवले नेपाली युवालाई एआई फर अल, एआई फर हर, युवएआई जस्ता अन्तर्राष्ट्रिय एआई प्रतिस्पर्धाहरूमा सहभागी हुन आग्रह गरे।

कार्यक्रममा डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकृत अमिताभ नागले सार्वजनि सेवाहरूमा भाषिणी एआईले गरेको रुपान्तरणसम्बन्धमा प्रस्तुति दिए। त्यस्तै अब्जर्भर रिसर्च फाउन्डेसनका डिजिटल सोसाइटिज इनिसिएटिभ निर्देशक अनिर्बान शर्माले सहभागीहरूलाई एआई इम्प्याक्ट समिटबारे जानकारी गराएका थिए।

एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा.सुरेश पोखरेलले सञ्चालन गरेको सत्रमा विज्ञहरूले नेपालमा एआईका सम्भावना, नीति विकास र व्यावहारिक उपयोगका विषयमा धारणा राखेका थिए।

विश्वव्यापी चुनौती र अनुसन्धान गोष्ठी आयोजना हुने एआई इम्प्याक्ट समिट २०२६ मा सहभागी हुन चाहने इच्छुकले अनलाइन आवेदन दिनसक्ने दूतावासले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८२ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast