बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तीन दिने अन्तर्राष्ट्रिय स्केट जात्रा सम्पनन भएको। स्केट एड नेपाल, युवा फर चेन्ज, र जेनकी फिल्म्सको संयुक्त आयोजनामा तिलोत्तमा स्थित ढुंगा स्केट एड स्केटपार्कमा स्केट जात्रा गरिएको हो।
तीन दिनसम्म चलेको अन्तर्राष्ट्रिय स्केट महोत्सवमा विभिन्न ८ देशका सहभागी, ८० भन्दा बढी स्केटरहरू तथा २ हजार ५ सय भन्दा बढी दर्शकहरूको सहभागिता रहेका स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए।
उनका अनुसार यो वर्षको स्केट जात्राले आफ्नो परम्परागत स्केटबोर्डिङ कार्यक्रमलाई अझ विस्तारित गर्दै विभिन्न रोमाञ्चक गतिविधिहरू समावेश गरेको थियो। स्केट जात्रा अन्तर्गत भएको पुरुष सिनियर तर्फको स्केट प्रतियोगितामा सरध राई प्रथम भए।
दोस्रो गजेन्द्र बर्देवा र तेस्रो सत्य महलिक–भारत भए । प्रथम द्धितिय र तृत्तीयले क्रमश नगद १ लाख, ५० हजार, ३० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे। यस्तै जात्रामा जुनियर बोइजतर्फ प्रथम अभिषेक परियार, दोस्रो डिप–अरुणाचल, भारत र तेस्रो अंकित बीके भएका छन्।
लेडिज ओपनतर्फ समिक्षा राई प्रथम, नानी सोनाम द्धितिय र खुशी विके तेस्रो भएका छन्। जुनियर बोईज र लेडिज ओपन तर्फ क्रमश प्रथम, दित्तीय र तृत्तीय हुनेले नगद ३०, २० र १० हजार सहित विभिन्न उपहारहरु प्राप्त गरे।
स्केट जात्रा २०२५ ले खेल, कला, र संस्कृतिलाई एकै मञ्चमा ल्याउँदै युवाहरूको सिर्जनात्मकता र सामुदायिक एकतालाई प्रोत्साहन दिएको आयोजकले जनाएको छ। नेपालमा स्केट संस्कृति विस्तार गर्ने उद्देश्यका साथ, यस महोत्सवले अन्तर्राष्ट्रिय सहभागितामार्फत मित्रता, खेल भावना र सकारात्मक सामाजिक परिवर्तनको सन्देश दिएको अध्यक्ष पहाडीले बताए । नोभेम्बर ६, ७ र ८ तारिखका दिन स्केट जात्रा गरिएको हो।



