काठमाडौँ- सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा राजनीतिक द्वन्द्वले गाउँपालिकाअन्तर्गतका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले गत साउनदेखि तलबभत्ता नपाएपछि आन्दोलन सुरु गरेका छन्। असोज ९ गतेदेखि आन्दोलन जारी छ। पालिका अध्यक्षबाट राजीनामा दिएका दिनानाथ चौधरी र प्रमुख प्रशासकीय अधिकृतको द्वन्द्वले शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीको तलबभत्ता रोकिएपछि आन्दोलन सुरु भएको थियो।
विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयका सेवा अवरुद्ध छन्। रामजानकी प्राथमिक विद्यालय तेङ्गरी बडवरियाका शिक्षक तथा आन्दोलन परिचालन समिति संयोजक दुखन यादवका अनुसार दसैँअघि तलबभत्ता नआएपछि असोज ९ गते पालिकामा ताला लगाएर आन्दोलन सुरु भएकाे हाे।
अध्यक्ष चाैधरीले राजीनामा नदिँदै ‘सात दिनभित्र तलबभत्ता खुवाउने’ लिखित सहमति कार्यान्वयन नभएपछि पालिकाका ६ वटै वडा कार्यालयमा ताला लगाएर आन्दोलन फेरि सुरु भयाे। छठ पर्वअघि तलबभत्ता निकासा गर्ने गरी तिहारअघि फेरि अर्को सहमति भएको थियो। तर त्यो पनि कार्यान्वयन भएन। चौधरीले पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ।
गाउँपालिकाकाको निमित्त प्रशासकीय अधिकृत नियुक्तिका विषयमा विवाद हुँदा राष्ट्रसेवक कर्मचारी तलबभत्ताबाट वञ्चित भएको संयोजक यादवले बताए। गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा इन्जिनियर रमेशकुमार चौधरीलाई ताेकेको थियो। चौधरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त गरेको थियो।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रमेशकुमार चौधरीलाई आर्थिक र प्रशासनिक अधिकारसहित प्रमुख प्रशासकीयको जिम्मेवारी दियो। अध्यक्षा दीनानाथ चौधरीले हाजिर गराएनन्,’ संयोजक यादवले हिमालप्रेससँग भने, ‘रमेशकुमारलाई तत्कालीन उपाध्यक्ष (हाल कार्यवाहक अध्यक्ष) कल्पना चौधरी र वडाअध्यक्षहरूले हाजिर गराई कामकाजमा लगाए। यो शैली उहाँ (दीनानाथ चौधरी) लाई मन परेन। पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धीरेन्द्रकुमार यादवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठायो।’
अध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई हाजिर गराएर दुई दिनभित्र तलबभत्ता निकासा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए। उनको प्रतिबद्धता कार्यान्वयन भएन। कात्तिक १५ सम्म पनि तलबभत्ता नआएपछि आन्दोलन पुन: सुरु भयाे। संयाेजक यादवले भने, ‘अध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई काम गर्नै दिएनन्। त्यहीँबाट द्वन्द्व सुरु भयो।’
कात्तिक १७ गते शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीको संयुक्त भेलाले पालिकामा ज्ञापनपत्र बुझाएको थियो। उक्त ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइएको र त्यसको प्रतिलिपि शिक्षा विकास तथा समन्वय एकाइ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालय सिंहदरबार, मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय, नेपाल पत्रकार महासंघलाई पठाइएको छ।
पालिका अध्यक्षबाट राजीनामा दिएका चौधरी एमालेबाट निर्वाचित भएका थिए। कार्यवाहक अध्यक्ष बनेकी कल्पना चौधरी कांग्रेसबाट निर्वाचित भएकी हुन्। हालका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादव हुन्। तर कार्यवाहक अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच पनि सहकार्य हुन नसकेपछि प्रशासनिक काम पूर्ण रूपमा ठप्प भएको छ। संयाेजक यादवले भने,‘उहाँहरू राजनीतिक द्वन्द्वमा हुनुहुन्छ, हामी गेटमा धर्ना दिइरहेका छौँ।’
कार्यवाहक अध्यक्षले आन्दोलनकारीसँग १५ दिनको समय मागेकी थिइन् तर लिखित सहमति गर्न तयार नभएपछि आन्दोलनकारीले आन्दोलन जारी राख्ने निर्णय गरेका छन्। संयोजक यादव भन्छन्, ‘विद्यालयमा प्रशासनिक काम र स्वास्थ्य संस्थामा आकस्मिक सेवा सञ्चालन भइरहेका छन्। तर तलबबिना काम गर्न सम्भव छैन।’
आन्दोलनकारीहरूले तत्काल तलबभत्ता निकासा नभए अझ कठोर आन्दोलनमा जाने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा सेवाप्रदायक कर्मचारीहरू राजनीतिक द्वन्द्वको सिकार भएका छन्। यसमा संघीय र प्रदेश सरकारले चाँडै हस्तक्षेप गर्नुपर्ने माग उनीहरूको छ।
कार्यवाहक अध्यक्ष चौधरीसँग जानकारी लिन खोज्दा उनले केही बताइनन्। प्रमुख प्रशासकीय अधिकृत र ई.चौधरीको फोन लागेन भने वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा पनि बोल्न चाहेनन्। संयोजक यादवले भने आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए।
किन दिएका थिए अध्यक्ष चौधरीले राजीनामा?
चौधरी उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका थिए।
सोही कारण उनले पदबाट राजीनामा दिएका थिए। उनले असोज ५ गते पालिका उपाध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उल्लेख छ, ‘म दीनानाथ चाैधरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु।’
उनको राजीनामा कात्तिक १८ गते राजीनामा स्वीकृत भएको थियो। अध्यक्ष चौधरीले राजीनामा दिएको केही समयपछि आफूले पदबाट राजीनामा नदिएको दाबी गरेका थिए।




