तस्बिरः सशस्त्र प्रहरी नेपाल।
काठमाडौँ- मनाङमा कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव आज (आइतबार) फेला परेको छ। भारतीय नागरिकहरू ५२ वर्षीय जिग्नेसकुमार लल्लु भाई पटेल (बुबा) र १७ वर्षीया प्रियन्साकुमारी पटेल (छोरी) को शव सशस्त्र प्रहरीले आइतबार दिउँसो २ बजेतिर फेला पारेको हो।
मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका-५ स्थित मिलारेपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए।
उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो।
सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुन: कात्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको कमाण्डमा उद्धार सामग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरूको शव उक्त गुम्बाबाट झन्डै एक सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।



